बेलायतलाई पछि पार्दै भारत बन्यो पाँचौँ ठूलो अर्थतन्त्र भएको देश, नेपाललाई शुभसंकेत

September 05, 2022

पवन तिमल्सिना, नयाँ पत्रिका, भदौ २०, २०७९

विश्व अर्थतन्त्रको नक्सा परिवर्तन हुँदै गर्दा छिमेकी देश भारत ठूलो अर्थतन्त्र भएको पाँचौँ देशका रूपमा उदाएको छ । विश्वकै ठूलो आर्थिक रूपमा सबल राष्ट्र बेलायतलाई पछि पार्दै भारत सो स्थानमा पुग्न सफल भएको हो । नेपालको छिमेकी मुलुक भएको नाताले यसको सबैभन्दा प्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रलाई पर्ने अर्थशास्त्रीहरू बताउँछन् ।भारतको केन्द्रीय सांख्यिकी संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलदेखि जुनसम्ममा १३.५ प्रतिशत आर्थिक वृद्धि भारतले गरेको छ । अघिल्लो आर्थिक वर्षमा भारतको अर्थतन्त्र २४ प्रतिशतले संकुचित भएको थियो ।

चालू आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको नेपालले भारतको यो आर्थिक फड्कोबाट लाभ लिन सक्ने संकेत देखिएको अर्थशास्त्री डा. पुष्कर बज्राचार्यको भनाइ छ । हाल भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) आठ सय ५४ अर्ब डलर पुगेको छ । जबकि बेलायतको आठ सय १६ अर्ब डलर मात्रै छ । विश्व अर्थतन्त्रमा भारतको हिस्सा ३.५ प्रतिशत छ । पहिलो स्थानमा रहेको अमेरिकाको २४.१, चीनको १९.८०, जापानको ४.८ र जर्मनीको ४.१ प्रतिशत हिस्सा छ । रोटीबेटीको सम्बन्ध भएको नेपाल–भारतको राजनीतिक सम्बन्धलाई जोडेर एउटा भनाइ चर्चित छ, दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओढ्नुपर्छ । यो भनाइ दुई देशको अर्थतन्त्रमा पनि उत्तिकै सान्दर्भिक हुने गरेको छ । नेपाल र भारतको मुद्रा स्थिर रहेका कारण पनि नेपालको आर्थिक कारोबार, वृद्धि र महँगी दर सबैमा भारतीय प्रभाव देखिने गरेको छ ।

 मुद्रा अवमूल्यनको बोझ घट्न सक्छ
 भारतीय रुपैयाँ (भारु)मा भएको सामान्य परिवर्तनले पनि नेपाली मुद्रालाई असर गर्छ । अमेरिकी डलरसँग भारतीय मुद्रा कमजोर बन्दै जाँदा नेपाली मुद्रासमेत अवमूल्यन हुँदै गइरहेको छ । अहिले एक अमेरिकी डलरबराबर नेपाली १२७.९८ रुपैयाँ छ । गत जनवरीमा ११८.७८ रुपैयाँ रहेको डलरको मूल्य अहिले नौ महिनापछि नौ रुपैयाँभन्दा बढी दरले बढिसकेको छ । नेपालले कुल आयातको ६० प्रतिशतभन्दा बढी मूल्यबराबरको वस्तु भारतबाट आयात गर्छ । त्यस्तै, कुल निर्यातको ७७ प्रतिशतभन्दा बढी व्यापार भारतसँगै रहेको छ । 

विश्व अर्थतन्त्रमा बलियो उपस्थिति जनाउन सफल भएको भारतीय मुद्राले त्यहाँको आर्थिक वृद्धिअनुसारको मजबुती बनाउन सकेको छैन । जसले गर्दा नेपाली मुद्रा पनि निरन्तर अवमूल्यन भइरहेको छ । कोभिडमा खुम्चिएको अर्थतन्त्रलाई चाँडै सुधार गरेको भए पनि भारतले अपेक्षित उत्पादन र निर्यात वृद्धि गर्न नसकेका कारण मुद्रा अवमूल्यन भार कम हुन नसकेको अर्थशास्त्री डा. पुष्कर बज्राचार्यको भनाइ छ । उनले भने, ‘भारतले जति आर्थिक वृद्धिको तथ्यांक बाहिर ल्याए पनि उसको मुद्रा त्यहीँअनुसार बलियो बन्न सकेको छैन । भारतको आयात बढेको बढ्यै छ, निर्यात कमजोर नै छ ।’ जसकारण महँगीको प्रत्यक्ष असर नेपालले पनि आयातमार्फत व्यहोर्नुपरेको उनले बताए । 

सिद्धान्ततः भारतीय अर्थतन्त्र बलियो बन्दा त्यसले नेपाली अर्थतन्त्रलाई फाइदा पुग्ने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । भारतीय अर्थतन्त्र सबल बन्दै गएपछि भारतमा उपभोग्य वस्तुको माग बढ्ने भएकाले नेपालले निर्यातबाट पनि ठूलो लाभ लिन सक्ने उनको भनाइ छ । उनले भने, ‘सैद्धान्तिक रूपमा छिमेकी देशको अर्थतन्त्र बलियो भएपछि नेपालले त्यसको लाभ पाउनुपर्ने हो । यद्यपि, भारतले यस्तो समयमा परिमाणात्मक बन्देज लगाउने र ट्यारिफ ब्यारियर लगाउने गरेको हामीसँग अनुभव छ । त्यसैले व्यावहारिक रूपमा कति लाभ पाउँछ भन्ने हेर्न बाँकी छ ।’ 

 अर्थतन्त्र बलियो भए पनि दक्षिण एसियाली छिमेकी मुलुकहरूलाई भारतले त्यसको लाभ नदिएको अर्थशास्त्री बज्राचार्यले बताए । उनले भने, ‘नेपालले खानेतेलको राम्रो निर्यात गरिरहेको थियो । तर, भारतले यसबीच तेलको भन्सार दर नै घटाइदियो । जसले महँगोमा कच्चा तेल ल्याएर प्रशोधन गर्ने उद्योगीले उचित लाभ पाउने अवस्था नै रहेन । त्यसको असर अहिले आयात र निर्यात दुवैमा परेको छ ।’

 रोजगारीको अवसर 
भारतमा कति नेपाली श्रमिक छन् भन्ने तथ्यांक सरकारसँग पनि छैन । पाँच लाखभन्दा बढी भारतमा रहेको सरकारी अनुमान छ । तर,  सीमावर्ती क्षेत्र, सुदूरपश्चिम र कर्णाली प्रदेशका युवाहरू कामको खोजीमा भारत जाने गरेका छन् । भारतीय अर्थतन्त्र सबल हुनेबितिक्कै त्यहाँका उद्योगधन्दा फस्टाउँछन् र ठूलो जनशक्तिको आवश्यक पर्छ । यसले  नेपाली श्रमिकहरूले भारतमा रोजगारी पाउने सम्भावना बढ्ने देखिन्छ । 

 पुँजी पलायनको जोखिम
उच्च आर्थिक वृद्धि गरिरहेको भारतको वैदेशिक लगानी प्रवद्र्धन नीतिलाई नेपालले प्रतिरक्षा गर्न उपाय नलगाउने हो भने पुँजी पलायनको जोखिम रहेको अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् । भारतको अर्थतन्त्र नेपालको तुलनामा मजबुत हुनेबित्तिकै नेपाली उद्योगधन्दा भारतमा स्थानान्तरण हुन सक्ने सम्भावना उत्तिकै रहेको छ । 

 भारतीय लगानी नेपालमा बढ्न सक्छ
नेपालमा भएका विदेशी लगानीमध्ये सबैभन्दा ठूलो हिस्सा चीन र भारतको छ । भारतीय अर्थतन्त्र सबल बन्दा त्यहाँको लगानी नेपालमा पनि आउन सक्ने अर्थशास्त्रीहरूको भनाइ छ । उद्योग विभागको तथ्यांकअनुसार नेपालमा भारतले आठ सय २० कम्पनीमार्फत एक खर्बभन्दा बढी लगानी भित्र्याउने प्रतिबद्धता जनाइसकेको छ । त्यसबाहेक जलविद्युत्जस्ता ठूला पूर्वाधारमार्फत पनि नेपालमा लगानी गर्न खोजिरहेको छ । तर प्रतिबद्धताअनुसार लगानी आउन सकिरहेको छैन । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार जेठयता नेपालले ६ अर्बभन्दा बढी मूल्यको बिजुली भारत निर्यात गरेको छ । नेपालमा जलविद्युत् आयोजनाहरू धमाधम बनिरहेका र विद्युत् उत्पादनसमेत बढिरहेको अवस्थामा भारतलाई बिजुली बेच्न सक्नु उपयोगी हुन्छ । भारतको अर्थतन्त्र सुदृढ बन्दै गएपछि त्यहाँका उद्योग–कलकारखानामा विद्युत्को माग बढ्न थाल्छ । त्यसका लागि पनि नेपालले थप विद्युत् व्यापार गरेर मनग्य कमाउने आधार बलियो हुने विज्ञहरूको बुझाइ छ । 

स्रोत: https://www.nayapatrikadaily.com/news-details/95088/2022-09-05

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More