बैंकको नाफा खुम्चियो

November 06, 2017

नविन अर्याल, अन्नपुर्ण पोस्ट, २० कार्तिक २०७४

काठमाडौं : चालू आर्थिक वर्षको पहिलो तीन महिनामा अधिकांश वाणिज्य बैंकको नाफा वृद्धिदर ओरालो लागेको छ । २८ वाणिज्य बैंकमध्ये १७ वटाले पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तीय प्रतिवेदनले धेरैजसो बैंकको नाफा वृद्धिदर घटेको देखाउँछ । केही बैंकको नाफा गतवर्षको पहिलो त्रैमासभन्दा पनि कम छ ।

पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले राम्रो नाफा कमाएको छ । गएको वर्ष क्रेडिट क्रन्च हुँदा राष्ट्रिय वाणिज्य बैंकले कर्जाको मात्रा बढाएपछि नाफा बढेको हो । यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ७० करोड ९५ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गतवर्षको सोही अवधिको तुलनामा ४१.६७ प्रतिशतले बढी हो । गतवर्षको पहिलो त्रैमासमा बैंकको नाफा ५० करोड आठ लाख रुपैयाँ थियो । 

यो अवधिमा नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक र प्राइम बैंकले नाफा बढाएका छन् । तर हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमान्डू लुम्बिनी, सिद्धार्थ बैंक, सनराइज बैंक र मेगा बैंकको नाफा घटेको छ । ‘पहिलो त्रैमासमा केही बैंकको नाफा फाट्टफुट्ट बढेको हो, अधिकांशको घटेको छ’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘बैंकको खर्च बढ्दा ब्याजदर पनि बढाउनुपर्नेमा बैंकको प्रतिस्पर्धाले उल्टै घटाउन दबाब परेपछि नाफा प्रभावित भएको हो ।’

प्रतिस्पर्धामा उत्रिएका बैंकले आधार दरभन्दा तल गएर पनि ऋण लगानी गरिरहेका छन् । राष्ट्र बैंकको आधार दर नीतिमा बैंकको खर्च बढ्दा ब्याज बढाउने र खर्च घट्दा घटाउने स्पष्ट छ । तर प्रतिस्पर्धाकै कारण आधार दर बढ्दा पनि ब्याज घटाउन दबाब परेको दाहालको भनाइ छ । ‘एकातिर बैंकको पुँजी बढेको छ, अर्कोतिर खर्च बढेको छ । तर ऋणको ब्याजदर घटाउनुपरेको छ, नाफा घट्नुको प्रमुख कारण यही हो’, उनले भने ।

पहिलो त्रैमासमा नबिल बैंकलाई उछिन्दै नेपाल इन्भेस्टमेन्ट बैंक सबैभन्दा बढी नाफा कमाउने बैंकमा दरिएको छ । तीन महिनामा इन्भेस्टमेन्ट बैंकले ८९ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत त्रैमासको तुलनामा २०.८९ प्रतिशतले बढी हो ।

सबैभन्दा बढी चुक्ता पुँजी हुने निजी बैंकहरूमा इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा छ । नबिल बैंकले ८५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । गतवर्षको पहिलो त्रैमासको तुलनामा नबिल बैंकले ६.६४ प्रतिशत मात्र नाफा बढाउन सकेको छ । गतवर्षको पहिलो त्रैमासमा नबिल बैंकले ७९ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

एभरेस्ट बैंकको नाफा ३.५२ प्रतिशतले बढेर ५३ करोड १४ लाख पुगेको छ । गतवर्षको सोही अवधिमा एभरेस्टको नाफा ५१ करोड ३४ लाख थियो । एनएमबी बैंकको नाफा २७.६१ प्रतिशतले बढेको छ । गतवर्षको पहिलो त्रैमासमा ३५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको एनएमबी बैंकले यो त्रैमासमा ४५ करोड १३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । नेपाल एसबीआई बैंकले २३.९१ प्रतिशतले नाफा बढाएर ४३ करोड ८८ लाख पुर्‍याएको छ । गतवर्षको पहिलो त्रैमासमा २७ करोड १६ नाफा कमाएको सानिमा बैंकले यो त्रैमासमा ३४ करोड ४४ लाख नाफा पुर्‍याएको छ जुन गतवर्षको तुलनामा २६.८१ प्रतिशतले बढी हो ।

प्राइम बैंकको नाफा २५ करोड १० लाखबाट बढेर ३४ करोड १७ लाख पुगेको छ । यो नाफा ३६.१२ प्रतिशतले बढी हो । एनआईसी एसिया बैंकले ६.७६ प्रतिशतले नाफा बढाएर २७ करोड ८६ लाख पुर्‍याएको छ । जनता बैंकले ६ करोड ४८ लाख नाफा कमाएको छ जुन गतवर्षको तुलनामा १.३१ प्रतिशतले बढी हो ।

पहिलो त्रैमासमा हिमालयन बैंकको नाफा ४३ करोड ८४ लाखबाट घटेर ४१ करोड १ लाख रुपैयाँमा खुम्चिन पुगेको छ । हिमालयनको नाफा गतवर्षको तुलनामा ६.४७ प्रतिशतले घटेको हो । यस्तै ग्लोबल आईएमई बैंकको नाफा पनि १६.०९ प्रतिशतले घटेर ३५ करोड ३२ लाखमा सीमित भएको छ । जब कि गतवर्षको पहिलो त्रैमासमा ग्लोबल आईएमईको नाफा ४२ करोड नौ लाख थियो । सिटिजन्स बैंकले ३१ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गतवर्षको तुलनामा ७.५५ प्रतिशत कम हो । गतवर्षको पहिलो त्रैमासमा बैंकले ३४ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंक अफ काठमान्डू लुम्बिनीको नाफामा १७.३२ प्रतिशतले गिरावट आएको छ । गतवर्षको पहिलो त्रैमासमा २७ करोड नौ लाख रुपैयाँ नाफा कमाएको बैंकले यो त्रैमासमा २२ करोड ४० लाखमा झरेको छ ।

यसैगरी सिद्धार्थ बैंकको नाफा ३५ करोड ९६ लाखबाट घटेर २१ करोड ६४ लाखमा सीमित हुन पुगेको छ । यो नाफा गतवर्षको तुलनामा ३९.८२ प्रतिशत कम हो । सनराइज बैंकको १९.५२ प्रतिशत र मेगा बैंकको ४४.७५ प्रतिशतले नाफा घटेको वित्तीय प्रतिवेदनले देखाएको छ । यी बैंकले क्रमशः २० करोड ३७ लाख र ८ करोड १२ लाख नाफा कमाउन सकेका छन् । गतवर्षको पहिलो त्रैमासमा बैंकको नाफा क्रमशः २५ करोड ३१ लाख र १४ करोड ६९ लाख थियो।

स्रोत: http://annapurnapost.com/news-details/83515

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More