मेनुका कार्की, अन्नपुर्ण पोस्ट दैनिक, १३ असार २०७४
काठमाडौं: बैंक तथा वित्तीय संस्थाको बढेको चुक्ता पुँजीबाट नाफा दोब्बर भए पनि सेयर होल्डरलाई दिने प्रतिफल घट्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले पुँजी बढाएसँगै व्यापार बढ्ने भएकाले बैंकको नाफा दोब्बर हुन्छ । तर, पुँजी वृद्धिबाट कमाएको नाफाका अनुपातमा सेयरको प्रतिफल बढ्दैन।
पुँजी वृद्धिसँगै सेयर संख्या पनि बढ्ने भएका कारण बैंकले बढी नाफा कमाए पनि सेयर प्रतिफल आम्दानी (रिर्टन अन इक्विटी) भने घट्न जाने भएको हो ।
दुई अर्ब पुँजी भएका बैंकको पुँजी बढेर आठ अर्ब पुगेपछि बिजनेस, नाफा र सेयर संख्या पनि बढ्ने नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताउनुभयो । ‘पुँजी बढेपछि बैंकहरू बलिया बन्छन्,' उहाँले भन्नुभयो, ‘बढेको पुँजीले लगानी बढाउँछ र लगानीले नाफा ।' तर, बैंकको नाफा बढ्दैमा बैंकले दिने प्रतिफल पनि बढ्ने भन्ने हुँदैन । त्यसो त अघिल्ला वर्षको तुलनामा यस वर्ष बैंकले लगानी बढाइरहेका छन् तर सेयरबाट प्राप्त हुने प्रतिफल भने त्यति सन्तोषजनक छैन ।
एक/दुई वर्षसम्म सेयरबाट प्राप्त हुने प्रतिफल राम्रो नभए पनि अबको आठ/दश वर्षमा भने बिजनेस बढेर बैंकले दिने प्रतिफल दर पनि राम्रो हुने थापाले बताउनुभयो । ‘अहिले नै बैंकले दिने प्रतिफल राम्रो नभए पनि केही वर्षपछि सेयर होल्डरलाई राम्रो प्रतिफल दिन सक्छन्', उहाँले भन्नुभयो ।
पुँजी वृद्धिले नाफा बढे पनि बैंकले दिने प्रतिफल घट्ने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहालले जानकारी दिनुभयो ।‘दुई अर्बको चुक्ता पुँजी भएका बैंकको पुँजी बढेर आठ अर्ब पुगे पनि सोहीअनुसार बिजनेस नबढ्ने तर सेयर संख्या बढ्ने हुँदा नाफा कमाएको बढी देखिए पनि सेयर होल्डरले पाउने प्रतिफल सोही अनुपातमा नहुने उहाँको भनाइ छ । ‘बढेको पुँजीले बैंकको नाफा बढाउन मद्दत पुगे पनि सोहीअनुसारको प्रतिफल दिन सक्दैनन्', उहाँले भन्नुभयो, ‘प्रतिफल दर भने केही वर्षसम्म घट्छ ।'
अहिले औसत ३० प्रतिशत नाफा कमाइरहेका बैंकले सेयर होल्डरलाई २०/२२ प्रतिशतसम्म प्रतिफल दिइरहेको छन् । तर, पुँजी वृद्धिपछि सोही अनुपातमा नाफा कमाए पनि ८/१० प्रतिशतमात्र नाफा दिन सक्छन् । बैंकहरूले पहिलाको तुलनामा धेरै सेयर होल्डरले लगानी गरेका हुन्छन् त्यसकारण पनि यस्तो भएको हो । नाफा वृद्धि भए पनि धेरै सेयर होल्डरलाई नाफा भाग लगाउँदा प्रतिसयेर थोरैमात्र प्रतिफल प्राप्त हुन्छ ।
उदाहरणका लागि नेपाल इन्भेस्टमेन्टको केही समयअघि दुई करोड ३० लाख कित्ता सयेर थियो । पुँजी वृद्धिपछि उसको सेयर संख्या बढेर आठ करोड ७० लाख पुग्यो । साढे दुई कित्ता सयेर हुँदा बैंकको दुई अर्ब नै नाफा थियो । अहिले नाफा बढेर तीन अर्ब रुपैयाँ पुग्ने भएको छ । दुई अर्बको नाफाबाट दायित्व कटाएर सञ्चित कोषमा राखेर बाँड्दा लगानीकर्ताले प्रतिसेयर ३५ रुपैयाँ लाभांश पाएका थिए भने तीन अर्बको नाफाबाट करिब नौ करोड कित्ता सयेर लाभांश बाँड्दा उत्तिनै हुन सक्दैन । सेयर होल्डरले पाउने प्रतिसेयर आम्दानी घट्न जान्छ ।
अर्थात् एक सय रुपैयाँ लगानी गरेर २० रुपैयाँ कमाउने बैंकले चार सय रुपैयाँ लगानी गरिसकेपछि कमाउने नाफा सोही अनुपातमा बढ्दैन । सोही अनुसारको प्रतिफल दिन एक सयको लगानी बढेर चार सय रुपैयाँ पुगेपछि २० रुपैयाँको नाफा पनि बढेर ८० रुपैयाँ पुग्न सकेमात्र बैंकले सोही अनुपातमा प्रतिफल दिन सक्ने हुन् । लगानीले नाफाको अंक बढे पनि नाफा प्रतिशत घट्न जानेछ र यसको प्रत्यक्ष असर सेयर प्रतिफलमा पर्ने विज्ञहरूले बताएका छन् । चार सय लगानी गरेर ४० रुपैयाँ कमाए भने नाफा बढेको देखिए पनि पहिलेकै अनुपातमा प्रतिफल दिन बैंक सक्षम हुँदैन ।
फेरि, अर्कोतर्फ पुँजी वृद्धिसँगै बैंकको बिजनेस राम्रोसँग बढ्यो भने मात्र सेयरको प्रतिफल बढ्ने हो । सामान्य बढेको बिजनेसले प्रतिफल घट्छ', दाहालले भन्नुभयो, ‘बैंकलाई सेयरको राम्रो प्रतिफल भने दिन केही वर्ष लाग्छ ।' बैंकले प्रतिफल दिँदा नाफा भएको रकमबाट दायित्व घटाएपछि बाँकी हुन आएको रकमबाट निश्चित रकम (२०प्रतिशत) बैंकको सञ्चित कोषमा राखेर उग्रिएको रकममात्र सेयर होल्डरलाई लाभांशका रूपमा दिने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताउनुभयो । सामान्यता २०/२२ प्रतिशत लाभांश भएमा सेयर होल्डरले पाउने १२/१४ प्रतिशतमात्र हो । सेयर प्रतिफल आम्दानी (रिर्टन अन इक्विटी) र प्रतिसेयर आम्दानी ‘अर्निङ पर सेयर' बढेमात्र बैंकले लाभांश दिन सक्ने हो । ‘बैंकको पुँजी बढ्दैमा सेयर होल्डरले बढी प्रतिफल पाउँछन् वा दिन सक्छन् भन्ने हुँदैन, पौडेलले भन्नुभयो, ‘यस्तो अवस्थामा साधारणतया सेयरको लाभांश घट्ने गर्दछ ।'
आफै पुँजी पुर्याएका बैंकले भन्दा मर्जरमा गएका बैंकको नाफा बढ्ने विज्ञहरूको भनाइ छ । मर्जरमा गएका बैंकको पहिलानै पूर्वाधार तयार भएको हुँदा लगानी पनि सोही अनुपातमा गर्न सक्छन् भने हकप्रद सेयर, वोनस सेयर तथा फरदर पब्लिक अफरिङ (एफपीओ) बाट आफैं पुँजी बढाएका बैंकलाई भने नाफा कमाउन गाह्रो हुने देखिएको छ । किनकी पुँजी बढेसँगै उनीहरूको लगानीका क्षेत्र विस्तार भएका हुँदैनन् ।
तर, पछिल्ला महिनामा बैंकको मुनाफाको आकार बढ्दै गएको छ । तर, सोही अनुपातमा प्रतिफल वृद्धिदर बढ्न सकेको देखिँदैन । बैंकर्सका अनुसार पुँजी वृद्धिको अनुपातमा मुनाफा बढ्न सकेको छैन । आकारमा नाफा बढे पनि मुनाफाको वृद्धिदर अपेक्षित रूपमा बढ्न सकेको छैन । बढेको पुँजीअनुसार मुनाफा बढ्न नसकेपछि अधिकांश बैंकको सेयरधनीको प्रतिफल (आरओई) घटेको छ । अझ यस अवधिमा बैंकको लगानी नबढेको भए नाफाको वृद्धिदर निकै कम रहन्थ्यो ।
आउँदो असारसम्म वाणिज्य बैंकहरूले न्यूनतम चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । यसै कारण अधिकांश बैंकले चुक्ता पुँजी बढाइसकेका छन् । बाँकीले पनि २०७४ असारभित्र पुर्याउन उपयुक्त योजना अघि बढाएका छन् ।
चालू आवमा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये गत पुसको तुलनामा अधिकांश बैंकले सेयरधनीको प्रतिफल (आरओई) घटाएका छन् । आरओईले एक सय रुपैयाँ लगानी गर्दा लगानीकर्तालाई बैंकले कति प्रतिफल दिन सक्छ भन्ने देखाउँछ ।
तेस्रो त्रैमाससम्म नेपाल बैंकको आरओई सबैभन्दा बढी ४६.५२ प्रतिशत छ । यसैगरी, दोस्रोमा नबिल बैंक छ । तेस्रो त्रैमासमा यो बैंकको आरओई ३०.८६ प्रतिशत छ । राम्रा मानिएका केही बैंकहरू हिमालयन, नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट, स्ट्यान्डर्ड चार्टर्डलगायत बैंकको आरओई घटेको छ । लगानी विस्तारका तुलनामा मुनाफा बढ्न नसकेपछि बैंकको आरओई घटेको उहाँहरूको भनाइ छ । इन्फोपुँजी वृद्धिसँगै सेयर संख्या पनि बढ्ने भएका कारण बैंकले बढी नाफा कमाए पनि सेयर प्रतिफल आम्दानी (रिर्टन अन इक्विटी) भने घट्न जाने भएको हो ।