बैंकहरुको नाफा उच्च दरले बढ्यो

November 16, 2018

विष्णु बेल्वासे, नागरिक दैनिक, कार्तिक ३० २०७५ 

काठमाडौं - चालु अर्थिक वर्षको पहिलो तीन महिनामा अधिकांश बैंकको नाफा उच्च दरले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा भन्दा चालु आवको सोही अवधिमा बैंकहरुले नाफा बढाएका हुन्। ब्याज आम्दानी र विदेशी मुद्राको कारोबारबाट भएको आम्दानीले नाफा बढाएको हो।

२८ वाणिज्य बैंकमध्ये १९ वटाले वित्तीय विवरण सार्वजनिक गरेका छन् । अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै नेपाल इन्भेस्टमेन्ट बैंकले नाफा गरेको छ । उसले चालु आवको तीन महिनामा एक अर्ब पाँच करोड नाफा गरेको छ । गत आवको सोही अवधिमा उक्त बैंकले ८९ करोड ४९ लाख नाफा गरेको थियो।

दोस्रो धेरै नाफा गर्नेमा सरकारी स्वामित्वको नेपाल बैंक परेको छ । उसले चालु आर्थिक वर्षको तीन महिनामा ९७ करोड ३१ लाख नाफा गरेको छ । उक्त बैंकले गत आर्थिक वर्षमा ९७ करोड १३ लाख नाफा गरेको थियोे।

तेस्रो धेरै नाफा कमाउनेमा सरकारी स्वामित्वकै कृषि विकास बैंक परेको छ । यसले गत वर्षभन्दा यस वर्ष २९ करोड ८६ लाख बढी नाफा गरेको छ । यसले गत आर्थिक वर्ष ३६ करोड ३९ लाख नाफा गरेकोमा चालु आर्थिक वर्षमा ६६ करोड २५ लाख पु-याएको छ।

वित्तीय विवरण अनुसार, प्रभु बैंक चौथौ धेरै नाफा कमाउने बनेको छ । प्रभुले ६४ करोड ३१ लाख नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमासमा उसले २५ करोड सात लाखमात्र नाफा गरेको थियो । गत वर्षभन्दा प्रभु बैंकको नाफा उच्च दरले बढेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको नाफा ३९ करोड २४ लाख रुपैयाँले बढेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक पाँचौ धेरै नाफा कमाउने बनेको छ । यसले गएको वर्षभन्दा यस वर्षको तीन महिनामा १३ करोड ३३ लाखले नाफा बढाएको छ । यसले पोहोर वर्ष ४७ करोड १२ लाख नाफा गरेकोमा चालु आवमा ५८ करोड ४५ लाख पु-याएको छ।

ग्लोबल आइएमई बैंकले चालु आवको पहिलो त्रैमासमा ५१ करोड ७६ लाख गरेको छ । गत वर्ष ग्लोबल आइएमई बैंकले ३३ करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो।

यसैगरी, एभरेस्ट बैंकले ४९ करोड एक लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष उक्त बैंकले ५३ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवमा भन्दा यस आवमा करिब चार करोडले नाफा घटेको छ।

सानिमा बैंकले ४६ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । यस बैंकले गत आवमा ३२ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो।

यसैगरी, माछापुच्छ्रेले ३८ करोड ६९ लाख, सिटिजन्सले ३४ करोड ३५ लाख, सिद्धार्थले ३१ करोड १५ लाख, एनसिसीले २८ करोड चार लाख, सन्राइजले २७ करोड २० लाख, जनताले २५ करोड ५९ लाख, लक्ष्मीले २५ करोड १३ लाख, मेगाले २३ करोड ६१ लाख, नेपाल बंगालादेशले २२ करोड एक लाख र सेञ्चुरी कमर्सियल बैंकले २० करोड नाफा गरेका छन्।

निक्षेप र लगानी दुवै बृद्धि भएकाले बैंकको नाफा बढेको मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले बताइन् । ‘खराब कर्जा उठाउन सफल भएकाले पनि बैंकको नाफा बढेको हो,’ नागरिकसँग उनले भनिन्, ‘आर्थिक वर्षको सुरुमा लगानीयोग्य पुँजी पर्याप्त भएकाले पनि बैंकको नाफा बढ्यो ।’ आगामी दिनमा लगानीयोग्य पुँजी अभावको प्रभाव पर्ने भए पनि अहिलेसम्म भने त्यस्तो समस्या नभएको बैंकरको भनाइ छ।

बैंकहरुले लगानी बढाएकाले नाफा बढ्दै गएको अर्का एक बैंकरले बताए । बैंकहरुको चुक्ता पुँजी बढेकाले नाफा बढ्नुलाई उनी स्वाभाविक प्रक्रिया ठान्छन्। चालु आर्थिक वर्षमा लगानी वातावरणमा सुधार आएको र कर्जाको माग पनि बढेकाले नाफा बढेको बैंकरहरुको भनाइ छ।

नौ वाणिज्य बैंक वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा छन्। बैंक लगायत पब्लिक लिमिटेड कम्पनीहरुले त्रैमासिक वित्तीय विवरण उक्त अवधि सकिएको ३५ दिनभित्र सार्वजनिक गरिसक्नुपर्ने कानुनी प्रावधान छ।

पहिल्लो समय बैंकहरुले निक्षेप र लगानी दुवै बढाएका छन्। औसतमा हेर्दा चालु आवको पहिलो तीन महिनामा गत वर्षको भन्दा धेरै बैंकहरुको खुद ब्याज नाफा बढेको देखिन्छ। निक्षेपको तुलनामा कर्जाको विस्तार पनि बढी देखिन्छ।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/61995/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More