बैंकहरूमा ‘क्रेडिट क्रन्च’को पुरानो रोग बल्झियो

October 25, 2018

 कृष्ण रिजाल, नयाँ पत्रिका, कार्तिक ८,२०७५ 

कर्जाको माग अधिक, तर बैंकहरूले कर्जा नै दिन छाडे

वित्तीय प्रणालीमा लगानीयोग्य तरलताको अभाव देखिएपछि उद्योगी प्रवलजंग पाण्डेले बुधबार फेसबुकमा स्टाटस लेख्दै बैंकर, केन्द्र बैंक र सरकारको दूरदर्शीताप्रति प्रश्न गरे । ‘सधैँझैँ आर्थिक वर्ष सकिएको केही महिनामै बैंकसँग लगानीयोग्य पुँजीको अभाव हुन्छ, यसको दीर्घकालीन समाधान खोज्न नसक्नुमा सरकार, नियमनकारी निकाय र बैंकर एसोसिएसनको दूरदर्शिताको कमी भन्न मिल्दैन र ?’ उनको प्रश्न छ ।

केही वर्षदेखि निरन्तर लगानीयोग्य तरलताको अभाव हुन थालेपछि आफूले यस्तो प्रश्न गरेको उद्योगी पाण्डेको भनाइ छ । ‘पछिल्ला वर्षहरूमा सुरुका २ महिना पर्याप्त तरलता हुने र त्यसपछिका ८ महिनामा लगानीयोग्य तरलताको अभाव हुने गरेको छ,’ उनले भने, ‘दोहोरिरहने समस्या समाधान गर्न नसक्नुमा बैंकर मात्रै होइनन्, केन्द्र बैंक र सरकारको पनि कमजोरी देखिन्छ ।’

उद्योगी पाण्डेको भनाइमा बैंकिङविज्ञ अनलराज भट्टराई पनि सहमत छन् । बैंकर, नियामक निकाय केन्द्र बैंक र सरकारले समेत दोहोरिरहने तरलता अभावको समस्या समाधानमा गम्भीर नभएको उनको भनाइ छ । ‘चालू आवको पहिलो महिनादेखि नै कर्जाको माग र प्रवाह उच्च देखिएको छ, कतिपय बैंकहरूले स्रोत नहेरी कर्जा प्रवाह गरेको देखिएको छ,’ उनले भने, ‘सरकारले समेत खर्च बढाउन नसकेका कारण यस वर्ष पनि लगानीयोग्य तरलताको अभाव हुने देखिएको छ ।’ पुस मसान्तमा सरकारी खातामा रकम जाने तथा सरकारले बजेटमा घोषणा गरेअनुसार १ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन थालेपछि तरलतामा अधिक चाप पर्ने उनले बताए ।

निक्षेपको तुलनामा तीन गुणा कर्जा
वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेपको तुलनामा झन्डै तीन गुणा बढी कर्जा प्रवाह गरेका छन् । पहिलो त्रैमासमा बैंकहरूले ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

गत असार मसान्तसम्ममा वाणिज्य बैंकहरूको कुल निक्षेप २४ खर्ब ७० अर्ब रुपैयाँ थियो भने कुल कर्जा प्रवाह २१ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो । २६ असोजसम्ममा आइपुग्दा वाणिज्य बैंकहरूको कुल निक्षेप २५ खर्ब २० अर्ब रुपैयाँ र कुल कर्जा २२ खर्ब २४ अर्ब रुपैयाँ पुगिसकेको छ ।

बैंकहरूको अनुमानविपरीत पहिलो त्रैमासमै कर्जाको माग अत्यधिक हुँदा निक्षेप परिचालन र कर्जा प्रवाहमा सन्तुलन नमिलेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । ‘बैंकहरूले अनुमान गरेअनुसार निक्षेप परिचालन भएन भने कर्जाको माग भने अनपेक्षित रूपमा बढ्यो,’ उनले भने, ‘त्यसैले पहिलो तीन महिनामै कर्जा प्रवाह अधिक भयो त्यसैले अहिले लगानीयोग्य तरलताको अभाव सिर्जना भएको हो ।’ थुप्रै बैंकले कर्जा दिन छाडेको
उनले बताए ।

सिसिडी रेसियो ८०% नाघ्यो
बैंकहरूले स्रोत नजुटाई आक्रमक कर्जा विस्तार गर्दा निक्षेप–पुँजी–कर्जा अनुपात (सिसिडी रेसियो)ले सीमा नाघ्न थालेको छ । केही बैंकको सिसिडी रेसियो ८०% नाघिसकेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । ‘केही बैंकको सिसिडी रेसियो ७० प्रतिशतमै छ भने केहीको ८० प्रतिशत नाघिसकेको छ,’ उनले भने, ‘महिनाको अन्तिममा बैंकहरूले सिसिडी रेसियो सीमामै राख्लान् ।’

प्यानिक हुनुपर्ने अवस्था छैन,
सचेतचाहिँ हुनुपर्छ
महेश्वरलाल श्रेष्ठ
कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक
दसैँमा बैंकको बिजनेस बढी हुन्छ अनि भुक्तानी पनि बढी नै हुन्छ । त्यही भएर निक्षेप–कर्जा परिचालन असन्तुलन र बैंकहरूमा लगानीयोग्य तरलताको चाप देखिएको हो । बैंकहरूको पुँजी पनि बढेको छ, तुलनात्मक रूपमा निक्षेप नबढे पनि अन्य स्रोत पनि बैंकले प्रयोग गरिरहेका छन् ।

यद्यपि, लगानीयोग्य तरलताको अभाव हुन थालेको चर्चा भइरहेका छन् । नेपालमा पेट्रोलियम आपूर्तिमा सानो समस्या देखिनसाथ पेट्रोल पम्पमा लाइन बढेजस्तै अहिले कर्जाको माग र पूर्तिमा सन्तुलन नमिलेको पनि हुन सक्छ । मंगलबार वित्तीय प्रणालीमा ५१ अर्ब रुपैयाँ अधिक तरलता रहको छ । बैंकहरूको औसत सिसिडी रेसियो ७७.१४ प्रतिशत रहेको छ । यसर्थ, प्यानिक हुनुपर्ने अवस्था छैन, तर सचेतचाहिँ हुनुपर्छ । केन्द्र बैंकले बैंकहरूलाई बारम्बार सचेत गराउँदै आएको छ ।

स्रोत: http://www.nayapatrikadaily.com/2018/10/25/107616/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More