ब्रोइलर प्यारेन्टको उत्पादन बढाउँदै कब नेपाल

February 08, 2018

मधुसुधन गुरागाई, नागरिक दैनिक, माघ २५, २०७४

बनेपा – ब्रोइलर कुखुरापालन व्यावसायिक बन्दै जाने क्रममा चल्लाको माग पनि बढ्न थालेपछि नेपालमा ब्रोइलरको प्यारेन्ट स्टक (माउ चल्ला) उत्पादन गर्ने एकमात्र कम्पनी कब नेपाल प्रालिले उत्पादन क्षमता बढाउने भएको छ ।  

 काभ्रे, पाँचखाल–१०, देवभूमि बालुवा, नयाँगाउँस्थित ग्रान्ड प्यारेन्ट (प्योरलाइन–जिपी) फार्मको उत्पादनले नेपाली ह्याचरीको माग धान्न नसकेपछि कम्पनीले धुलिखेल–८, र्यालेबेंसीमा नयाँ जिपी फार्म बनाउँदै रहेको हो । नयाँगाउँमा एक सय ६५ रोपनीमा फैलिएको जिपी फार्मको सहायक फार्मका रुपमा र्यालेबेंसीमा ९९ रोपनी क्षेत्रफलमा नयाँ संरचनाहरु बनाउँदै रहेको छ ।‘आगामी तीन महिनाभित्रमा ग्रान्ड प्यारेन्ट राखिने सबै पूर्वाधार तयार भइसक्नेछ । त्यसको एक महिनाभित्रै नयाँ प्योरलाइन चल्ला आउने गरी बुकिङ गरिसकेका छौं,’ जिपी फार्म सञ्चालक रबिन पुरीले भने ।

अमेरिकाको अर्कान्सास राज्यमा मुख्यालय रहेको कब–भान्ट्रेस, इन्कर्पोरेटेडबाट सन् २०१३ को मार्चमा पहिलोपटक नेपालमा कब–५०० जातका प्योरलाइन (जिपी) चल्ला ल्याइएको थियो । त्यसपछिका वर्षमा प्रतिवर्ष ३३ हजारका दरले विभिन्न लटमा प्योरलाइन चल्ला नेपाल ल्याइएको कम्पनीको अभिलेखमा उल्लेख छ । अमेरिकाको मुख्यालयको प्रत्यक्ष निगरानीमा कम्पनीले कब–५०० जातको प्यारेन्ट यहीँ उत्पादन गरी नेपालका ह्याचरी उद्योगलाई बिक्री गर्दै आएको छ ।यस्ता प्यारेन्टको अण्डालाई इन्कुबेटर र ह्याचिङ मेसिनमा राखेर कोरलेपछि निस्कने एकदिने ब्रोइलर चल्लालाई किसानले मासुका लागि पाल्ने गरेका छन् । तीन वर्ष अघिसम्म नेपालका ह्याचरी उद्योगले कब–५०० जातको प्यारेन्टका लागि सधैंभरि आयातमा मात्रै भर पर्नु पथ्र्यो ।

‘कब मुख्यालयले नेपालमा आवश्यक पर्ने कब–५०० जातको प्यारेन्ट यहीँ नै उत्पादन होस् भनेर प्योरलाइनका साथै प्राविधिक सहयोगसमेत गर्दै आएको छ । विगतमा पटक–पटक ल्याइएका प्योरलाइनको उत्पादनले नेपाली ह्याचरीहरुको आंशिक माग धानेकाले उनीहरु विदेशबाट समेत प्यारेन्ट आयात गर्न बाध्य थिए,’ पुरीले थपे ।

जिपी फार्मको विस्तारसँगै कब–५०० प्यारेन्ट उत्पादन प्रतिहप्ता २० हजार गोटा पुग्ने उनको भनाइ छ । ‘यस वर्ष हामी नेपाली मागको ७५ प्रतिशत र दुई वर्षपछि ९० प्रतिशत माग धान्न सक्ने किसिमले प्यारेन्ट उत्पादन गर्न सक्षम हुनेछौं,’ पुरीले भने ।यतिमात्रै नभई चार वर्ष अघिसम्म नेपाललाई कब–भान्ट्रेस, इन्कर्पोरेटेडले भारतमा रहेको जिपी फार्ममातहत राख्दै आएको थियो । नेपालका ठूला पोल्ट्री व्यवसायीको सक्रियतामा जिपी कम्पनीको स्थापनासँगै परनिर्भरताको अन्त्य भएको हो ।

हालको कम्पनीमा भ्याली पोल्ट्री, आशापुरी ह्याचरी, जिजे पोल्ट्री फार्म, सेरेन फर्मास्युटिकल्स, क्वालिटी ह्याचरी, प्रभात पोल्ट्री ह्याचरी, विष्णुमति फिड, ललितपुर ह्याचरी, दाउन्ने पोल्ट्री ब्रिडिङ फार्म र कान्तिपुर फिड प्रालि प्रवद्र्धक रहेका छन् । क्षमता विस्तार र नयाँ जिपी फार्मका लागि यीनै प्रवद्र्धकले ४० करोड रुपैयाँ लगानी थपेको बताएका छन् ।

‘नयाँ जिपी फार्मसँगै कब नेपालको वार्षिक उत्पादन क्षमता आठ लाख ८५ हजार प्यारेन्ट चल्ला हुनेछ । जसमा सात लाख ७० हजार पोथी र एक लाख १५ हजार भाले प्यारेन्ट चल्ला उत्पादन हुनेछ,’ प्राविधिक निर्देशक डा. जीवनलाल अमात्यले भने ।कम्पनीले हाल प्रतिगोटा प्यारेन्ट स्टकको मूल्य चार सय ९५ रुपैयाँ तोकेको छ । यही जातको प्यारेन्टलाई विदेशबाट झिकाउँदा हवाई भाडाबाहेक व्यवसायीले पाँच सय रुपैयाँ हाराहारीमा तिर्दै आएका छन् । नेपाल आइपुग्दा एउटा प्यारेन्ट चल्लाको कम्तीमा ६ सय रुपैयाँ पर्ने ह्याचरी व्यवसायी बताउँछन् ।

‘व्यवसायीले प्यारेन्टको मूल्यको २० देखि २५ प्रतिशतसम्म हवाई भाडा तिरेर ल्याउने गर्थे । नेपालमै प्यारेन्ट उत्पादन भएपछि विदेशभन्दा केही सस्तो र हवाई भाडामा पूरै बचत हुने भएको छ,’ अमात्यले भने, ‘यहाँको प्यारेन्टबाट हवाई ढुवानीवापतको बर्सेनि चार करोड रकम सोझै बच्न सक्छ ।’

नेपाल ह्याचरी उद्योग संघका अनुसार मुलुकभर दुई सय नौ ह्याचरी उद्योग (ब्रोइलर र लेयर्स) रहेको छ । जसमा तीन हजारदेखि ५० हजारसम्म प्यारेन्ट कुखुरा रहेको छ । नेपालको उत्पादनले नभ्याएको अवस्थामा यी ह्याचरीले फिलिपिन्स, श्रीलंका, मलेसिया, न्युजिल्यान्ड, अस्टेलिया, थाइल्यान्ड, फ्रान्स, जर्मनी, बेलायतबाट प्यारेन्ट स्टक ल्याउने गरेका छन् । तर, यतिखेर अधिकांश मुलुकमा बर्डफ्लू देखा परेकाले नेपाल सरकारले ती देशबाट आयात गर्न प्रतिबन्ध लगाएको छ ।

आर्थिक वर्ष ०७३÷७४ मा नेपालमा ब्रोइलर प्यारेन्ट १३ लाख ८१ हजार र लेयर्स प्यारेन्ट साढे ७३ हजार आयात भएको त्रिभुवन विमानस्थल क्वारेन्टाइन कार्यालयको तथ्यांक रहेको छ । ब्रोइलर प्यारेन्टमा कब नेपालबाट उत्पादित परिमाणसमेत समावेश रहेको छ । यस्तै, कब नेपालले कब–५०० ग्रान्ड प्यारेन्ट १० हजार गोटा आयात गरेको देखिन्छ । कूल ब्रोइलर प्यारेन्ट आयातको ८० प्रतिशत हिस्सा कब–५०० जातको मात्रै हुन आएबाट पनि नेपाली पोल्ट्री व्यवसायीले यहीँ नै कब–५०० को प्योरलाइन ल्याएर जिपी फार्म सञ्चालन गरेका हुन् ।

हाल नेपालमा केही ह्याचरीहरुले आयातित प्यारेन्ट स्टकबाट रोस–३०८ र हब्बर्ड जातका ब्रोइलर चल्लाहरु उत्पादन गर्दै आएका छन् । त्र, कब–५०० ब्रोइलर चल्ला किसानको रोजाई हुने गरेको छ भने मासु व्यवसायीले समेत बढी रुचाउन थालेका छन् । ‘कब–५०० ब्रोइलरको छाती ठूलो हुने र मासु प्रशोधन गर्दा धेरै खेर (धेरै जर्ती) नजाने भएकाले रुचाइएको हो,’ नेपाल कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले भने ।

स्रोत: www.nagariknews.com/news/37255/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More