भक्तपुरमा थपिए चौध हजार नयाँ मतदाता

August 26, 2017

ईश्वरकाजी खएजु, अन्नपुर्ण पोष्ट, ०९ भाद्र २०७४ 

दुइटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा १४ हजार तीन सय १३ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार १४ हजार तीनसय १३ जनाले फोटोसहितको मतदाता परिचयपत्रको लागि फोटो खिचाएका हुन् ।

कार्यालयका प्रमुख उमेश राईका अनुसार भक्तपुरमा जिल्लावासीले भन्दा बाहिर जिल्लाका बढी मतदाताले परिचयपत्रको लागि फोटो खिचाएका थिए । साउन १ देखि भदौ ३ गतेसम्म भएको मतदाता नामावली संकलनमा भक्तपुरमा कूल ३६ हजार आठ सय ७५ जना मतदाताले फोटो खिचाएको उनी बताउँछन् ।

‘भक्तपुरमा स्थानीयभन्दा जिल्ला बाहिरका डेढ गुणा बढी मतदाताले फोटो खिचाए’, प्रमुख राईले भने, ‘जिल्लाका १४ हजार तीनसय १३ जना मतदाताको मात्रै फोटो खिचिए तर भक्तपुर बाहिरका २२ हजार पाँच सय ६२ जना मतदाताको फोटो खिचियो ।’

भक्तपुरमा नगरपालिका वडावडामै गएर मतदाताहरुको फोटो खिचिएको थियो । भक्तपुरमा चार वटा नपाका ३८ वटा वडा रहेका छन् ।

कार्यालय प्रमुख राईले प्रत्येक वडामा टोली खटिएर दुईदुई फोटोसहितको मतदाता नामावली संकलन गरिएको जानकारी दिए । उनका अनुसार नगरका वडा वडामै गएर नामावली संकलन गरिएकाले भक्तपुरमा कोठा लिइबसेका अन्य जिल्लाका मतदातालाई समेत फोटो खिचाउन सहज भएको थियो ।

त्यस्तै भक्तपुरका स्थानीय मतदाताले नगरका वडा वडामा फोटो खिचाउँदा जिल्ला निर्वाचन कार्यालयमा फोटो खिचाउन काठमाडौं र ललितपुरमा बसेका भक्तपुर बाहिरका मतदातासमेत आएका थिए ।

गएको वैशाख ३१ गते भएको स्थानीय तहअन्तर्गत नगरपालिकाको निर्वाचन घोषणा गरिँदा भक्तपुरमा एक लाख ६१ हजार पाँच सय २९ मतदाता रहेका थिए ।

स्रोत: 

http://annapurnapost.com/news/78555

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More