भग्नावशेष जस्ताको तस्तै

April 25, 2017

Kantipur, Lila Shrestha, 25th April 2017, Bhaktapur

एक कुनामा भान्सा, अर्कोमा राखनधरन । ओछयान पनि अटेकै छ । त्यही साँघुरो अस्थायी टेन्टमा व्यवसाय पनि चलेकै छ । कपडा सिउने पेसा गर्दै आएका ७४ वर्षीय रामबहादुर कपालीको ३ दाजुभाइको संयुक्त परिवार बस्दै आएको चारतले घर महाभूकम्पले आधा भत्कायो । 

आधा धराप अवस्थामै अल्झेको छ । उनको परिवार भक्तपुर ४, मङ्गलाछेंमा विभिन्न दाताले बनाइदिएको अस्थायी टहरामा बसिरहेको छ । ‘२ वर्ष उस्तै आपत्तमै बित्यो,’ उनले भने, ‘भूकम्पपछिका २ वर्ष कठयांग्रिँदो हिउँद, हिले वर्षा, चैते हावाहुरी झेल्यौं, झेल्दै छौं । हावाहुरी आउँदा ज्यानभन्दा टहरा जोगाउनै मुस्किल पर्छ ।

भत्किएको घरको भग्नावशेष हटाउनु नै सबैभन्दा ठूलो चुनौती भएको भूकम्पपीडितहरू बताउँछन् । भक्तपुर र मध्यपुरठिमीका अधिकांश पुराना साँघुरो गल्लीभित्र भत्किएका संरचनाको भग्नावशेष हट्न बाँकी छ । नयाँ २ नगरमा पनि भग्नावशेष व्यवस्थापन हुन सकेको छैन ।
भक्तपुर नगरपालिकाको वंशगोपाल, मङ्गलाछें, तेखाचो, नासमना, चोछें, याछें, भोलाछें, बोलाछें, ब्यासी, तालाक्व, सूर्यमढी, तचपाल, इताछें, इनाचो, कमलविनायक, मध्यपुरठिमी नगरपालिकाको भुलाँखेल, चोडे, ताहाननी, चपाचो, टिकनीको पुनारो बस्तीलगायत स्थानमा भूकम्पले क्षतिग्रस्त घरमा टेको लगाएको छ । आधा भत्किएको र भत्किएको संरचनाको भग्नावशेष व्यवस्थापन भएका छैनन् ।

पर्याप्त जग्गा भएकाहरूले बेचेरै पुनर्निर्माण थालेका छन् । जग्गा नहुने तथा आर्थिक अवस्था न्यून भएका पीडितले भग्नावशेष नै हटाउन सकेका छैनन् । ‘नयाँ घर ठडयाउने सपना अन्योलमै छ,’ मङ्गलाछेंकै रत्नदेवी कपालीले भनिन्, ‘आफ्नो आयस्रोत छैन, कसरी घर बनाउनु ?’ सरकारले आवास पुनर्निर्माणका लागि ३ लाख दिने भनेर ५० हजारमा टारेको उनीहरूको गुनासो छ । 

जिल्लामा ८ हजार घरको भग्नावशेष हटाउन बाँकी रहेको सांसद प्रेम सुवाल बताउँछन् । ‘भक्तपुर नगरपालिकामा मात्र भूकम्पले क्षतिग्रस्त ४ हजार घरको भग्नावशेष हट्न बाँकी छ,’ उनले भने, ‘आधा घर भत्काइएको, टेको लगाइएको, चर्किएर धराप अवस्थामा रहेको संरचना धेरै छन् ।’ मध्यपुर र अन्य २ नगरमा गरी करिब ८ हजार घरको भग्नावशेष हट्न बाँकी रहेको उनले बताए । पीडितलाई भग्नावशेष पन्छाउन र पुनर्निर्माणमा सहयोग गर्ने गरी सरकारले अर्को योजना ल्याउनुपर्ने सुवालले बताए ।

नगरका कतिपय गल्लीभित्र भत्किएको संरचनाका कारण २ वर्षसम्म सवारीसाधन आवतजावत अवरुद्ध भएको छ । भग्नावशेष व्यवस्थापन गर्न नसकेका पीडितले सरकारले निजी आवास पुनर्निर्माणका लागि दिएको पहिलो किस्ताको ५० हजार रुपैयाँले भग्नावशेष हटाउन पनि नपुग्ने भन्दै अधिकांशले उक्त रकम पुन: वित्तीय संस्थामा जम्मा गरेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रमाणीकरण गरी पठाएका २६ हजार १६ मध्ये २० हजार ७ सय लाभग्राहीसँग निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिले जनाएको छ । जसमध्ये २० हजार ३ सय ४१ लाभग्राहीको खातामा पहिलो किस्ताको रकम गइसकेको जिसस प्रमुख मुरारी वस्तीले बताए ।

भूकम्प पुनर्निर्माण आयोजना कार्यान्वयन एकाइका अनुसार जिल्लाका ४ वटै नगरपालिकाको कार्यालयमा नक्सापास गरी ६ सय ६८ लाभग्राहीले मात्र भवन निर्माण थालेका छन् । जसमध्ये दोस्रो किस्ता भुक्तानीका लागि २ सय ४७ ले निवेदन पेस गरेको एकाइ प्रमुख अमरकुमार दाहालले बताए ।
बाँकी लाभग्राहीले भने जग्गाको विवाद, नगरपालिकाको मापदण्डमा भवन निर्माण गर्न नसक्नेलगायत कारणले पुनर्निर्माण नथालेको हुन सक्ने वस्तीले बताए । कतिपय पीडितले आन्तरिक समस्याकै कारण नगरपालिकाको स्वीकृतिबिना पनि पुनर्निर्माण थालेको हुदा त्यस्ताका हकमा दोस्रो किस्ता लिन आउँदा अप्ठयारो पर्ने कार्यालयले जनाएको छ ।

 जिल्लामा पुनर्निर्माण थालिएका कतिपय घर सरकारले दिएको अनुदानभन्दा धेरै रहेको वस्तीले बताए । ‘सरकारले ३ लाख सहयोग गर्ने हो, यहाँ थालिएको भवनको अवस्था हेर्दा ५० लाखले पनि पुग्दैन,’ उनले भने । लाभग्राहीको सूचीमा नाम उल्लेख नभएको, लालपुर्जा नभएकोलगायत समस्या भएको भन्दै ६ हजार ६७ भूकम्पपीडितले गुनासो टिपाएका छन् ।



Source: http://kantipur.ekantipur.com/news/2017-04-25/20170425081408.html



 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More