News

भत्तामै ८ अर्ब खर्च

November 21, 2017

कारोबार आर्थिक दैनिक, ०५ मंसिर २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अवधिभर खटिने सुरक्षाकर्मी र कर्मचारीका लागि भत्ता सुविधामा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने देखिएको छ । मंसिर १० र २१ मा दुई चरणमा हुन लागेको निर्वाचनमा निजामति कर्मचारी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी करिब ५ लाख जनशक्ति खटिने निर्वाचन आयोगले जनाएको छ । यो जनशक्तिका लगि सरकारले निर्वाचनका लागि विनियोजन गरेको कुल बजेटको आधाभन्दा बढी दैनिक भत्ता र मसलन्दमा खर्च भएको हो । अर्थ मन्त्रालयले निर्वाचनका लागि अहिलेसम्म १५ अर्ब रुपैयाँ विनियोजन गरिसकेको छ ।
निर्वाचनमा कर्मचारीको हकमा मासिक दर्जा र तलबमानका आधारमा १२१ प्रतिशत भत्ता, निर्वाचनकै क्रममा मृत्यु भएमा बिमाबापत २० लाख रुपैयाँ र बिरामी भए उपचारमा लाग्ने खर्च सरकारले नै बेहोर्ने छ ।
कर्मचारीले निर्वाचनमा दैनिक ३० करोडभन्दा बढी रकम भत्ताबापत पाउँछन् । यसबाहेक सरकारी दर्जाअनुसार कर्मचारीले अतिरिक्त सुविधासमेत पाउनेछन् । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सरकारले निर्धारण गरेका नीतिनियम र परिधिभित्र रहेर कर्मचारीलाई निर्वाचन अवधिभर भत्ता लगायतका सेवासुविधा उपलब्ध गराइने बताए ।
आर्थिक अनुशासनलाई कायम राखेर आयोगले निर्वाचनमा खर्च व्यवस्थापन गरेको दावी गरेको छ । तर, निर्वाचनमा अहिलेसम्म कति खर्च भइसक्यो भन्नेबारे ढकालले केही खुलाउन चाहेनन् । अर्थ मन्त्रालयले चारवटै सुरक्षा निकायलाई गृह मन्त्रालयमार्फत १० अर्ब र निर्वाचन आयोगलाई ५ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको छ । यसपटक विदेशबाट कुनै पनि आर्थिक सहायता नलिएका कारण पूर्वअनुमानअनुसार बजेट अपुग भएको भन्दै आयोगले थप रकम माग गरेको छ । निर्वाचनपछि खर्च विवरण एकमुष्ट सावजनिक गरिने उनले बताए ।
आयोगले दैनिक भत्ताबापत निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही ३ लाखको बिमा, विरामी भए उपचारमा लागेको खर्चको बिलअनुसार रकम भुक्तानी, कर्मचारीको मृत्यु भएमा २० लाख रकम सम्बन्धित परिवारलाई दिइने जनाएको छ । यस्तै, सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले दैनिक भत्ताबापत १ हजार २ सयदेखि १ हजार ६ सय रुपैयाँसम्म, खाजा खर्चबापत दैनिक २ सय ५० रुपैयाँ, ३ लाखसम्मको बिमा सुविधा, विरामी भए निशुल्क उपचार लगायतका सुविधा पाउनेछन् । मन्त्रिपरिषद् बैठकले निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि जवानसरह ५ दिनको मसिक रासन, तलब तथा पोशाकबापत ४ हजार रुपैयाँ उपलव्ध गराउने निर्णय गरीसकेको छ ।
निर्वाचनसम्बन्धी बैठकमा सहभागी हुँदा सुरक्षा निकायका अधिकारीले सेवासुविधामा विभेद भएको भन्दै समान गर्र्नुपर्ने बताएका थिए । गृह मन्त्रालय र रक्षा मन्त्रालयका अनुसार निर्वाचनका बेला ७ दिनसम्म खाजा खर्चबापत सुरक्षाकर्मीलाई जनही २ सय ५० रुपैयाँ भत्ता उपलव्ध गराइने छ । यसबापत दैनिक ६ करेड ५० लाख खर्च हुने छ । १ सातासम्म ४५ करोड ५० लाख रुपैयाँ खाजा खर्चमा विनियोजन गरिने छ । म्यादी बाहेकका सुरक्षाकर्मीलाई ७ दिनदेखि बढीमा १३ दिनसम्मको भत्ता सुविधाबापत दैनिक २१ करोडको हाराहारीमा खर्च हुने छ ।
म्यादी बाहेकका सुरक्षाकर्मीको हकमा दैनिक १ हजार २ सयदेखि १ हजार ६ सयसम्म भत्ता उपलब्ध गराइने छ । जवानदेखि जुनियर अफिसरसम्म दैनिक १ हजार २ सय र अधिकृत तहका सुरक्षाकर्मीले १ दैनिक हजार ६ सय रुपैयाँका दरले १३ दिनसमको भत्ता पाउनेछन् । मन्त्रिपरिषद् बैठकले एक जिल्लाबाट अर्को जिल्ला वा एक निर्वाचन क्षेत्रबाट अर्को निर्वाचन क्षेत्रमा थप मदतमा जाने सुरक्षाकर्मीलाई १३ दिन र सम्बन्धित कार्यक्षेत्रमै खटिएका सुरक्षाकर्मीलाई ७ दिनसम्मको भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

स्रोत: https://www.karobardaily.com/news/economy/457