भन्सारको तथ्यांक आउनै छाड्यो, अर्थले प्रकाशित गर्न दिएन, 'स्वीकृत लिएर मात्र प्रकाशित गर्नु'

May 22, 2019

काठमाडौं। भन्सार विभागले प्रत्येक महिना प्रकाशित गर्ने वैदेशिक व्यापारको तथ्यांक पछिल्लो तीन महिनायता रोकिएको छ। विभागले आफ्नो वेबसाइटमार्फत प्रकाशित गर्ने यो तथ्यांक पुसयता प्रकाशित छैन। 

विभागले वेबसाइटमार्फत पछिल्लो पाँच वर्षको मासिक र त्यसअघिका पाँच वर्षको वार्षिक तथ्यांक सार्वजनिक गरेको छ। तर चालु आर्थिक वर्षको भने पहिलो ६ महिनापछिको तथ्यांक सार्वजनिक गरिएको छैन। अर्थ मन्त्रालयको निर्देशनमा तथ्यांक सार्वजनिक गर्ने काम हाललाई रोकिएको विभागसम्बद्ध स्रोतले जनाएको छ।

'भन्सार विभाग, राष्ट्र बैंकलगायतका निकायले एउटै तथ्यांक फरकफरक समयमा सार्वजनिक गर्दा त्यसलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण भएकाले राष्ट्र बैंकबाट मात्रै सार्वजनिक गर्ने अर्थ मन्त्रालयको योजनाअनुसार हामीले बेवसाइटमा राखेका छैनौँ,' विभागका एक कर्मचारीले भने।

अर्थ मन्त्रालयले विभागले तयार गरेको तथ्यांक आफ्नो पूर्वस्वीकृति पछि मात्रै प्रकाशित गर्न विभागलाई निर्देशन दिएको थियो। त्यसैअनुसार विभागले मासिकरुपमा व्यापारको तथ्यांक तयार गर्दै मन्त्रालय पठाएको दुई महिना बितेको छ। तर अहिलेसम्म मन्त्रालयले तथ्यांक सार्वजनिक गर्न स्वीकृति नदिएको विभाग स्रोतको दावी छ। 

'माघ र फागुनको तथ्यांक हामीले यसअघि नै स्वीकृतिका लागि मन्त्रालय पठाएका छौँ, त्यसलाई प्रकाशन गर्न स्वीकृति प्राप्त भएको छैन,' विभागका एक अधिकारीले भने, 'चैतको तथ्यांक अबको एक दुई दिनमा नै पठाउछौँ, मन्त्रालयबाट स्वीकृति पाए यो पनि सार्वजनिक गर्न हामीलाई धेरै समय लाग्दैन।' 

विभागले अर्थ मन्त्रालयका राजस्वा सचिव लालशंकर घिमिरेलाई तथ्यांक पठाउने गरेको छ। तर घिमिरेले अहिलेसम्म कुनै पनि तथ्यांक वेबसाइटमा राख्न स्वीकृति दिएका छैनन्। 'राजस्व सचिवज्यूले स्वीकृति दिनुपर्ने हो, तर अहिलेसम्म त्यो प्राप्त भएन,' स्रोतले भन्यो, 'तथ्यांक सार्वजनिक गर्न अर्थमन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्न भन्ने हामीले सुनेका छौँ, सायद त्यसैले अनुमति नभएको हुनसक्छ।' 

भन्सार विभागका महानिर्देश रामेश्वर दंगालले भने भन्सार विभागले राजस्वको विवरण सार्वजनिक गर्ने र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले व्यापारको तथ्यांक सार्वजनिक गर्ने सहमितअनुसार तथ्यांक सार्वजनिक नगरिएको बताए। 'केन्द्रले पनि हाम्रै तथ्यांकका आधारमा काम गर्ने हो, त्यसै भएकाले हामीले व्यापारको तथ्यांक सार्वजनिक नगर्न खोजेका हौँ,' उनले भने। 

केन्द्रले पछिल्लो ८ महिनाको तथ्यांक वेबसाइटमा राखेको छ। उसले राखेको तथ्यांकअनुसार निर्यात र आयातको अनुपात १:१५.५ पुगेको छ। जुन गत आर्थिक वर्षको पहिलो ८ महिनामा १:१४.५ र त्यसअघिको वर्षमा १:१३.० थियो। भन्सारले प्रत्येक भन्सारबाट भएको आयात-निर्यातको विवरण सार्वजनिक गर्ने गरेको भए पनि त्यो अहिले सार्वजनिक भएको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि संसदमा संबोधन गर्ने क्रममा प्रस्तुत गरेको तथ्यांकको विश्वसनीयतामाथि प्रश्न उठेपछि अर्थ मन्त्रालयले तथ्यांक सार्वजनिक गर्ने निकायका गतिविधिमाथि कडाई गर्न थालेको हो।

Source: http://www.bizmandu.com/content/20190421172049.html

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More