भन्सार छलेर भारतीय उखु

February 15, 2018

हरि शर्मा, अन्नपूर्ण पोस्ट, बिहीबार, फागुन ३, २०७४

वलपरासी : सरकारले कृषिमा दिएको अनुदानका कारण नेपालीभन्दा भारतीय उखु सस्तो पर्न थालेपछि सिमा क्षेत्रका चिनी मिलले धमाधम भारतीय उखु लिन थालेका छन्। यसको मारमा नवलपरासीका किसान परेका छन्।

भन्सार समेत नतिरेको उखु नवलपरासीका पक्लिहवाको बलिनगर, भूजहवा, धर्मौली, कठहवालगायत नाकाबाट भारतीय किसानले ट्र्याक्टरमा नेपाल भित्र्याउँदै आएका छन्। सिमा क्षेत्रमा रहेका इन्दिरा र बागमती चिनी उद्योगले भारतीय उखु खरिद गरिरहेका छन्।

सरकारले अहिलेसम्म मूल्य निर्धारण नगर्दा पेस्की र उद्यारोमा उखु बिक्री गर्न बाध्य नेपाली किसानलाई भारतबाट आउने उखुले थप मारमा पारेको छ। उखु उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष उमेश यादवले नेपालीभन्दा भारतीय उखु सस्तो भएको बताए। उनले भने, ‘भारतमा सरकारले मल, सिँचाइलगायत क्षेत्रमा अनुदान दिन्छ। नेपालमा सबै हामी आफै गर्नुपर्छ। यसले गर्दा हाम्रो उत्पादन लागत बढी छ।’

नवलपरासीमा मात्रै विभिन्न नाकाबाट दैनिक दुई सय ट्र्याक्टर उखु नेपाल भित्रिँदै आएको छ। भारतबाट आउने उखुमा पाँच प्रतिशत भन्सार लाग्छ। महेशपुर छोटी भन्सार कार्यालयका सुब्बा मेघराज मि श्रले भारतबाट आउने उखुमा लामो समयदेखि भन्सारदर परिवर्तन नभएको बताए।

सरकारले निर्धारण गरेको भन्सार रकम प्रतिक्विन्टल एक सय १० भारतीय रुपैयाँ छ। जिल्लामा चार वटा प्रमुख भन्सार नाका छन्। ती नाकामा कर्मचारी अभावले भन्सार शुल्क लिन समस्या भएको सुब्बा मि श्रले बताए। उनले भने, ‘नाकाबाट उखु भित्रिएको सुनेका छौं। हामी कर्मचारी खटाएर राजस्व असुल्छौं।’

भारतबाट आउने उखु यहाँका उद्योगले प्रतिक्यिन्टल तीन सय ८० देखि चार सयसम्ममा खरिद गरिरहेका छन्। एक सय १०रुपैयाँ भन्सार र भाडा तिर्दा किसानलाई दुई सय रुपैयाँ पनि हात नपर्ने अध्यक्ष यादवले बताए। उनले भने, ‘भन्सार छलि भित्र्याइएको उखु नेपाली मिलले प्रयोग गरेका छन्। सरकारलाई यसको वास्तै छैन।’

गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल पाँच सय ३१ रुपैयाँ कायम गरेको थियो। सोही रकम यस वर्ष उपलब्ध गराउन माग गर्दा समेत उद्योगीले दिन मानेका छैनन्। यसका कारण केही किसानले चार सय ७० देखि पाँच सय रुपैयाँ पेस्की लिएर उखु दिँदै आएका छन्।

गत वर्षको मूल्य दिएर खरिद गर्ने सहमति भए पनि उद्योगीले अटेरी गरेकाले किसान मारमा परेको अध्यक्ष यादवले बताए। अहिले भारतबाट उखु आएपछि नेपाली किसानलाई रकम दिन आनाकानी गरेका छन्। त्यसैले यखुको मूल्य निर्धारण र सहमतिअनुसार भुक्तानी नभएसम्म भारतबाट आउने उखु तत्काल रोकिनुपर्ने यादवको माग छ।

तौलमा ठगी

भुक्तानी समस्या र भारतीय उखुका कारण मर्कामा परेका किसान तौलमा समेत ठगिन थालेका छन्। जिल्लाका विभिन्न स्थानमा रहेका तौल केन्द्रले किसानले ल्याएका उखुमा कम तौल देखाएर ठगी गर्ने गरेका हुन्। उद्योग र विभिन्न व्यक्तिले राखेका तौल केन्द्रबाट किसानलाई ठगी गरिँदै आइएको छ। विगतमा पनि तौलमा किसानलाई ठगिँदै आइएको थियो। कारबाही हुन नसक्दा यस वर्ष पनि ठगिन पुगेको किसानको गुनासो छ। एक क्विन्टलमा १० देखि १५ केजीसम्म कम तौल देखाएर ठगी गर्ने गरेको पाइएको हो। दक्षिण क्षेत्रमा ५० को हाराहारीमा तौल केन्द्र सञ्चालनमा छन्। केही तौल केन्द्र अवैध रूपमा सञ्चालनमा छन्।

स्रोत: annapurnapost.com/news-details/91040

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More