भन्सार छुटमा ५६ अर्बको सामान आयात

February 05, 2018

अच्युत पुरी, नयाँ पत्रिका, २२ माघ २०७४

नेपाल सरकारलाई कुल ५१ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ भन्सार महसुलबापत प्राप्त

आर्थिक वर्ष ०७४/७५ को प्रथम ६ महिनामा ५६ अर्ब ५४ करोड २२ लाख रुपैयाँबराबरको वस्तु आयातमा भन्सार छुट सुविधा प्रयोग भएको छ । यो कुल आयातको १० दशमलव ५७ प्रतिशत हो । सो अवधिमा ५ खर्ब ३५ अर्ब ५ करोड रुपैयाँका वस्तु विभिन्न देशबाट नेपालमा आयात भएको भन्सार विभागको तथ्यांक छ ।

सो वस्तुहरू आयात गर्दा नेपाल सरकारले कुल ५१ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ भन्सार महसुलबापत प्राप्त गरेको छ । विभागका सूचना अधिकृत शिव भण्डारीका अनुसार सरकारको निर्णयअनुसार नै आयात गरिएका कतिपय वस्तु तथा सामानमा भन्सार छुट सुविधा उपलब्ध गराइन्छ ।

भन्सार छुटमा कस्ता वस्तु भित्रिन्छन् ? 
सरकारले अत्यावश्यक सेवामा प्रयोग हुने वस्तुको आयातमा भन्सार छुट सुविधा दिने गर्छ । साथै स्वदेशी उत्पादनलाई प्रवद्र्धन हुने खालका कच्चा पदार्थको आयातमा पनि भन्सार छुट सुविधा दिइएको हुन्छ ।

मानव रोगको उपचारमा प्रयोग हुने केही उत्पादन, कृषि उत्पादनमा प्रयोग हुने विभिन्न प्रकारका रासायनिक मल, पुस्तक, परम्परागत पात्रो, कपास, दृष्टिविहीनले प्रयोग गर्ने सेतो छडीलगायत वस्तु आयातमा भन्सार छुटको व्यवस्था छ ।

महिलाको सौन्दर्य सामग्रीमध्ये टीका, चुरा, हाडजोर्नीको उपचारमा प्रयोग हुने उपकरण, मानव शरीरका कृत्रिम अंग, कृत्रिम जोर्नीहरूलगायतको आयातमा पनि भन्सार छुट सुविधा उपलब्ध हुन्छ ।

विलासिताका सामानमा भन्सार बढी 
सरकारले विलासिताका सामग्री, स्वास्थ्यमा हानि प-याउने मदिराजन्य पदार्थलगायत मालवस्तु आयातमा बढी भन्सारदर तोकेको हुन्छ । मदिरा आयातमा भने परिमाणका आधारमा महसुल तोकिएको हुन्छ ।

विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा ३० प्रतिशत भन्सार महसुलदर तोकिएका सामग्री आयातबाट सरकारले सबैभन्दा बढी भन्सार महसुल उठाउन सकेको छ । यस दरमा विभिन्न क्षमताका मोटरसाइकल तथा सवारीसाधन आयात हुने गर्छन् ।

स्रोत: www.enayapatrika.com/2018/02/05/21296/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More