भारततर्फ इन्धन तस्करी भयावह

June 29, 2018

कारोबार, शुक्रवार, असार १५, २०७५

नेपालगन्ज-भारतमा इन्धनको मूल्य आकासिएपछि विभिन्न माध्यमको प्रयोग गर्दै नेपालबाट भारततर्फ इन्धन तस्करी पछिल्लो समय अत्याधिक रूपमा बढेको छ । भारतभन्दा नेपालमा पेट्रोलिमय पदार्थ सस्तो भएको कारण नेपालगञ्ज र आसपासको क्षेत्रबाट लामो समयदेखि भारततर्फ पेट्रोलियम पदार्थ तस्करी हुँदै आएको छ । 
भारतभन्दा नेपालमा पेट्रोल प्रतिलिटर १० देखि १४ रूपैयासम्म सस्तो पर्ने गरेकोले नेपालगञ्ज, साईगाउ, सैनिक, हिरमिनिया, जमुनाह, पूर्वीनाकालगायतका खुला क्षेत्रबाट भारततर्फ तेलको तस्करी गर्ने गिरोह नै सक्रिय छ ।
भारतको रूपैडिहा नाका हँदै नेपालगञ्ज र जमुनाहा छेउछाउका पेट्रोल पम्पबाट भारतीय नम्बर प्लेटका ढुवानीको सवारीसाधन प्रयोग गरेर पनि ठूलो परिमाणमा इन्धन तस्करी हुँदै आएको छ । यसैगरी, खजुरा गाउँपालिका–१ सैनिकको सीमाबाट डिजेल र पेट्रोल निर्वाध रूपमा ग्यालेनमा भरेर भारततर्फ इन्धन तस्करी भइरहेको स्थानीयले जानकारी दिएका छन् । स्थानीय राकेश थापाका अनुसार दैनिक २० जनासम्मको तस्करको समुहले प्रतिव्यक्ति ३० लिटरका दरले अनुमानित ६ सय लिटरसम्म इन्धन तस्करी गर्ने गरेको बताए । उनले भने, “इन्धन तस्करीको बारेमा पटक–पटक राधापुर प्रहरी चौकीलाई अवगत गराउँदा पनि तस्करीको क्रम घटेको छैन ।”
स्थानीय समूह जागृती युवा मञ्चका सचिव रमेश थापाले ठूलो परिमाणको तेल भारततर्फ गइरहेको तथा मासुजन्य पदार्थ लत्ता कपडा खाद्यसामग्री एवम् बनपैदावार लगायतका सामग्रीहरू पनि राजस्व छली गरी भित्रिरहेकोमा प्रहरी चौकीको मौनतालाई आफूले अर्थपूर्ण रूपमा हेरेको बताए । 
यसैगरी, नेपालगन्जमा भारतबाट मालसामान लिएर आउने ठूला मालवाहक ट्रकले माल अपलोड गरेर भारत फर्कने बेलामा नेपालगन्ज आसपासका पेट्रोल पम्पहरूबाट टंकी फुल गराएर तेल लिएर जाने गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । 
कन्टेनर बोकेर आएका ट्रकको एउटै ट्यांकीमा ६ सय लिटर बढी डिजल जान्छ । त्यस्ता ट्रकमा दुईवटा ट्यांकी हुन्छ सामान डेलीभरी दिएर भारत फर्कदा दुबै ट्यांकी भरेर भारततर्फ तेल लिएर गै अगाडी गएर विक्री गर्ने गरिएको पनि पाइएको छ । यसैबीच, बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकबहादुर तामाङले खुला सीमानाको फाइदा उठाउँदै विभिन्न प्रकारका तस्करी गर्नेहरूलाई कडाइ गरिएको जानकारी दिए । उनले सीमा क्षेत्रबाट हुने जुनसुकै तस्करी तथा गैह्रकानुनी गतिविधि रोक्नको लागि आफूहरू सचेत भएको जनाउँदै सबै प्रकारको अवैध आयात निर्यात रोक्ने कार्य भइरहेको बताएका छन् ।

स्रोत: https://karobardaily.com/news/country/7236

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More