राजु चौधरी, कान्तिपुर दैनिक, ०९ भाद्र २०७४
मुलुकभित्र बर्सेनि करिब ५० अर्ब रुपैयाँको खसीबोका खपत हुने गरेको पाइएको छ । पशुपक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार मुलुकभरि १ करोड १० लाख खसीबोका, पाडी, बाख्रा छन् । तीमध्ये वार्षिक ४० लाख खसीबोका काटिन्छन् । एउटा खसीबोको औसत मूल्य १२ हजार रुपैयाँ पर्छ । जसअनुसार ४८ अर्ब रुपैयाँको खसीबोका मासु खपत हुने गरेको छ ।
बाँकी मासु आयात हुने गरेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता श्यामप्रसाद पौडेलका अनुसार माग धान्नका लागि गत वर्ष भारतबाट थप ५ लाख २ हजार खसीबोका (करिब ६ अर्ब २ करोड रुपैयाँ) को आयात भएको थियो । आयत बर्सेनि बढदै गएको उनले बताए । ‘स्वदेशी र भारतीय गरी ४५ लाख खसीबोका काटिन्छन्,’ प्रवक्ता पौडेलले भने । मन्त्रालयका अनुसार नेपालगन्ज नाकाबाट करिब डेढ लाख, कृष्णनगरबाट डेढ लाख र भैरहवाबाट पनि करिब डेढ लाख खसीबोका आयात भएको छ । बाँकी खसीबोका अन्य क्षेत्रबाट छिटफुट रूपमा आउने गरेको जनाएको छ ।
पौडेलका अनुसार राँगा र भैंसीको आयात घटे पनि खसीबोकाको निरन्तर बढदै गएको छ । आयात भएका खसीबोका उपत्यकामा खपत हुने व्यवसायीहरू बताउँछन् । व्यवसायीले भारतका विभिन्न १० ठाउँबाट खसीबोका आयात गर्छन् । आयातित खसीबोका करिब ९५ प्रतिशत उपत्यकामा खपत भएको चौपाया व्यवसायी संघका अध्यक्ष दीपक थापाले बताए । ‘पर्याप्त मात्रामा उत्पादन नहुँदा भारतकै भर पर्नुपर्छ,’ अध्यक्ष थापाले भने । मन्त्रालयका अनुसार मुलुकभर दसैं छेउँछाउ डेढ महिनाको अवधिमा मात्रै १० लाख खसीबोका (१२ अर्ब रुपैयाँ) खपत हुने गरेको छ । प्रवक्ता पौडेलका अनुसार २०७३/७४ मा करिब ७० हजार टन खसीबोकाको मासु उत्पादन भएको थियो ।
अण्डा र बोइलर कुखुराको हकमा भने आत्मनिर्भर भएको मन्त्रालयको दाबी छ । ‘सीमावर्ती क्षेत्र र कोल्डस्टोरले केही ल्याउने छुट्टै कुरा छ,’ उनले भने, ‘मागको आधारमा बोइलर कुखुरा र अण्डामा आत्मनिर्भर छौं ।’
मन्त्रालयका अनुसार मुलुकमा सबैभन्दा बढी राँगा/भैंसीको मासु खपत हुन्छ । गत वर्ष ३ लाख ३२ हजार टन मासु उत्पादन भएको थियो । तीमध्ये राँगा/भैंसीको हिस्सा ५८ प्रतिशत, खसीबोका २० र बाँकी कुखुरा र बंगुर हो । केही महिनायता कुखुराको मासुको खपत बढदै गएको मन्त्रालयको दाबी छ । ‘विगतमा राँगा/भैंसीको माग बढी हुन्थ्यो,’ प्रवक्ता पौडेलले भने, ‘केहीयता राँगा–भैंसी घट्ने क्रममा छ । कुखुराको बढदो छ ।’ गत आर्थिक वर्षमा भारतबाट ७८ हजार राँगाभैंसी आयात भएको थियो ।
३६ हजार ९ सय ९१ पशुपक्षी परीक्षण
मन्त्रालयले पशुपक्षीको अनुगमन तीव्र बनाएको छ । चाडबाडलाई लक्षित गरी आयात भइरहेका खसीबोका मृत र बिरामी फेला परेपछि अनुगमन तीव्र बनाएको जनाएको छ । ‘सर्वसाधारणले स्वस्थ खसीबोका किन्न पाऊन् भन्ने उद्देश्यले मन्त्रालय र पशु सेवा विभागले संयुक्त रूपमा अनुगमन (पशुपक्षीको स्वास्थ्य परीक्षण) तीव्र बनाएका छौं,’ मन्त्रालयका सचिव युवकध्वज जीसीले भने, ‘अनुगमन दसैं अवधिभरि हुन्छ ।’
व्यवसायीले नाफा कमाउने हिसाबले गलत गर्ने सम्भावना भएकाले अनुगमन तीव्र बनाएको उनले बताए ।
अनुगमनको क्रममा केही अस्वस्थसमेत फेला परेको छ । ती पशुपक्षीको सिङमा रातो रङ लगाइएको छ । मन्त्रालयले ४ दिनको अवधिमा ३६ हजार ९ सय ९१ पशुपक्षी (खसीबोका, भेडा च्यांग्रा, राँगाभैंसी) को स्वास्थ्य परीक्षण गरेको जनाएको छ । चार दिनमा खसीबोका १७ हजार ५८, राँगाभैंसी १२ सय २०, च्यांग्रा ४ हजार ३ सय ५३, भेडा ६३, बंगुर १ सय ४५ र कुखुरा/हाँस १४ हजार १ सय ५२ वटा परीक्षण गरेको जनाएको छ ।
मन्त्रालयका अनुसार दैनिक ७ टोलीले सतुंगल, कलंकी, बिजुलीबजार, सल्लाघारी, बालाजु, टुकुचा, खाद्य संस्थान थापाथलीलगायत क्षेत्रमा परीक्षण गरेको छ । अनुगमनमा खटिएका कर्मचारीहरूले पशुपक्षीको तापक्रमको मापन, नाकबाट सिँगान, दिसा/पिसाबको जाँचको अधारमा खसीबोकाको सिङमा रङ लगाउने गरेको जनाएको छ । उपत्यकामा मुख्यत: ४ नाकाबाट माछामासु भित्रिन्छ । पशुपक्षी विकासमन्त्री सन्तकुमार महतोले पशुपक्षीसँगै डेरी उद्योगमा पनि अनुगमन गरिने बताए । ‘दूध क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा छ । खानयोग्य भनेर गुनासो छ,’ उनले भने, ‘सरकारी, निजी, सहकारी सबै क्षेत्रमा अनुगमन गर्छौं
स्रोत:http://kantipur.ekantipur.com/news/2017-09-25/20170925082753.html