भारतबाट आयात गर्ने बिजुली महँगिने

March 29, 2018

कान्तिपुर, चैत्र १५, २०७४ 

ढल्केबर–मुजफ्फरपुरबाट १२० मेगावाट विद्युत् ल्याउन १५ महिने सम्झौता

प्राधिकरणले सुरु ६ महिनाका लागि प्रतियुनिट ३.९८ भारतीय रुपैयाँ (६.३६ रुपैयाँ) र बाँकी अवधिको लागि उक्त मूल्यमा ५ प्रतिशतले वृद्धि हुने गरी सम्झौता गरेको हो

काठमाडौँ — भारतीय बजारमा विद्युत् मूल्य वृद्धि भएपछि नेपाल आयात हुने बिजुली महँगिने भएको छ । मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट विद्युत् आयात गर्न नेपाल विद्युत् प्राधिकरणले बुधबार १५ महिने विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा भएको तीन दिन लामो वार्तापछि अहिलेको दरभन्दा केही महँगोमा विद्युत् किन्ने सम्झौता भएको हो ।

नयाँ सम्झौता अप्रिलबाट सुरु भई सन् २०१९ को जुनसम्म कायम रहन्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली सोमबारदेखि भारतीय पक्षसँग वार्तारत थियो । प्राधिकरणले भारतीय पक्ष एनटीपीसीसँग यसअघि गरेको सम्झौताको म्याद शनिबार सकिँदै छ ।

पीपीएमा बुधबार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) का प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले हस्ताक्षर गरेका हुन् । ‘वार्तामा हामीले पुरानै दरमा विद्युत् किन्ने अडान राख्यौं,’ प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले भने, ‘मूल्य बढेकाले पुरानै दरमा विद्युत् दिन नक्सने अडान भारतीय पक्षको रहयो ।’

भारतीय सर्वोच्च अदालतले पेट्रोलियम कोक (न्यूनस्तरको इन्धन) र फर्नेस आयलमा प्रतिबन्ध लगाउँदा त्यसबाट विद्युत् उत्पादन गर्ने प्लान्टहरू बन्द भएको, विद्युत् उत्पादनमा प्रयोग हुने इन्धनको मूल्य बढेको, भारतको विद्युत् एक्सचेन्ज बजारमा विद्युत्को मूल्य महँगो रहेको कारण देखाउँदै एनभीभीएनले अहिलेकै दरमा विद्युत् बिक्री गर्न नसकिने अडान राख्दै आएको थियो ।

प्राधिकरणले अहिले ढल्केबर– मुजफ्फरपुर प्रसारण लाइनमार्फत प्रतियूनिट ३.६० भारुमा विद्युत आयात गरिरहेको छ । अबको नयाँ मूल्य भने केही महँगिने भएको छ । प्राधिकरणले ६ महिनाका लागि प्रतियुनिट ३.९८ भारु ६.३६ र त्यस बाँकीको अवधिका लागि उक्त मूल्यमा ५ प्रतिशतले वृद्धि हुने गरी सम्झौता गरेको हो । सम्झौतापछि ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत १ सय २० मेगावाट विद्युत् आयात सुनिश्चित भएको प्रवक्ता अधिकारीले बताए ।

प्राधिकरणले एनभीभीएसँग सुरुमा प्रतियुनिट भारु ३.४४ (५.५० नेरु) मा पीपीए गरेको थियो । भारतीय बजारमा विद्युत् मूल्य वृद्धि भएपछि बढेर प्रतियुनिट भारु ३.६० पुगेको थियो ।

नेपाल–भारत सचिवस्तरीय विद्युत् व्यापार संयन्त्रको बैठकको निर्णयअनुसार प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत विद्युत् आयात गरिरहेको छ ।

भारतले एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लाई नोडल एजेन्सी तोकेको छ । प्राधिकरणले एनभीभीएनसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरी विद्युत् आयात गरिरहेको हो ।

भारतको विद्युत् एक्सचेन्जको औसत ‘मार्केट क्लियरिङ प्राइस’ प्रतियुनिट भारु ४.१९ (६.७० नेरु) छ ।

प्राधिकरणले व्यापारिक सम्झौता, विद्युत् आदानप्रदान सम्झौता (पावर एक्सेन्ज) र महाकाली सन्धिअन्तर्गतको बिजुली भारतबाट ल्याइरहेको छ । व्यापारिक सम्झौताअनुसार ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत र अन्य स्थानबाट पावर एक्सेन्जअन्तर्गत भारतबाट बिजुली ल्याइरहेको छ । दुई मुलुकबीचको पावर एक्सचेन्च कमिटी (पीईसी) ले तय गरेको मूल्यका आधारमा प्राधिकरणले बिहार, उत्तरप्रदेश र उत्तराखण्डबाट विद्युत् आयात गर्छ ।

स्रोत: www.kantipurdaily.com/business/2018/03/29/152229264677391072.html

 

Newsletter

Submit your details below to receive Newsletters

Newsletter