भित्रिए प्राधिकरणका चार्जिङ स्टेसन, प्रि–बुकिङ सुविधासहित ६३ ठाउँबाट सेवा

July 06, 2022

अनलाइखबर, असार २२, २०७९

काठमाडौं । नेपाल विद्युत् प्राधिरकरणले देशका विभिन्न भागमा राख्ने चार्जिङ स्टेसनको उपकरण नेपाल आइपुगेको छ । प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाका प्रमुख सागरमणि ज्ञावालीकाअनुसार पहिलो चरणमा राखिने ५१ मध्ये २६ वटा चार्जर नेपाल आइपुगेका हुन् ।

चार्जिङ स्टेसनका लागि आवश्यक ट्रान्सफर्मरहरु पनि नेपाल आएर अहिले परीक्षण चलिरहेको ज्ञवालीले जानकारी दिए । ‘चार्जहरु नेपाल आइपुगेका छन्, अब भन्सार जाँचपास गरेर ल्याउनासाथ केही दिनभित्रै जडान सुरु गर्छौं,’ उनले भने, ‘चार्जिङ स्टेसन जडानका लागि सिभिल पूर्वाधार निर्माणको काम लगभग सकिएको छ ।’

ट्रान्सफर्मरहरुको जडान सुरु गर्ने र लगत्तै चार्जरहरु जडान गरेर सेवा दिन थालिहाल्ने प्राधिकरणले बताएको छ । २ महिनाभित्रै ५१ वटै स्थानमा चार्जिङ स्टेसन जोडिसक्ने प्राधिरकणको लक्ष्य छ ।

प्राधिरकणले देशभरका राजमार्ग र मुख्य शहरका बसपार्क, सार्वजनिक जग्गा लगायतका स्थानमा चार्जिङ स्टेसन जडान गर्न लागेको हो । प्राधिरकणले बिर्तामोड, दमक, विराटनगर, इटहरी, बेलाका, सुनसरी बसपार्क, लाहान, बर्दिबास र सिन्धुलीमाडीमा चार्जिङ स्टेसन स्थापना गर्दैछ । खुर्कोट, बनेपा, पथलैया, हेटौंडा, चितवन, मुग्लिन, धार्के, पोखरा, बर्दघाट, बुटवाल, भैरहवा, चन्द्रौटा, लमही, कोहलपुर, लम्की, अत्तरीया, महेन्द्रनगर र सुर्खेतमा चार्जिङ स्टेसन राखिंदैछ । काठमाडौंको साझा पुल्चोक, साझा बल्खु, विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय, हल्चोक र त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चार्जिङ स्टेसन जोडिंदैछ ।

करिब ३७ करोड लागतका चार्जिङ स्टेसन जोड्न लागिएको हो । चीनको वाङडेङ डिजिटल इनर्जीले ठेक्का पाएको यो आयोजनामार्फत थप १२ वटा चार्जिङ स्टेसन पनि जोडिने ज्ञवालीले जानकारी दिए । थप १२ चार्जिङ स्टेसन कहाँ रहने भन्ने टुंगो लाग्न बाँकी छ । यी चार्जिङ स्टेसन पनि जोडेपछि प्राधिरकणले ६३ स्थानमा चार्जिङ स्टेसन नेटवर्क निर्माण गर्नेछ ।

‘दशैंसम्म यी सबै स्टेसनहरु सञ्चालनमा आइसक्छन्,’ ज्ञवाली भन्छन्,‘५ वर्षसम्म ठेकदार कम्पनीले नै यी स्टेसनहरुको मर्मतसम्भार गर्छ, सञ्चालन र व्यवस्थापन हामी नै गर्छौं ।’

प्राधिकरणले बैंकिङ कार्ड र क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने व्यवस्था गर्दैछ । ‘चार्जिङ स्टेसनमा सवारी चार्ज गर्न प्रि–बुकिङ प्रणाली बनाएका छौं, मुग्लिनमा सवारी चार्ज गर्न चाहानेले काठमाडौंबाट सवारी लिएर हिँडेपछि समय बुक गर्न सक्छन्’ ज्ञावाली भन्छन्, ‘यसको सबै कन्ट्रोल काठमाडौंको कन्ट्रोल रुमबाटै हुन्छ ।’

स्रोत: https://www.onlinekhabar.com/2022/07/1153657

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More