भुक्तानी असन्तुलन बढ्यो, ६४ अर्ब ६८ करोड घाटा

May 19, 2019

पुष्प आचार्य, अन्नपूर्ण पोष्ट, जेठ ०५, २०७६ 

काठमाडौं : मुलुकमा भित्रिएको र बाहिरिएको रकमको अन्तर फराकिलो हुँदै गएको छ। मुलुकमा भित्रनेभन्दा बाहिर भुक्तानीतर्फ बढ्दो दायित्वले भुक्तानी असन्तुलन अत्याधिक बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको समष्टिगत आर्थिक तथा वित्तिय स्थितिसम्बन्धी चालु आर्थिक वर्षको पहिलो ९ महिनाको प्रतिवेदन अनुसार, मुलुकमा भित्रिएको र भुक्तानी दिएको रकमको खाडल ६४ अर्ब ६८ करोड रूपैयाँ रहेको छ।

आयातको भुक्तानी, बाह्य देशको भ्रमणमा नेपालीले गर्ने खर्च उच्च हुनु, विदेशमा अध्ययनमा बाहिरिने रकमलगायत बाह्य क्षेत्रमा सिर्जित भुक्तानी दायित्वले मुलुकमा भित्रिएको र बाहिरिएको रकमको अन्तर फराकिलो बनेको छ। जसका कारण मुलुकको घाटा बढ्दै गएको छ।

विप्रेषण (रेमिट्यान्स), विदेशी सहयोगका विकास आयोजनामा प्राप्त हुने शोधभर्ना, निर्यात आय, पर्यटकबाट हुने आम्दानी, विदेशी लगानी तथा पुँजीगत ट्रान्सफरबाट मुलुकले प्राप्त गर्ने सबै रकमको योगफलभन्दा मुलुकले भुक्तानी गरेको रकम झण्डै ६५ अर्ब रूपैयाँले बढी हुँदा यसले बाह्य क्षेत्रको स्थायित्वमा दबाब सिर्जना गरेको छ।

६ खर्ब ५३ अर्ब रूपैयाँ विप्रेषण

चालु आर्थिक वर्षको पहिलो नौ महिना (साउनदेखि चैत)सम्ममा ६ खर्ब ५३ अर्ब रूपैयाँ विप्रेषण प्राप्त भएको छ। जुन नेपाली रूपैयाँमा गत वर्षको सोही अवधिको तुलनामा झण्डै २१ प्रतिशतको वृद्धि हो। यद्यपि अमेरिकी डलरमा भने गत वर्षको तुलनामा विप्रेषण आप्रवाहको वृद्धिदर सामान्य घटेको छ। गत वर्ष सोही अवधिमा ९.६ प्रतिशतको विप्रेषणको वृद्धिदर रहेकोमा यस पटक ९.५ प्रतिशतको वृद्धिदर रहेको छ।

विदेशी मुद्रा सञ्चितिमा चाप

बाह्य क्षेत्रमा भुक्तानी दायित्व बढ्दै गएपछि विदेशी मुद्रामा चाप पर्न थालेको छ। चालु आर्थिक वर्षमा साउनयता विदेशी मुद्रा सञ्चिति ५.६ प्रतिशतले घटेर ९ अर्ब ५२ करोड अमेरिकी डलरमा सीमित छ। आर्थिक वर्ष सुरु हुँदा १० अर्ब ८ करोड अमेरिकी डलर सञ्चित थियो।

उपभोक्ता मूल्यवृद्धि ४.४ प्रतिशत
उपभोक्ता मूल्यवृद्धि भने ४.४ प्रतिशत रहेको छ। ९ महिनाको औसत मूल्यवृद्धि ४.२ प्रतिशत रहेको उल्लेख छ।

व्यापारघाटा उच्च
चालु आर्थिक वर्षको ९ महिनामा कुल १० खर्ब ६१ अर्ब रूपैयाँको आयात भएको छ। गत वर्षको तुलनामा आयात २१.३ प्रतिशतले बढेको हो। त्यस्तै, निर्यात भने गत वर्षको सोही अवधिको तुलनामा १६.९ प्रतिशतले वृद्धि भई ६९ अर्ब ८२ करोड रूपैयाँ पुगेको छ । यो अवधिमा मुलुकको व्यापारघाटा ९ खर्ब ९१ अर्ब रूपैयाँ रहेको छ।

स्रोत: http://annapurnapost.com/news/127715 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More