News

भूकम्पको क्षति : ९८% दाबी भुक्तानी

February 19, 2018

आर्थिक अभियान, फागुन ७, २०७४

काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति भएका भौतिक संरचना र सम्पत्तिको दाबी भुक्तानी रकममध्ये रू. ७ अर्ब ९२ करोड विदेशी पुनर्बीमा कम्पनीबाट प्राप्त भएको छ । बीमा समितिले प्रकाशन गरेको माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

भूकम्पपछि क्षतिपूर्तिको माग गर्दै विभिन्न १६ निर्जीवन बीमा कम्पनीमा रू. १६ अर्ब ६८ करोडबराबरको रकम दाबी परेको थियो । त्यसमध्ये माघ मसान्तसम्म रू. १३ अर्ब ७७ करोड दाबी भुक्तानी भइसकेको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार ८२ दशमलव ५६ प्रतिशत रकम दावी फछ्र्योट भइसकेको छ ।

भुक्तानी भएको दाबी रकममध्ये ५७ दशमलव ५३ प्रतिशत रकम विदेशी पुनर्बीमा कम्पनीबाट प्राप्त भएको बीमा समितिले बताएको छ । विकसित मुलुकमा विभिन्न प्राकृतिक प्रकोपको दाबी भुक्तानी गर्न १ दशकसम्म लाग्ने गरे पनि नेपालमा भने छिट्टै भएको समितिको भनाइ छ । समितिको तथ्याङ्कअनुसार सङ्ख्याका आधारमा ९८ दशमलव शून्य ५ प्रतिशत बीमितलाई दाबी भुक्तानी गरिसकिएको छ । भूकम्पपछि क्षतिपूर्तिको माग गर्दै १७ हजार ७ सय ९९ जनाले बीमा कम्पनीहरूमा दाबी पेश गरेका थिए । त्यसमध्ये १७ हजार ४ सय ५२ जना बीमितको दाबी फर्छ्योट भइसकेको छ ।

दाबी भुक्तानी प्रक्रियामा बीमित सम्पत्ति तथा संरचनाको क्षति, स्थलगत सर्वेक्षण र बीमा कम्पनीको तालमेल नमिलेकाले पछिल्लो समय भुक्तानी फर्छ्योटमा केही ढिलाइ भएको बीमा समितिका उपनिर्देशक धु्रव तिमल्सिनाले बताए । असोज मसान्तसम्म ९८ प्रतिशत बीमितले दाबी भुक्तानी पाएका थिए । पछिल्लो ४ महीनामा भने शून्य दशमलव ५ प्रतिशत मात्र थपिएका छन् ।

यस अवधिमा एभरेष्ट इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले परेको दाबीको शतप्रतिशत भुक्तानी गरेका छन् । करीब ९९ प्रतिशतभन्दा बढी सङ्ख्याको दाबी भुक्तानी गर्नेमा प्रभु, प्रुडेन्सियल, शिखर, सिद्धार्थ र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी रहेका छन् । त्यसबाहेकका कम्पनीले भने ९४ प्रतिशतभन्दा बढीको दाबी फर्छ्योट गरेका छन् । राष्ट्रिय बीमा कम्पनीले भने ८६ दशमलव ७ प्रतिशतको मात्र दाबी फछ्र्योट गरेको तथ्याङ्कमा उल्लेख छ ।

१६ कम्पनीमध्ये सबैभन्दा बढी दाबी रकम हिमालयन जनरल इन्स्योरेन्समा परेको थियो । तथ्याङ्कअनुसार सो कम्पनीमा रू. ४ अर्ब ८८ करोड ९४ लाखबराबरको दाबी परेको थियो । त्यसमध्ये रू. ३ अर्ब ८५ करोड ८९ लाखको दाबी फर्छ्योट भइसकेको छ । यस्तै सबैभन्दा कम दाबी रकम भने राष्ट्रिय बीमा कम्पनीमा परेको छ । सो कम्पनीमा रू. १२ करोड ६७ लाख ३० हजारको दाबी परेको थियो । त्यसमध्ये रू. ८ करोड १७ लाख दाबी फछ्र्योट भइसकेको छ । एनबी इन्स्योरेन्स कम्पनी भने भूकम्पपछि मात्र सञ्चालनमा आएकाले दाबी वहन गर्नु परेको छैन ।

बीमा कम्पनीहरूले आफूले रक्षावरण गरेको बीमाको सम्पूर्ण जोखीम आफैले वहन गर्न नसक्ने भएकाले उक्त जोखीम अर्काे कम्पनीलाई हस्तान्तरण गर्न पुनर्बीमा गर्ने गर्छन् । नेपालका बीमा कम्पनीहरूले १६ देशका ३४ ओटा कम्पनीमा पुनर्बीमा गर्दै आएका छन् । बीमा ऐन २०४९ अनुसार बीमा कम्पनीहरूले आफ्नो पूँजी संरचनाको अधिकतम ५ प्रतिशतसम्म मात्र रक्षावरण आफूले राखी बाँकी बीमाङ्कको पुनर्बीमा गर्नुपर्ने हुन्छ ।

स्रोत: www.abhiyan.com.np/2018/02/19/181418