सरिता श्रेष्ठ, नागरिक दैनिक, फाल्गुन २३, २०७४
धादिङ – गजुरी गाउँपालिका ६ का केदारनाथ अधिकारीले घर बनाउन पहिलो किस्ता बापतको ५० हजार लिइसकेका छन्। तर घर बनाउने कुनै सुरसारै छैन। ‘घर बनाउन लगेको पैसा अरु काममा खर्च भयो घर कसरी बनाउनु’ केदारनाथले भने, ‘पैसा नभएर घरको जग हाल्न सकेको छैन्।’ २०७२ सालमा गएको भूकम्पले उनको घर बस्न नहुने गरी भत्केको थियो। टहरामा बस्दै आइरहेका केदारनाथ दोस्रो किस्ता गुम्ने हो कि भन्ने डरमा छन्। ‘सरकारले दोस्रो किस्ता बापतको रकम लिने म्याद चैत मसान्तसम्म तोकेको छ आफूले भने घरको जग हाल्न समेत सकेको छैन’, केदारनाथले भने।
भूकम्पपछि अधिकांश परिवार चर्केकै घर मर्मत र टालटुल गरी बसेका छन्। घर पूरै भत्केकाहरु पनि टहरालाई टालटुल बनाउँदैमा पहिलो किस्ता बापतको रकम सकाएका छन्। पहिलो किस्ता मर्मतमै सकिएको भूकम्प पीडितहरु बताउँछन्। घर बनाउन सुरु गरेकाहरुले पनि जग हालेर त्यतिकै छोडेका छन्। घर नबनाएर सरकारले रकम फिर्ता माग्छन् कि भन्ने डर भूकम्प पीडितहरुमा छ। ‘रकम त लगे, घर बनाएन भने पैसा फिर्ता दिनुपर्छ रे’, केदारनाथले भने, ‘अब ऋण गरेर भएपनि घर बनाउन थाल्नुपर्ला।’ पहिलो किस्ता लिने धेरै भए पनि घर निर्माण कार्यले तीब्रता नपाउँदा दोस्रो र तेस्रो किस्ता पाउने थोरै छन्।
धादिङ जिल्लामा भूकम्पपछि पुनर्निर्माणका लागि ७३ हजार २ सय ७६ लाभग्राही सूचिमा परेका थिए। त्यसमध्ये ६८ हजार ८ सय ४० घरधुरीले अनुदान सम्झौता गरेका छन्। राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार पुनर्निर्माणका लागि सम्झौता गरेका मध्ये ६८ हजार १ सय ६४ जनाले पहिलो किस्ता बापतको रकम लगेका छन्। रकम लगेका केहीले घरको जग हालेर छाडेका छन् भने केहीले घर बनाउन समेत थालेका छैनन्। पहिलो किस्ता लिएर घर बनाउन थालेका मध्ये १८ हजार २ सय ६३ जनाले मात्र दोस्रो किस्ता बापतको रकम लगेका छन्। हाल ३१ हजार ६ सय ६६ घरको पुननिर्माण भइरहेको प्राधिकरणले जनाएको छ।
धादिङमा सरकारी अनुदान लिएर पनि घर नबनाउने धेरै छन्। भूकम्पले घर क्षतिग्रस्त भएपछि सरकारले रकम उपलब्ध गराएपनि भूकम्प प्रभावितले घर बनाउन सुरु गरेका छैनन्। घर बनाउनेको संख्या असाध्यै थोरै छ। घर निर्माण अघि बढाएर तेस्रो किस्ताको एक लाख रुपैयाँ लिनेको संख्या झनै कम छन्। पहिलो किस्ता लिएर घर बनाउन थालेका गजुरी गाउँपालिका १ बाँसखर्कका बीरबहादुर तामाङ दोस्रो किस्ताको रकमको पर्खाइमा छन्। अनुदान लिएको धेरैपछि बल्ल घरको जग हालियो बीरबहादुरले भने, ‘अब दोस्रो किस्ताका लागि निवेदन लिनु पर्ला।’ बाँसखर्कका अधिकांश भूकम्प पीडितहरुले घरको डिपीसी सकेर दोस्रो किस्ताका लागि निवेदन दिएका छन्। हिउँद लागेपछि बर्खा र बर्खामा हिउँदमा बनाउने भन्दै पीडितहरुले घर बनाउने भाका पछि सार्दै आइरहेका थिए।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले चैत मसान्तसम्मलाई दोस्रो किस्ता लिने मिति तोकेको छ। तर पहिलो किस्ताका लागि अनुदान सम्झौता गरेर पनि घर बनाउन थालेका छैनन्। सरकारले दिएको म्यादमा थौरै मात्र घर निर्माण हुँने देखिएको छ। विभिन्न समस्याका कारण लाभग्राहीले घर बनाउन सकेका छैनन्। म्याद सकिनै लाग्दा ढुवानी समस्या, निर्माण सामग्री र जनशक्ति अभावले पुनर्निर्माणमा कठिनाइ भएको भूकम्प पीडितहरु बताउँछन्। घर निर्माण सम्पन्न गरेपछि लाभग्राहीले थप एक लाख रुपैयाँ पाउने व्यवस्था छ। अनुदान लिएपछि घर बनाउने दायित्व व्यक्ति स्वंयको हुन्छ तर उनीहरुले नै जागरुकता कम देखाएको प्रष्ट देखिएको शहरी विकास तथा भवन डिभिजन कार्यालय धादिङका प्रमुख दिलीप भण्डारीले बताए।
स्रोत:www.nagariknews.com/news/39974/