भूकम्पपीडितले पाए नमुना घर

February 09, 2018

उपेन्द्र खनाल, नयाँ पत्रिका तनहुँ, २६ माघ 

भूकम्प गएको साढे दुई वर्षपछि बन्दीपुर गाउँपालिका–१ नयाँ बस्तीका भूकम्पपीडित १२ परिवारले नयाँ घर पाएका छन् ।

नेपाल सरकारले दिएको अनुदान रकम र जर्मन महिला महादेवी लिरलाको सहयोगमा निर्माण भएका नमुना घर बुधबार हस्तान्तरण गरिएको हो । नयाँबस्तीका दर्जनभन्दा बढी परिवार साढे दुई वर्षदेखि अस्थायी टहरा र त्रिपालमुनि बस्दै आएका थिए ।

भूकम्पपीडितका लागि बनाइएको नमुना घरको लागत एक लाख ५० हजार रहेको लिरलाले बताइन् । भूकम्पपीडितका लागि १२ वटा नमुना घर बनाएको उनको भनाइ छ । ‘घर मात्र होइन, घरका साथसाथै प्रत्येकको आँगनमा बगैँचासमेत निर्माण गरिदिएकी छु,’ उनले भनिन् ।

भूकम्पपीडितको दयनीय अवस्था देखेर लिरलाले घर बनाइदिएको सहजकर्ता दामोदर देवकोटाले जानकारी दिए । भूकम्पपीडितको घर निर्माणका लागि उनले १८ लाख रुपैयाँ खर्च गरेको बताइन् । नमुना घर निर्माणमा भूकम्पपीडितले श्रमदान गरेका थिए ।

‘लिरलाले पीडितका लागि आर्थिक सहयोग गर्नुभयो,’ भूकम्पपीडित अमिता परियारले भनिन्, ‘निर्माण सामग्रीमा उहाँले खर्च गर्नुभयो हामीले श्रमदान गर्‍यौँ ।’

घर नहुँदा दुई वर्षदेखि निकै कष्ट व्यहोर्नुपरेको स्थानीय बुद्धि परियारले बताइन् । ‘अहिले नयाँ घरमा बस्न पाउँदा खुुसी भएका छौँ,’ परियारले भनिन्, ‘घर निर्माण गरिदिने लिरलालाई भूकम्प पीडित परिवारले भगवान् मानेका छौँ ।’

विदेशी नागरिक महादेवी लिरलाले नमुना घर निर्माण गरिदिएपछि भूकम्पपीडितले नयाँबस्तीको नाम नै परिवर्तन गरी महादेवी प्रगतीटोल राखेका छन् ।

स्रोत: www.enayapatrika.com/2018/02/09/22366/

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More