भ्रष्टाचारको मुख्य जिम्मेवार राजनीतिक दलहरू

November 29, 2018

सुरेन्द्र काफ्ले, अन्नपुर्ण पोस्ट,  १३ मङि्सर २०७५ 

सबैभन्दा बढी घुस लेनदेन मालपोत, नापी र भूमिसुधारमा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुख्य कारक राजनीतिक दल भएको निष्कर्ष निकालेको छ। सरकारी कार्यालयमा हुने अनियमितता, भ्रष्टाचार र घुस लेनदेनको मुख्य जिम्मेवार पक्ष दल र तिनका कार्यकर्ता भएको आयोगको अध्ययनमा पाइएको छ।

अध्ययन अनुसार भ्रष्टाचारका घटनामध्ये २५.५ प्रतिशतमा राजनीतिक दल र कार्यकर्ता जिम्मेवार छन्। १७.२ प्रतिशत भ्रष्टाचारमा भने मध्यस्थकर्ता, ठेकेदार र प्राविधिक जिम्मेवार छन्। त्यस्तै सबैभन्दा बढी भ्रष्टाचार हुने कार्यालय मालपोत, भूमिसुधार तथा नापी हुन्। यिनलाई अख्तियारले भ्रष्टाचारका लागि संवेदनशील कार्यालय भनेको छ। यी कार्यालयमा हुने काममध्ये ६५.५ प्रतिशतमा भ्रष्टाचार हुने पाइएको छ। सबैभन्दा बढी प्रदेश ५ का नापी, भूमिसुधार र मालपोतमा भ्रष्टाचार हुने देखिएको छ।

यी कार्यालयमा प्रदेश १ मा ६७.४, प्रदेश २ मा ६९, प्रदेश ३ मा ५६.६, गण्डकी प्रदेशमा ६८.७, प्रदेश ५ मा ८५.१, कर्णाली प्रदेशमा ५२.० र सुदूरपश्चिममा ५४.४ प्रतिशत भ्रष्टाचार हुने गरेको अध्ययनमा उल्लेख छ। यसमध्ये पनि सबैभन्दा धेरै घरजग्गासम्बन्धी कारोबारमा भ्रष्टाचार हुने गरेको छ।

विकास निर्माणका काममध्ये ४४ प्रतिशतमा भ्रष्टाचार हुन्छ। निर्माण व्यावसायी संलग्न भई हुने विकास निर्माणमा धेरै भ्रष्टाचार हुने देखिएको छ। यसमा पनि प्रदेश ५ मै सबैभन्दा बढी भ्रष्टाचार हुन्छ। प्रदेश १ मा १९.४, प्रदेश २ मा १०.५, प्रदेश ३ मा ४०.४, गण्डकी प्रदेशमा ५१.३, प्रदेश ५ मा ६०.४, कर्णाली प्रदेशमा ३३ र सूदुरपश्चिममा २८ प्रतिशत विकास निर्माणमा भ्रष्टाचार हुने गरेको छ।

तेस्रो धेरै भ्रष्टाचार हुने कार्यालय यातायात व्यवस्था कार्यालय हो। सवारी साधान र चालक अनुमतिपत्रमा बढी भ्रष्टाचार हुने गरेको छ। यातायात कार्यालयमा ३७.७ प्रतिशत भ्रष्टाचार हुन्छ। प्रदेश १ को यातायात व्यवस्था कार्यालयमा १९.४ प्रतिशत भ्रष्टाचार हुने गरेको छ। त्यस्तै, प्रदेश २ मा १०.५, प्रदेश ३ मा ४०.४, गण्डकी प्रदेशमा ५१.३, प्रदेश ५ मा ६०.४, कर्णाली प्रदेशमा ३३, सुदूरपश्चिम प्रदेशमा २८ प्रतिशत भ्रष्टाचार भएको अख्तियारको प्रतिवेदनमा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयमा हुने काममध्ये २८.५ प्रतिशतमा भ्रष्टाचार हुने गरेको छ। नागरिकता, राहदानी बनाउनेदेखि न्यायिक कार्यमा समेत भ्रष्टाचार हुने गरेको छ। विभिन्न सिफारिसमा प्रशासन कार्यालयमा घुसको लेनदेन हुने गरेको छ। प्रशासनमा प्रदेश १ मा २.७, प्रदेश २ मा २२.८, प्रदेश ३ मा २०.२, गण्डकी प्रदेशमा ६२, प्रदेश ५ मा ६४.८, कर्णाली प्रदेशमा २.५ प्रतिशत र सुपमा ५.५ प्रतिशत भ्रष्टाचार हुने गरेको छ।

आन्तरिक राजस्व कार्यालयमा १७.१, साविकको जिल्ला शिक्षा कार्यालयमा १३.२, स्वास्थ्य कार्यालयमा ८.३ र परामर्श सेवामा २.१ प्रतिशत भ्रष्टाचार हुने गरेको छ। प्रतिवेदन अनुसार साविकको जिल्ला शिक्षा कार्यालयमा विद्यालय भवन निर्माण, शिक्षक नियुक्ति, सरुवा समेतमा भ्रष्टाचार हुने गरेको छ।

तीन महिनामा ४१ स्टिङ, ८५ मुद्धा

अख्तियारले पछिल्लो दिनमा स्टिङ अपरेसनलाई तीव्रता दिएको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ४१ वटा स्टिङ अपरेसन गरिएको छ। झुठा शैक्षिक योग्यता प्रयोग गरेर जागिर खाइरहेका ३० जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ। त्यस्तै, सरकारी रकम हिनामिना, अकूत सम्पत्ति र राजस्व हिनामिना १/१ र अन्य ७ वटा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका उपन्यायाधिवक्ता कोषहरि निरौला ८० हजार घुससहित पक्राउ परेका छन्। उच्च अदालत कास्कीका सहन्यायाधिक्ता सुरेन्द्रबहादुर थापालाई पाँच लाख घुससहित पक्राउ गरियो। प्रहरी महानगरीय वृत्त बौद्धका इन्चार्ज एवं डीएसपी श्यामकुमार राई पनि घुससहित पक्राउ परे। त्यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्टारद्वय धर्मराज रोकाय र गंगाधर पौडेलविरुद्ध मुद्दा दायर गरिएको छ।

अख्तियारले ८५ वटा मुद्दा विदेश अदालतमा दायर गरेको सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।

स्रोत: http://annapurnapost.com/news/113907

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More