भ्रुणहत्या दर बढ्दै

December 12, 2018

कृष्ण पोखरेल,अन्नपुर्ण, २६ मङ्सिर २०७५

तानसेन : पाल्पामा एक वर्षको अवधिमा २ हजारभन्दा बढी भ्रुणहत्या भएको छ। जिल्लामा गर्भपतन गर्ने सरकारी तथा गैरसरकारी संस्थाले निकालेको तथ्यांकले भ्रुणहत्याको अवस्था डरलाग्दो देखाएको छ। महिला तथा किशोरीहरूले अझैपनि अनिच्छित गर्भ गैरकानुनी रूपमा पतन गराउने गरेका छन्।

महिलामा नचाहेर गर्भ रहेमा मान्यताप्राप्त संस्थाबाट १२ हप्तासम्मको गर्भपतन गराउन पाउने अधिकार सरकारले दिएको छ। तर, यसको गलत प्रयोग गरिएको छ। स्थानीय तहका समेत सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क गर्भपतन सेवा सुरु भएपछि भ्रुणहत्या गर्नेको संख्यामा बढेको हो। जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाभित्र १६ वटा संस्थालाई गर्भपतनको मान्यता दिएको छ।

जिल्लाका स्वास्थ्य चौकीबाहेक जिल्ला अस्पताल, रामपुर अस्पताल, नेपाल परिवार नियोजन संघ, लुम्बिनी मेडिकल कलेजले सुरक्षित गर्भपतन सेवा दिँदै आएका छन्। केही निजी क्लिनिकले समेत अवैध गर्भपतनको औषधि महँगो मूल्यमा बिक्री गर्ने र लुकिछिपी गर्भपतन गराउने गरेको पाइएको छ।

२०७४/०७५ मा मात्र जिल्लाका सरकारी संस्थामार्फत नौ सय ८१ जनाले भ्रुणहत्या गराएका छन्। नेपाल परिवार नियोजन संघबाट ७ सय १८, लुम्बिनी मेडिकल कलेजबाट ५ सयभन्दा बढी भ्रुणहत्या भएको उक्त तथ्यांकमा उल्लेख छ। जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीमा ७३/७४ मा सात सय ४४ जनाले गर्भपतन गराएका थिए। सरकारले नौ हप्तासम्मको औषधिमार्फत, १२ हप्तासम्मको औजारमार्फत र विशेष परिस्थिति अर्थात् हाडनाता करणी, आमाको ज्यान खतरामा परेको अवस्थामा १८ हप्तासम्मको गर्भपतन गर्न पाउने अधिकार दिएको छ।

गर्भपतन गराउनेमा अधिकांश १८ देखि ४० वर्ष उमेर समूहका छन्। औषधि सेवनबाट गर्भपतन नभएका व्यक्ति परिवार नियोजनमा बढी आउने गरेको शाखा प्रबन्धक शोभाकान्त न्यौपानेले जनाए। संस्थाले मुख्य कार्यालय तानसेन र माथागढी गाउँपालिका ३ सराईबाट गर्भपतन सेवा प्रदान गर्दै आएको छ।

परिवार नियोजन संघले एक वर्षको अवधिमा १ सय २२ जनाले औषधि सेवनबाट, ५ सय ९६ जनाले औजार प्रयोगबाट गर्भपतन गराएको तथ्यांक निकालेको छ। जसमा २ सय ६३ जना २४ वर्षभन्दा कम उमेरका रहेका शाखा प्रबन्धक न्यौपानेले बताए। संस्थाले गर्भपतनभन्दा दम्पती तथा युवा युवतीलाई गर्भधारण रोक्ने अस्थायी साधन प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।

संस्थाले ३ हजार ६ सय ६० दम्पतीलाई गर्भधारण हुनबाट जोगाएको, १ लाख ५२ हजार ३ सय ८० जनामा प्रजनन स्वास्थ्य सेवा प्रदान गरेको दाबी गरेको छ। गर्भपतन सेवालाई परिवार नियोजनका साधनजस्तै मानेर भ्रुणहत्या गर्ने क्रम बढेकाले बुद्धिजीवीले चिन्ता व्यक्त गरेका छन्। दोस्रो गर्भावस्थामा लिंग पहिचान गर्न धेरै आउने गरेका क्लिनिक सञ्चालकले बताए।

गत आर्थिक वर्षमा जिल्ला स्वास्थ्य कार्यालयअन्तर्गत पाल्पा अस्पतालबाट दुई सय ९०, रामपुरबाट एक साय ६५, ताँहु प्राथमिक स्वास्थ्य केन्द्रबाट ६४, खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रबाट १, छहरा स्वास्थ्य चौकीबाट ७७, हुगी स्वास्थ्य चौकीबाट ४२, नायर स्वास्थ्य चौकीबाट २३, अर्गली स्वास्थ्य चौकीबाट २५, जनाले गर्भपतन गराएका छन्। त्यस्तै मदन पोखरा स्वास्थ्य चौकीबाट ५०, झडेवा स्वास्थ्य चौकीबाट ५९, गाँडाकोट स्वास्थ्य चौकीबाट ३४, पालुङ मैनादी स्वास्थ्य चौकीबाट ३९ जनाले भ्रुणहत्या गराएका कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए।

सोर्त:http://annapurnapost.com/news/114979

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More