मंगलबारसम्म १५ लाख बाहिरिए

September 27, 2017

शिव बोहोरा, कारोबार आर्थिक दैनिक, ११ आश्विन, २०७४

काठमाडौंः दसैं मनाउन राजधानीबाट मंगलबारसम्ममा १५ लाखभन्दा बढी यात्रु बाहिरिएका छन् । यति नै संख्यामा उपत्यकाबाहिरका सहरी क्षेत्रबाट ग्रामीण क्षेत्रतर्फ यात्रु बाहिरिएको अनुमान छ ।

यस वर्ष अघिल्ला वर्षहरूमा भन्दा केही कम बाहिरिएको अनुमान गरिए पनि सार्वजनिक सवारीमा भीड थामिनसक्नु छ । नियमित रुटका सार्वजनिक बसभन्दा रिजर्भ गरिएका सवारीको संख्या बढी रहेको ट्राफिक प्रहरीको अनुभव छ 

काठमाडौंमा रहेका विद्यार्थी तथा विभिन्न अधिकांश पेशाकर्मीहरू दसैं मनाउन आफ्नै घर जाने गरेका छन् । फूलपातीको अघिल्लो दिन र फूलपातीको दिन सबैभन्दा धेरै यात्रु काठमाडौंका विभिन्न नाकाबाट बाहिरिने ट्राफिक प्रहरीको अनुभव छ । दसैंमा गाउँ जानेहरूका लागि यातायातको साधन सहज हुँदै गएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए ।

“मंगलबारसम्म उपत्काका विभिन्न नाकाबाट १४/१५ लाखभन्दा बढी यात्रु बाहिरिएका छन्,” पाण्डेले भने, “अझै ५ देखि ७ लाख यात्रु बाहिरिने अनुमान छ ।” मध्यम तथा छोटो दूरीमा समस्या नभए पनि धनगढी, इलामलगायत दूरीमा केही समस्या देखिएको उनको भनाइ छ । “तर, एक÷दुई दिनयता यसमा पनि समस्या देखिएको छैन,” पाण्डेले भने, “केही व्यवसायीले टिकट नदिने तर बढी भाडा लिएर लैजाने गरेको पाइए पनि हाम्रो अनुगमनपछि अहिले त्यो समस्या समाधान भएको छ ।” 

दसैंमा घर जाने यात्रुका लागि यातायात व्यवसायीले सक्दो प्रयास गरिरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । “मंगलबारसम्म उपत्यकाबाट १४÷१५ लाख यात्रु बाहिरिएका छन्,” उनले भने, “यो क्रम अष्टमीको दिनसम्म जारी रहन्छ ।” लामो दूरीमा जाने धेरै यात्रु गइसकेको र छोटो दुरीमा जानेहरू फूलपातीको दिन जाने भएकाले यसमा समस्या देखिएको उनले बताए ।

महासंघले सवारीसाधनलाई अस्थायी रुट पर्मिट दिने व्यवस्था गर्न सरकारसंग माग गरिएअनुरूप मन्त्रीको निर्देशनमा यातायात व्यवस्था विभागले निर्णय गरेको छ । “व्यवसायीहरूले लामो दूरी तथा काठमाडौंमै रहेका बसहरू आवश्यकताअनुसार विभिन्न रुटमा लैजान सबै सवारीमा लागू हुनेगरी अस्थायी रुट जारी गर्न माग गरेको थियो,” उनले भने, “मंगलबार मन्त्रीको निर्देशनमा विभागले सबै सवारीलाई जहाँसुकै जान पटके रुट पर्मिट नचाहिने भएको हो ।”

सार्वजनिक सवारीसँगै दसैं मनाउन निजी सवारीमा समेत ठूलो संख्यामा बाहिरिने गरेका छन् । अनुगमनका लागि विभागले ६ वटा टोली खटाएको छ । यो टोली दसैंभर अनुगमनमा रहने प्रवक्ता पाण्डेले बताए । काठमाडौं उपत्यकाबाट दसैं मान्न सार्वजनिक यातायातको प्रयोग गरी करिब २० देखि २५ लाख यात्रु बाहिरिने अनुमान छ ।

बाटोको समस्या समाधान गर्ने, टिकट बुकिङ गर्ने कर्मचारीले अनिवार्य परिचयपत्र लगाउने, ट्राफिक प्रहरीको चेकजाँचलाई कडाइ गर्नेजस्ता काम गरिएको छ । व्यवसायी, सरकारी टोली, उपभोक्ता अधिकारकर्मीको टोलीले यसमा अनुगमन गरिरहेको छ । 

११ देखि १९ गतेसम्म रुट पर्मिट नचाहिने 

यात्रुलाई गन्तव्यमा पु¥याउन सहज होस भन्दै यातायात व्यवसायीले दसैंको समयमा रुट पर्मिट निलम्बन गर्न माग गरेअनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरको निर्देशनमा विभागले रुट पर्मिट लागू नहुने निर्णय गरेको हो ।

विभागका निमित्त महानिर्देशक प्रेम सिंहले असोज ११ गतेदेखि १९ गतेसम्म रुट पर्मिट निलम्बन हुने जनकारी दिए ।  यो निर्णयले जुनसुकै रुटका यात्रुबाहक सवारी सबै रुटमा विना कुनै रोकतोक चलाउन पाइन्छ । यात्रु कम भएको रुटबाट यात्रु धेरै भएको रुटमा बसहरू लैजान सकिने विभागको भनाइ छ । 

स्रोत: 

https://www.karobardaily.com/news/82614

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More