मतदाता शिक्षा सुरु नहुँदा मतदाता अन्योलमा

November 09, 2017

बन्दना बम, अन्नपुर्ण पोस्ट, २३ कार्तिक २०७४ 

डडेल्धुरा : ६३ वर्षकी सावित्री मल्ललाई मतपत्र कस्तो छ र त्यहाँ कसरी भोट हाल्ने थाहा छैन। 'कोही सिकाउन पनि आएको छैन', उनी भन्छिन्। प्रतिनिधि सभा र प्रदेश सभा चुनाव नजिकिई सक्दा पनि मतदाता शिक्षा सुरु नभएपछि सावित्रीजस्ता कयौँ मतदाता अन्यौलमा छन्।

मतदाता भागरथी पन्त, ३३, अधिकांश मतदाता निरक्षर भएकाले पनि मत बदर हुने सम्भावना देखाउँछन्। 'मतपत्रको नमूना समेत हामीले देखेका छैनौँ, कसरी भोट हाल्ने?', उनी प्रश्न गर्छन्, 'हामी पढेलेखेका समेत अन्यौलमा छौँ, मतपत्रको नमूना सहित चाँडो मतदाताको घरदैलो आउनुपर्‍यो।'  

स्थानीय तह निर्वाचनमा कूल ५४ हजार ३९४ मत खसेको यियो। करिब तीन महिनासम्म मतदाता शिक्षा अभियान चलाउँदा पनि चार हजार ३५६ मत बदर भएको थियो।

यसपटक तीनवटा मतपत्र भएकाले मतदाता झन् अलमलिएर मत बदर हुने सम्भावना रहेको अधिवक्ता हरि भट्ट बताउँछन्। उनका अनुसार मतदाताहरू मत दिन उत्सुक भए पनि मतदाता शिक्षामा ढिलाई भएका कारण थप मतदाता स्वयं सेवक खटाउनुपर्छ।

तयारी नपुगेका कारण मतदाता शिक्षा सुरु गर्न नसकिएको दावी जिल्ला निर्वाचन कार्यालयले गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभाका लागि पहिले दुई वटा मतपत्र हुने जानकारी आए पनि पछि तीनवटा मतपत्र हुने जानकारी आएकाले मतदाता शिक्षामा ढिलाई भएको निर्वाचन कार्यालय डडेल्धुराका सूचना अधिकृत दिलिप तामाङले जानकारी दिए।

मतपत्रको नमूना सबै मतदाताको घरदैलोमा पुर्‍याउन निर्वाचन कार्यालयले मात्र नसक्ने भएकोले मतदाता शिक्षाको काम राजनीतिक दलको दायित्वभित्र पनि पर्ने बताउँछन्, प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार कर्ण मल्ल। सबै दलले आफ्ना कार्यकर्तालाई मतदाता शिक्षामा खटाउन सके बदर मत घटाउन सकिने उनको बुझाई छ।

प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता खगराज भट्ट मुख्य प्रतिस्पर्धी छन्। यी बाहेक राजमोका लालबहादुर जाग्री, नेपाल दलित पार्टीका रामेश टमाटा, राष्ट्रिय मुक्ति आन्दोलनका लक्ष्मीदत्त भट्ट र स्वतन्त्र उम्मेदवार कर्णसिंह रावर उम्मेदवार छन्। उता प्रदेश सभामा दुई क्षेत्रका लागि चार/चार उम्मेदवार मैदानमा छन्।

जिल्लामा ११७ मतदान केन्द्र छन्। एक मतदान केन्द्रमा एकजना पर्ने गरी मतदाता शिक्षा स्वयंसेवकहरू छनोट गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कात्तिक २५ र २६ गते स्वयंसेवकहरूलाई मतदाता शिक्षा सम्बन्धी अभिमुखीकरण तालिम दिने कार्यालयका प्रमुख कृष्णसिंह नायकले जानकारी दिए।

स्रोत: http://annapurnapost.com/news-details/83692

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More