मदन भण्डारी लोकमार्गको काम धमाधम

September 16, 2019

महेश्वर चाम्लिङ राई, नागरिक, भाद्र ३०, २०७६

उदयपुर – राष्ट्रिय गौरवको निर्माणाधीन आयोजना ‘मदन भण्डारी लोकमार्ग’अन्तर्गत उदयपुर खण्डको सदरमुकाम गाईघाट बजारक्षेत्रमा मेडिएन (सडक बीचमा फुलबारी र सोलार पोल) सहित १४ मिटर कालोपत्रे हुने भएको छ।

अहिलेसम्म झण्डै एक तिहाइ कालोपत्रे भइसकेको लोकमार्गको गाईघाट बजार क्षेत्र बरुवा खोलादेखि त्रियुगा आँखा अस्पतालसम्मको १.५ किलोमिटर खण्डमा मेडिएन र दायाँबायाँ सात–सात मिटर चौडाइको कालोपत्रे गर्नेगरी काम सुरु भएको हो।

लोकमार्गको गाईघाट पूर्व र पश्चिम दुवैतर्फ ३५ किलोमिटर सडक भने गत असारभित्रै कालोपत्रे भइसकेको छ। तर, बजारक्षेत्रमा सडक फराकिलो गर्ने वा साविककै चौडाइ कायम गर्ने भन्ने विषयमा सुरुदेखि नै विवाद भएका कारण अहिलेसम्म कालोपत्रे हुन सकेको छैन। सडक विभागको नियमानुसार लोकमार्गको चौडाइ ६२ मिटर हुनुपर्ने, सहायक लोकमार्ग ३१ मिटर हुनुपर्ने हल्लासँगै बजारबासीले साविक चौडाइ कायम गर्न वा बजारक्षेत्रभन्दा बाहिरबाट ‘बाइपास’ गरेर सडक लान माग गरेका थिए।

चौडाइको विषयले चर्चा पाएपछि साविक ‘पूर्व–पश्चिम वैकल्पिक लोकमार्ग’को काम सुरु भएदेखि नै खासगरी सडक छेउका पुराना घरधनीले कि बाइपास गर्नुपर्ने कि साविक चौडाइमै कालोपत्रे गर्नुपर्ने माग राख्दै अदालतमा उजुरी पनि दिएका थिए। नगरपालिकाले कायम गरेको चौडाइ २५ मिटरभन्दा बढी हुन नहुने कि बाइपास गरेर लैजानुपर्ने अडान लिएपछि बजार क्षेत्रमा कालोपत्रे गर्ने काममा विषयान्तर भएको थियो।

सडक निर्माणको जिम्मा लिएको जेडआइइसी/शर्मा/लामा जेबीले स्थानीयको विवादकै कारण गाईघाट बजारभन्दा सून्य किलोमिटरदेखि पश्चिम १८ किलोमिटर चिसापानीसम्म सुरुमा कालोपत्रे ग-यो भने पूर्वमा बरुवा खोलादेखि इक्राहासम्म १७ किलोमिटर सडकमा गत असारभित्रै कालोपत्रे गरिसकेको छ। सर्वोच्चसम्म मुद्धा दिएपछि बजार क्षेत्रमा १४ मिटर कालोपत्रे र दुई–दुई मिटर दायाँबायाँ नालासम्म गरी १८ मिटर तथा अन्य क्षेत्रमा ११ मिटर कालोपत्रे गर्ने सहमति भएअनुसार लोकमार्गको कामले गति लिएको हो। डेढ वर्षदेखि निर्माणाधीन सडकको बजार क्षेत्रको कालोपत्रे दसैंलगत्तै सुरु हुने मदन भण्डारी लोकमार्ग आयोजना कार्यालय गाईघाटका डिभिजन इन्जिनियर (डिई) ललिजन खनालले बताए।

 

धरानदेखि चतारा हुँदै बसाहासम्म ४४ किलोमिटर खण्डमा दुई वर्षअघि नै कालोपत्रे भइसकेको लोकमार्गको बसाहा–गाईघाट–कटारी–सिन्धुली खण्डमा गत आर्थिक वर्ष कालोपत्रे सुरु भएको हो। अन्यभन्दा पहिले सदरमुकाममा कालोपत्रे गर्ने आयोजना कार्यालयको चाहना भए पनि चौडाइ विवादले बजार क्षेत्र छाडेर आसपासमा पहिले कालोपत्रे गरिएको डिई खनालले बताए।

उनका अनुसार वैकल्पिक लोकमार्गको प्रारुप तयार भएदेखि नै चौडाइबारे सुरु भएको बहस अझै टुंगो नलागे पनि विभाग र मदन भण्डारी लोकमार्ग आयोजना निर्देशनालयले सम्बन्धित मन्त्रालय र स्थानीयसँगको समन्वयमा १४ मिटर कालोपत्रेसहित १८ मिटरको सडक कायम गर्ने निर्र्णय भइसकेको छ। धरानदेखि चतारा हुँदै बसाहासम्म ४४ किलोमिटर खण्डमा दुई वर्षअघि नै कालोपत्रे भइसकेको लोकमार्गको बसाहा–गाईघाट–कटारी–सिन्धुली खण्डमा गत आर्थिक वर्ष कालोपत्रे सुरु भएको हो। अन्यभन्दा पहिले सदरमुकाममा कालोपत्रे गर्ने आयोजना कार्यालयको चाहना भए पनि चौडाइ विवादले बजार क्षेत्र छाडेर आसपासमा पहिले कालोपत्रे गरिएको डिई खनालले बताए।

‘पहिले सदरमुकाममै कालोपत्रे गर्नुपर्ने हो, गर्ने भनेकै पनि हो,’ डिई खनालले भने ‘तर, बजारमा कसैले २५ मिटर, कसैले २० मिटर भन्न थाले, कोही बाइपास गर्नुपर्छ भन्ने निस्केर अदालत गुहार्न पुगेकाले बजारलाई छाडेर पहिले पूर्व–पश्चिमतर्फको खण्डमा कालोपत्रे गरिएको हो।’ खनालले गत वर्ष उदयपुर खण्डको ५० किलोमिटरमा कालोपत्रे गर्ने निर्माण कम्पनीको योजना भए पनि प्राविधिक कारणले ३५ किलोमिटर मात्र सम्भव भएको बताए। उदयपुर ‘राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम’ लागू भएको जिल्ला भएकाले असार १ देखि बालुवा, गिटी र ढुंगा निकाल्न नपाइने भएकाले पनि कालोपत्रे गर्ने काममा बाधा परेको खनालले बताए।

लोकमार्गको गाईघाटपूर्व १७ किलोमिटर र पश्चिम १८ किलोमिटर कालोपत्रे सकिएको छ भने बजारक्षेत्रको डेढ किलोमिटर कालोपत्रे दसैं सकिएलगत्तै गर्नेगरी तयारी भइहेको ठेकेदार कम्पनी जेडआइइसी/शर्मा/लामा जेवीका प्रतिनिधि सीताराम दाहालले बताए। उनका अनुसार दसैंअघि नै गर्ने भनिएकामा असारदेखि भदौसम्म बालुवा, गिटी निकाल्न नपाइने तथा बेलाकुबेला वर्षा भइरहेकाले दसैंलगत्तै गर्ने तयारी भइरहेको छ। उनले सडकको चौडाइ कालोपत्रे विषयमा आयोजना कार्यालय र निर्देशनालय तथा विभागले भनेजस्तै गरी निर्माण कम्पनीले काम गरिदिने बताए। 

४३ वटा पक्की पुल/कल्भर्टसहित धरान–चतारा–हेटौंडा औद्योगिक क्षेत्रसम्म तीन सय १० किलोमिटर लामो तत्कालीन वैकल्पिक (हाल मदन भण्डारी) लोकमार्गको काम ६ अर्ब रुपैयाँ लागतमा तीन वर्षभित्र सक्ने गरी गत ०७४ कात्तिकमा सम्झौता भएको मदन भण्डारी लोकमार्ग निर्देशनालय ललितपुरका प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर (सुई) उमेशविन्दु श्रेष्ठले बताए। सुई श्रेष्ठका अनुसार सडक, नाला र कालोपत्रेको काम चार अर्ब ५० करोड लागतमा जेडआइइसी/शर्मा/लामा जेबीले जिम्मा लिएको छ भने पुलको जिम्मा एक अर्ब ५० करोड लागतमा निर्माण गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रालिले लिएको छ।

हालसम्म सडकतर्फ ५५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने पुलतर्फ ६५ प्रतिशत काम भइसकेको छ। तर, काम गर्दागर्दै थप १२ वटा पक्की पुल निर्माण गर्नुपर्ने देखिएपछि लोकमार्गको उदयपुर खण्डमा चार र अन्य क्षेत्रमा सात पुल थप बनाउनुपर्ने देखिएको छ। थप पुल निर्माण गर्ने गरी निर्देशनालयले प्राविधिक खटाएर विस्तृत लागत स्टिमेट तयार गर्ने काम भइरहेको र चालु वर्ष नै ती पुल निर्माण प्रक्रिया अघि बढ्ने पनि सुई श्रेष्ठले बताए।

श्रोतः https://nagariknews.nagariknetwork.com/news/92006/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More