मध्यपुर थिमीको राजस्व उच्च वृद्धि

September 08, 2017

ईश्वरकाजी खाईजु, २३ भाद्र २०७४ 

मध्यपुर थिमी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि राजस्व संकलन १९१.१७ प्रतिशत वृद्धि भएको छ । यसलाई नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले आफ्नो सय दिनको महँवपूर्ण उपलब्धि भएको दाबी गरेका छन् ।

जनप्रतिनिधिले काम सम्हालेको सय दिन पूरा भएको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मध्यपुर थिमी नपाका प्रमुख मदनसुन्दर श्रेष्ठले यस्तो दाबी गरेका हुन् ।

‘नगरपालिकामा हामीले नेतृत्व लिएपछि राजस्व संकलन लक्ष्य गरेको भन्दा १९१.१७ प्रतिशतले वृद्धि भएको छ', प्रमुख श्रेष्ठले भने । उनका अनुसार नपाले ६ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन हुने लक्ष्य लिएकोमा १२ करोड ९४ लाख ६० हजार रुपैयाँ संकलन भएको छ । राजस्व संकलनको लागि अनलाइन बिलिंग कम्प्युटर सफ्टवेर प्रयोगमा ल्याइएको प्रमुख श्रेष्ठ बताउँछन् ।

‘अब नगरवासीले जुनसुकै वडा कार्यालयबाट पनि आफ्नो कर एवं राजस्व दाखिला गर्न सक्छन्', उनले भने, ‘नपा परिसरभित्रै राजस्व संकलनका लागि बैंक काउन्टर स्थापना अघि बढाइएको छ ।' जनप्रतिनिधि आएपछि नगरवासीलाई पर्याप्त खानेपानी वितरण हुन नसके पनि खानेपानी वितरण कार्यतालिका नगरवासीलाई उपलब्ध गराउनु पनि उपलब्धि भएको उनको भनाइ थियो ।

‘विगत लामो समयदेखि रोकिएका नाचगान तथा जात्राहरु हाम्रै पहलमा यसवर्षदेखि सुरु भएका छन्', प्रमुख श्रेष्ठले भने, ‘जनप्रतिनिधिकै अगुवाइमा ११ वर्षसम्म नभएको मध्यपुर थिमीको जिब्रो छेड्ने जात्रा, २५ वर्षसम्म रोकिएको वाननीको महाकाली नाच, १९ वर्षसम्म रोकिएको सलाँचा नाच सञ्चालनमा आएको छ ।'
प्रमुख श्रेष्ठले संस्कृति संरक्षण तथा सम्बद्र्धन आफूहरूको एक सय दिनेको दोस्रो महँवपूर्ण उपलब्धि भएको दाबी गरे । उनले अशक्त ज्येष्ठ नागरिकहरुलाई घरघरसम्म पुगेर सामाजिक सुरक्षा भत्ता पुर्‍याउने, नगरको सफाइमा नीतिगत व्यवस्था गरी स्रोतबाटै फोहरमैलाको व्यवस्थापन सुरु हुनु र विकास निर्माण स्थानीयले गर्नुपर्ने २० प्रतिशत रकमको ठाउँमा श्रमदानको व्यवस्था पनि जनप्रतिनिधिको एकसय दिन पूरा भएको महँवपूर्ण उपलब्धि भएको सुनाए ।

मध्यपुर थिमी नपाको पहिलो नगर सभाले ७३ करोड ९८ लाख ८९ हजार रुपैयाँको नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको थियो । उक्त नीति तथा कार्यक्रम र बजेटअनुसार नपाका नौवटा वडालाई एक करोड ४० लाख रुपैयाँ उपलब्ध गराइएको नपाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले बताइन् ।
उनका अनुसार स्वीकृत नीति तथा कार्यक्रम र बजेटअनुसार नगरभित्र भौतिक पूर्वाधार विकास लागि ३० करोड २५ लाखबाट वडा तहमा दुई सय ९०, नगरस्तरीय ठूला पूर्वाधार विकासका ४४ वटा, सडक बोर्डअन्तर्गत १६ वटा र आकस्मिक योजना ५० गरी कुल चार सय योजना स्वीकृत भएका छन् ।

स्रोत: 

http://annapurnapost.com/news-details/79696

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More