आश गुरुङ, कान्तिपुर, फाल्गुन ११, २०७४
काठमाडौँ — लमजुङ– मुलुककै ठूलोमध्येको ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन एक साताका लागि बन्द भएको छ।
मध्यमस्र्याङ्दी जलविद्युत् परियोजनाको लमजुङको बेंसीसहर नगरपालिका ११ चितीतर्फ बायाँ भागमा पुगेको क्षति।
आयोजना मर्मतका लागि बिहीबार राति १० बजेदेखि उत्पादन बन्द गरिएको हो। आयोजनाको २ नम्बर युनिट मर्मत थालिएको पाँच दिनपछि उत्पादन पूरै बन्द गरेर काम गर्नुपर्ने भएकाले यस्तो गरिएको आयोजना प्रमुख पशुपतिराज गौतमले बताए।
‘आइतबारदेखि युनिट २ सट–डाउन गरी ओभरहोलिङ (बृहत् मर्मत) थालिएको हो,’ उनले भने, ‘हाम्रा ३५/३५ मेगावाटका दुईवटा टर्बाइन छन्, बाँधको लेफ्ट ब्याक (बायाँतर्फ) को क्षेत्रमा भूक्षय रोक्ने संरचना पनि मर्मतका लागि उत्पादन पूरै बन्द नगरी नहुने अवस्था भएकाले बन्द गरेका हौं।’ फागुन १७ बाट पुन: उत्पादन थालिने उनले बताए।
२ नम्बर युनिट मर्मत थालिँदा १ बाट उत्पादन जारी थियो। अब दुवै युनिटबन्द गरेसँगै मर्मतका काम धमाधम थालिएको उनले बताए। १ नम्बर युनिटको मर्मत सम्भार गत वर्ष गरिएको थियो।युनिट २ को मर्मत कार्य पूर्णरूपमा सक्न फागुन २३ सम्म लाग्ने उनले बताए। उनका अनुसार फागुन २४ बाट आयोजनाका दुवै टर्वाइन चलाइनेछ।
मध्यमस्र्याङ्दी जलविद्युत् परियोजनाको बाँधक्षेत्रको बायाँतर्फ आएको समस्या समाधान गर्न २०७२ चैतमै टेन्डरआह्वान गरी ठेक्का सम्झौता गरिएको थियो। प्रमुख गौतमका अनुसार आयोजनाको बाँधको बायाँतर्फको भागमा पानीले हिर्काएर खोतलेपछि यसअघि निर्माण तथा मर्मत गरिएको संरचनामा क्षति पुगेको छ। थप क्षति हुन नदिन मर्मत गर्न लागिएको उनले बताए। ‘२ वर्षअघि नै मर्मत गर्नुपर्ने हो। विद्युत् व्यवस्थापनमा समस्या हुने भएकाले मर्मत हुन सकेन,’ उनले भने, ‘पोहोर कालीगण्डकीको मर्मत नगरी नहुने भएकाले हामीले पालो पाएनौं, यो वर्ष पनि हामीले नगरे क्षति बढ्ने भएकाले मर्मत थाल्यौं।’
मर्मतका लागि हेटौंडाको जिटेक कन्ट्रक्सन एन्ड इन्जिनियरिङसँग २ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ। युनिट २ टर्बाइनको बृहत् मर्मत सम्भारका लागि मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रका इन्जिनियर तथा प्राविधिकसँगै मस्र्याङ्दी जलविद्युत् केन्द्र तनहुँका पाँचजना प्राविधिक पनि खटिनेछन्। २४ घण्टै तीन सिफ्टमा कार्यविभाजन गरी मर्मत गरिने उनले बताए।
आयोजनामा जहिल्यै समस्या
बाँध क्षेत्रमा अत्यधिक बालुवा जम्ने समस्याले हरेक वर्ष मध्यमस्र्याङ्दीले समस्या खेप्नुपरेको छ। फ्लसिङ (ड्यामको गेट खोलेर बालुवा बगाउने कार्य) गर्दा पनि पूर्ण रूपमा नजाने समस्या छ। २०७१ मा गरेको फ्लसिङ गर्दा लेफ्ट ब्याक (बायाँ क्षेत्र) को भित्तामा पानीले खोतलेर क्षति पुगेको भेटिएको थियो। ५/५ वर्षमा मर्मत गरिने भनिए पनि निर्माणको चरणमा ‘मोडलिङ’ राम्रोसँग नहुँदा २/२ वर्षमा आयोजनाको मर्मत हुँदैआएको छ। जलविद्युत् केन्द्रले परियोजनामा पुगेको क्षति र तत्काल मर्मत गर्नुपर्ने भित्री संरचनाको गोताखोरको माध्यमबाट पनि पहिचान गरेको थियो।
परियोजनाको ड्यामबाट पानी लिक हुने (चुहिने), प्लास्टरका माथिल्ला लेयरहरू गएको, छडहरू देखिने, ढुंगाहरूको थुप्रिने समस्या बर्सेनि देखिँदै आएको प्राविधिकहरू बताउँछन्। विद्युत्गृहको टर्बाइनमा
बालुवाको कणले समस्या बढाएको छ। ‘मोडलिङ’ राम्रो हुन नसकेका कारणहरेक वर्ष लेफ्ट ब्याक (बायाँ भाग) मा समस्या आउने गरेको प्राविधिकहरूले बताएका छन्।
स्रोत: www.kantipurdaily.com/news/2018/02/23/20180223072731.html