मनाङमा १० करोडको स्याउ

January 21, 2019

नवीनराज कुइँकेल, अन्नपूर्ण पोष्ट, ०७ माघ २०७५ 

बेसीसहर : हिमाली जिल्ला मनाङमा यो वर्ष १० करोड मूल्य बराबरको स्याउ उत्पादन भएको छ । जिल्लाको ९८ हेक्टर जमिनमा लगाइएका स्याउका बोटबाट नौ सय ९० मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) मनाङका अनुसार जिल्लाका दुई सय सात हेक्टर क्षेत्रफलमा स्याउ खेती गरि“दै आएको छ । जसमध्ये ९८ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउले उत्पादन दिएको छ । मनाङको प्रमुख नगदेबालीका रूपमा लिइएको स्याउ सदरमुकाम चामेसँगै ताचै, पिसाङ, भारताङ, थान्चोक, दानाक्यु, तिल्चे, हुम्डे, मनाङ लगायतका दर्जनौं स्थानमा ठूलो परिमाणमा स्याउ उत्पादन हुँदै आएको छ ।

अघिल्लो वर्ष मनाङमा ८९ हेक्टर क्षेत्रफलमा नौ सय १० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । आव ०७३/७४ मा ८७ हेक्टर क्षेत्रफलमा आठ सय २५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने आव २०७२/७३ मा ७८ हेक्टर क्षेत्रफलमा ६ सय ६५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । उत्पादित स्याउ दुई सय ९० मेट्रिक टन जिल्लामा नै खपत हुन्छ भने बाँकी सात सय मेट्रिक टन जिल्ला बाहिर निर्यात हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) मनाङका प्रमुख राजेश्वर सिलवालले बताए । उनका अनुसार मनाङका बासिन्दाले आफ्ना बारीमा उत्पादित स्याउलाई सुकुटी र घरेलु मदिरा बनाएर समेत बिक्री गर्ने गरेका छन् ।

मनाङका गाउँगाउँसम्म सडक पुगेपछि उत्पादित स्याउ निर्यातमा सजिलो भएको छ । यसअघि सडक नजोडिँदा उत्पादित स्याउ बजार पुर्‍याउन कठिन हुने र खेतमै कुहिने हुन्थ्यो । यहाँ गोल्डेन डेलिसियस, गाला, फुजी र रेड तथा रोयल डेलिसियस जातका स्याउ खेती हुने गरेको छ । मनाङमा उत्पादित स्याउ सामान्यतया प्रतिकिलो एक सय देखि एक सय ८० रुपैयाँसम्ममा बिक्री हुने गरेको किसानले बताएका छन् । इकाइले यस वर्ष थप स्याउ खेती बिस्तार गर्ने कार्यक्रम बनाएको छ । वर्णशंकर प्रजातिको स्याउ बढाउन यो वर्ष २५ हजार बिरुवा अनुदानमा वितरण गर्न लागिएको जोनले जानकारी दिएको छ ।

सोर्त: http://annapurnapost.com/news/118249

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More