सुदिप कैनी, कान्तिपुर दैनिक, २४ श्रावण २०७४
मनासलु संरक्षित क्षेत्रमा गत आर्थिक वर्षमा हालसम्मै सबैभन्दा बढी पर्यटक घुम्न आएका छन् । आर्थिक वर्ष ०७३/७४ मा ५ हजार ७ सय ४५ विदेशी पर्यटकले मनासलु क्षेत्रको चुम र नुव्री भ्यालीको भ्रमण गरेका हुन् ।
मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार भूकम्पका कारण सन् २०१५ मा २ हजार ४ सय १९ जना पर्यटक घुम्न आएका थिए । भूकम्पले अवरुद्ध पदमार्गको मर्मत र सुधारसँगै पर्यटकको आवागमन शत प्रतिशतले वृद्धि भएको एमक्यापले जनाएको छ ।
सन् २०१६ मा ४ हजार ८ सय ७२ पर्यटकले मनासलु क्षेत्र भ्रमण गरे । ‘२०१७ को पर्यटक आउने सिजन अझै बाँकी छ, हालसम्मकै धेरै पर्यटक घुम्न आएका छन्,’ एमक्यापका प्रमुख नरेन्द्र लामाले भने । मनासलु संरक्षित क्षेत्र विदेशीहरूका लागि घुम्न खुला भएको १९ वर्ष भएको छ ।
सन् १९९८ बाट मनासलु क्षेत्र विदेशीका लागि घुम्नका लागि खुला गरिएको थियो । उक्त वर्ष ३ सय ४४ पर्यटक आएका थिए । भूकम्पपछि मनासलु पदमार्गको पूर्वाधार विकास गरिएको उनले बताए । डीएफआईडीको सहयोगमा बाटोको चौडाइ दुई मिटर बनाइएको एमक्यापले जनाएको छ । पदमार्ग मर्मत सुधार भएकै कारण पर्यटकहरूको संख्या बढ्न थालेको उनको भनाइ छ । पहिरोले बाटो बगाएको सिर्दिबास र चुम्चेतको सर्दी खोलामा क्यान्डिलिभर पुल निर्माण गरिएको छ । मुलुकमै पहिलोपटक नयाँ प्रविधिको पुल मनासलु पदमार्गमा बनेको हो । पर्यटकको संख्या बर्सेनि बढदै गए पनि भूकम्पलगत्तैको वर्षमा घटेको थियो । पदमार्गको पुनर्निर्माणपछि पर्यटकको आगमन दर निकै बढेको हो ।
एमक्यापले विदेशी पर्यटकलाई मात्रै भ्रमण अनुमति दिने गर्छ । अक्टोबर, नोभेम्बर, सेप्टेम्बर, अप्रिल र मे महिना यस क्षेत्र घुम्न उपयुक्त मौसम हुनाले विदेशीहरू मनासलु हिमाल आरोहण पनि गर्छन् । मनासलु सर्किटमा पर्यटकलाई लक्षित गरी सयको हाराहारीमा होटलहरू सञ्चालनमा छन् । मनासलु पदमार्ग हँुदै लापुभीरबाट सिर्दिबासतर्फ नेपाली सेनाले सडकको ट्याक खोल्ने काम गरिरहेको छ । सडक बनेपछि ट्रेकिङ गर्न आउने पर्यटकको आर्कषण घट्ने भन्दै संरक्षण क्षेत्र आयोजनाले वैकल्पिक पदमार्गको खोजी सुरु गरेको लामाले बताए । ‘बारपाक हँुदै रुबीनालाबाट सिर्दिबासको न्याक पुग्ने बाटोको अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘पर्यटक हिँड्ने पुरानो बाटो फराकिलो सडकमा रूपान्तर भएपछि हिँड्न मन पराउनेहरू घट्छन्,’ उनले वैकल्पिक रुट खोजिँदै गरेको जनाए ।
खुम्बुमा दोब्बर
ओखलढुंगा (कास)– अघिल्लो आर्थिक वर्षको तुलनामा सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटकको संख्या दोब्बर बढेको छ । अघिल्लो आव ०७२/७३ मा २६ हजार ८ सय १७ पर्यटक आएकामा गत आव ०७३/७४ मा ४५ हजार १ सय १२ आएका हुन् । यो संख्या तुलना गर्दा अघिल्लो वर्षको तुलनामा १८ हजार २ सय ९५ जनाले वृद्धि भएको हो ।
सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले संकलन गरेको तथ्यांकअनुसार गत कात्तिकमा सबैभन्दा बढी ९ हजार ६३ विदेशी पर्यटक भित्रिएका थिए । त्यसैगरी वैशाखमा मात्रै ७ हजार ९ सय ९३ पर्यटक भित्रिए । सबैभन्दा कम गत साउनमा ३ सय ७६ पर्यटक खुम्बु क्षेत्रमा आएका थिए । भूकम्पपछिको पुनर्निर्माण र दुई वर्षदेखिको सफल सगरमाथा आरोहणले गर्दा खुम्बुमा आउने पर्यटकको संख्या ह्वात्तै बढेको हो । लुक्ला विमानस्थलको मौसमले साथ दिने हो भने योभन्दा बढी पर्यटक भित्रिने अनुमानमा पर्यटन व्यवसायी छ । तर, मौसमका कारण लुक्लामा भएको विमान दुर्घटनाले पनि केही पर्यटक घटेको उनीहरूको भनाइ छ ।
स्रोत: http://kantipur.ekantipur.com/news/2017-08-08/20170808070216.html
तस्बिर स्रोत : https://nepalguidetrekking.com/trip/manaslu-trekking/