मनास्लुमा ७ हजार पर्यटक

January 15, 2019

शिव उप्रेती,अन्नपूर्ण पोष्ट, ३० पुष २०७५ 

गोरखा : लोकप्रिय बन्दै गएको गोरखाको मनास्लु क्षेत्रमा एक वर्षयता सात हजार ६ सय ४० जना विदेशी पर्यटकले भ्रमण गरेका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार सन् २०१८ मा अघिल्लो वर्षको तुलनामा भ्रमण गर्ने पर्यटकको संख्या १० प्रतिशतले वृद्धि भएको हो।

सन् २०१७ मा सो क्षेत्रमा ६ हजार नौ सय २८ जना विदेशी पर्यटक पुगेका थिए। एमक्यापको अभिलेख अनुसार सन् १९९३ देखि अहिलेसम्म मनास्लु क्षेत्रमा ५२ हजार पाँच सय ८९ जना विदेशी पर्यटकले भ्रमण गरेका छन्। मनास्लु क्षेत्रमा आउने पर्यटकमध्ये सबैभन्दा धेरै जर्मन, फ्रान्सका पर्यटक धेरै छन्। सार्क राष्ट्रका पर्यटक भने जम्मा ८६ जना पर्यटक मात्र सो क्षेत्रमा पुगेका छन्।

धेरै पर्यटकको घुइँचो नहुने भएकाले मनास्लु क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको एमक्यापको विश्लेषण छ। ‘अन्नपूर्ण, सोलखुम्बुतिरजस्तो पर्यटकको भीड मनास्लुमा हुँदैन, त्यसैले पर्यटकले मनास्लु रोज्ने गर्छन्’, एमक्यापका प्रमुख नरेन्द्र लामा भन्छन्, ‘मनास्लु क्षेत्रको पर्यटकीय महत्त्वका ठाउँबारे राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार हुँदै गएकाले पर्यटकको संख्या बढेको हो।’

मनास्लु क्षेत्रमा आउने पर्यटकले चुमभ्याली भ्रमण र लार्केपास गर्ने गरेका छन्। साथै ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि पनि आरोही आउने गरेका छन्। त्यस्तै ५ हजार २ सय १३ मिटर अग्लो लार्के भञ्ज्याङ पार गर्न पनि पर्यटक आकर्षित हुने लामाको भनाइ छ।

मनास्लु क्षेत्रको वीरेन्द्रताल, कल्छुमानताल, सयौं वर्ष प्राचीन श्रृङ्गीगुम्बा, पुङ्ेगन गुम्बा, राजेनगुम्बा, म्हुगुम्बा पर्यटकको रोजाइमा पर्ने गरेको छ। त्यस्तै बुद्धधर्म, तिब्बती संस्कार, संस्कृति, मौलिक भेषभूषा, रहनसहनमा पर्यटक रमाउने गरेका पर्यटन व्यवसायी बताउने गर्छन्।

गोरखाको आरुघाटबाट बुढीगण्डकीको किनारै किनार मनास्लु क्षेत्रसम्म पदमार्ग फैलिएको छ। कतिपय पर्यटक भने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत मनाङ हुँदै पनि आउने एमक्यापले जनाएको छ।

सोर्त: http://annapurnapost.com/news/117694

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More