मन्त्रीको आदेशमा टेलिभिजन कार्यक्रम बन्द

June 14, 2018

नागरिक न्युज, ३१ जेठ २०७५

विगत १२ वर्षदेखि सरकारी स्वामित्वको नेपाल टेलिभिजनबाट नियमित प्रसारण हुँदै आएको ‘सीधा कार्यक्रम’ सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको ठाडो आदेशबाट बन्द गरिएको छ ।

कार्यक्रम सञ्चालक राजु थापाले सूचना तथा सञ्चारमन्त्री बास्कोटाले ठाडो आदेश दिई कार्यक्रम बन्द गर्न लगाएको दाबी गरेका छन् । नेपाल टेलिभिजनले व्यवस्थापनले भने सो कार्यक्रम बन्द हुनुमा मन्त्रीको कुनै भूमिका नभएको प्रस्ट पारेको छ।

मन्त्रीको आदेशमा ‘सीधा कार्यक्रम’ बन्द गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले विरोध जनाएका छन् । उनीहरूले छुट्टाछुट्टै विज्ञप्तिमार्फत मन्त्रीको हस्तक्षेपको विरोध गरेका हुन् ।

कार्यक्रम सञ्चालकले कार्यक्रममा मन्त्री बास्कोटालाई प्रश्न सोधेकै कारण कार्यक्रम बन्द गर्न आदेश दिनु लोकतन्त्रको उपहास भएको महासंघले जनाएको छ । महासंघका महासचिव रमेश बिष्ट, युनियनका महासचिव अजयबाबु शिवाकोटी र महासंघ प्रतिष्ठान प्रदेश महासचिव बालकृष्ण अधिकारीले जारी गरेको विज्ञप्तिमा सञ्चारजगत्को हकहित संरक्षण र प्रवर्द्धन गर्ने जिम्मेवारीमा पुगेका सूचना तथा सञ्चारमन्त्रीबाटै प्रेस स्वतन्त्रताको हनन हुनु दुभाग्र्यपूर्ण भएको उल्लेख छ ।

कार्यक्रम सञ्चालक थापाले सञ्चारमन्त्रीसँग उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा केन्द्रित भएर प्रश्न गरेका थिए । सोही कारण मन्त्रीले पूर्वाग्रही भएर कार्यक्रम बन्द गर्न लगाएको थापाको भनाइ छ । उनले भने, ‘सीधा कार्यक्रममा मैले मन्त्रीज्यूलाई उहाँले सार्वजनिक गरेको सम्पत्ति विवरणमा दाइजोको प्रसंग निकालेको थिएँ । त्यस प्रश्नबाट मन्त्री रिसाउनुभयो र उहाँकै आदेशबाट कार्यक्रम बन्द भएको हो । यसमा अरू कुनै कारण छैन ।’

नेपाल टेलिभिजनका महाप्रबन्धक सचिन रोकाले भने ‘सीधा कार्यक्रम’ नेपाल टेलिभिजनको आफ्नै कार्यक्रम भएको भन्दै फिफा वल्र्ड कपमा समय व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसलाई बन्द गर्नुपरेको बताए । उनले भने, ‘कार्यक्रम बन्द हुनुमा मन्त्री र मन्त्रीको सचिवालयको कुनै भूमिका छैन । मन्त्रीले हामीलाई केही पनि भन्नुभएको छैन । वल्र्ड कपमा समय व्यवस्थापन गर्नुपर्ने भएकाले कार्यक्रम बन्द गर्नुपरेको हो।’

‘सीधा कार्यक्रम’ नेपाल टेलिभिजनबाट हरेक शनिबार साँझ पौने ९ बजे प्रसारण हँुदै आएको थियो । थापाका अनुसार पछिल्लोपटक जेठ २६ गते शनिबार प्रसारण भएको सो कार्यक्रमलाई अब प्रसारण नगर्न भनिएको छ । स्रोतका अनुसार नेपाल टेलिभिजनका समाचार प्रमुख मनहरि थापाले राजु थापालाई टेलिफोन गरी अबदेखि कार्यक्रम चलाउन नसकिने जानकारी गराएका थिए । थापाले नेपाल टेलिभिजनसँग सम्झौता गरी कार्यक्रम चलाउँदै आएका थिए ।

स्रोत: http://nagariknews.nagariknetwork.com/news/49424/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More