मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ

July 06, 2018

गोपाल संग्रौला, कारोबार दैनिक, २२ असार २०७५

मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ । स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रूपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।


‘ओपी मेगा–३’ नाम गरिएको विदेशी नागरिक पक्राउ अभियानमा हालसम्म ६ हजार ६ सय ७८ जना विदेशी पक्राउ गरिसकेको छ । यसरी पक्राउ पर्ने २ सय जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको भए पनि पक्राउ कार्य जारी रहेकाले वास्तविक तथ्यांक लिने कार्य भइरहेको बताइएको छ । मलेसिया सरकारले बिनादर्ता बसिरहेका नेपाललगायत अन्य देशका नागरिकलाई स्वेच्छिक देश फर्कन वा दर्ता प्रक्रियामा आउन दिएको समयसीमा सकिएपछि विगत १ हप्तादेखि पक्राउलाई तीब्र बनाएको छ । वैधानिक हुने वा स्वदेश फर्कने म्याद असार १६ गते सकिएको थियो ।

 

मलेसियाको अध्यागमन कार्यलयका महानिर्देशक डाटुक मुस्तफार अलीले २ दिन अघि गरिएको पत्रकार सम्मेलनमा ६ हजार ६ सय ७८ विदेशीलाई पक्राउ गरी मलेसियामा विभिन्न १३ वटा बन्दीगृहमा राखिएको जनाएका छन् । मलेसियाको अध्यागमन विभागले पत्रकार सम्मेलनको आयोजना गरेर पक्राउ परेका विदेशीलाई प्रक्रिया पूरा गरेर स्वदेश पठाउने जनाएको मलायामेल अनलाइनले उल्लेख गरेको छ । असार १६ पछि पक्राउ गरिएकोमध्ये सबैभन्दा बढी १ हजार ५ सय नेपाल लगायत अन्य देशका नागरिकलाई बुकेट जेलमा राखिएको जनाइएको छ । पक्राउ गरिएका विदेशीलाई मलेसियाका विभिन्न १४ दिनवटा जेलमा राखिएको त्यहाँको अध्यागमन कार्यालयले जनाएको छ । पक्राउ गरिएका बाहेक १ लाख १७ हजार ४ सय ४८ जनाले स्वदेश फर्कन आवेदन दिएको अध्यागमन कार्यलयले जनाएको छ ।
 

नेपाली दूतावासले अवैधानिक रूपमा बसेर काम गरिरहेका नेपालीलाई तत्काल दूतावासको सम्पर्कमा आउन अनुरोध गरेको भए पनि धेरै नेपाली दूतावासको सम्पर्कमा आएका छैनन् । यता नेपाल सरकार परराष्ट्र मन्त्रालयका सहसचिव एवं भरतराज पौडेलले मलेसिया सरकारले जुन ३० सम्म दर्ता प्रत्रियामा आउन अनुरोध गरेको समय समाप्त भएको बताए । “दर्ता प्रक्रियामा आएर वैधानिक हुन नचाहने नेपाली लगायत विदेशी नागरिकको लागि अगस्ट ३० सम्म म्याद रहेको थियो,” उनले कारोबारसँग भने, “मलेसिया सरकारले बिनादर्ता (अवैधानिक) बसेका विदेशी माथि बेलाबेलामा निगरानी गर्ने गरेको र अहिले पनि सोही प्रक्रियाअन्तर्गत पक्राउ गरिएको हो ।” स्वदेश फर्कने प्रक्रियामा रहेका नेपालीलाई ल्याउने प्रक्रियामा दूतावासले काम गरिरहेको उनले जानकारी दिए ।
 

मलेसियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले अवैधानिक रूपमा रहेका नेपाली कति पक्राउ परे भन्ने विवरण लिने काम भइरहेको जानकारी दिए । समयमा नेपाल फर्कन अनुरोध नगर्ने नेपाली पक्राउ परे १० हजार रिंगेट जरिवाना र दुई महिनासम्मको जेल सजाय हुनसक्ने जनाइएको छ । मलेसियाको अध्यागमन विभागले आइतबारदेखि राजधानी क्वालालम्पुरका जलान तुन रजाक, पासार सेनी, लेबु पुडु, मेडान पासार, सेन्ट्रल मार्केट, लगायतका १ दर्जनभन्दा बढी क्षेत्रमा पक्राउ जारी राखेको छ । मलेसिया सरकारले पक्राउ परेका विदेशीलाई बढीमा १४ दिनभित्र प्रक्रिया पु¥याएर स्वदेश फर्कन निर्देशन दिएको छ । मलेसिया सरकारले स्वदेश फर्कन निवेदन दिएका कामदारको हकमा भने आगामी अगस्ट ३० तारिकसम्मको समय दिएको छ । यसका लागि आममाफी प्रक्रियामा सहभागी हुनका लागि निवेदन दिन गत अप्रिल ५ देखि जुन ३० सम्मको समयावधि दिइएको थियो । विगत ४ वर्ष फिर्ता अभियानमार्पmत ३० हजारभन्दा बढी नेपाली फर्किएको तथ्यांक रहेको नेपाली दस्तावास मलेसियाले जनाएको छ । हाल मलेसियामा २ लाखसम्म नेपाली कामदार अवैधानिक रूपमा बसेर काम गरिरहेको दूतावासको अनुमान छ ।

स्रोत: https://karobardaily.com/news/migration/7485

Newsletter

Submit your details below to receive Newsletters

Newsletter