News

महँगियो गोलभेडा: प्रतिकेजी १ सय १० रुपैयाँ

August 20, 2017

सेतोपाटी, ०४ भाद्र २०७४ 

राजधानीको खुद्रा तरकारी बजारमा उपभोक्ताले अहिले सानो गोलभेडालाई प्रतिकेजी ११० रुपैयाँसम्म तिर्नुपरेको छ। कालिमाटीको होलसेल बजारमै गोलभेडाको थोक मूल्य प्रतिकेजी ७८ रुपैयाँ छ। 

व्यापारीहरुले अरुबेलाझैं आफूलाई नाफा राखेर बेच्दा गोलभेडाको खुद्रा मूल्य १ सयभन्दा बढी पर्न गएको छ। गोलभेंडाको खुद्रा मूल्य अहिले १ सयदेखि ११० रुपैयाँसम्म पर्ने गरेको व्यापारीहरु बताउँछन्। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिले आपूर्ति कम भएकाले नै गोलभेडा महँगो पर्न गएको हो। 

बजारमा लोकल गोलभेडाको मात्रै आपूर्ति भएको समितिले जनाएको छ। समितिका योजना अधिकृत रमेश डंगोलका अनुसार उपत्यकाका छिमेकी जिल्लाहरुमा गरिएको टनेल खेतीबाट भएको उत्पादनले मात्रै अहिले यहाँको माग धानेको छ। 

‘अहिले गोलभेडाको सिजन होइन, अर्कोतर्फ भारतबाट आउने ठूलो गोलभेंडाको आयात ह्वात्तै घट्न गएको छ र मूल्य बढेको छ’ उनले भने ‘व्यवसायिक रुपमा टनेलमार्फत गरिएको उत्पादन पनि पर्याप्त छैन।’ 

डंगोलका अनुसार अहिले काभ्रे, धादिङ, सिन्धुपाल्चोक लगायत जिल्लाहरुबाट मात्रै गोलभेडा आइरहेको छ। भारतबाट आउने ठूलो गोलभेडाले पनि उपत्यकाको धेरै माग धान्ने भएकाले त्यताबाट आपूर्ति भइरहँदा मूल्य नियन्त्रण हुने गरेको थियो। तर भारतीय ठूलो गोलभेडाको आपूर्ति घट्दा समग्र मूल्यलाई असर परेको व्यवसायीहरु बताउँछन्। यद्यपी ठूलोभन्दा लोकल गोलभेडा बढी रुचाइने गरेको व्यवसायीको अनुभव छ।

कलिमाटी बजारमै तरकारीको खुद्रा व्यापार गर्दै आएका व्यापारी टंकप्रसाद सापकोटा गोलभेंडा अहिले प्रतिकेजी ९५ रुपैयाँमा बिक्री गर्ने गरेको बताउँछन्। ‘यो त कालिमाटीकै मूल्य हो, बाहिर त ११० रुपैयाँभन्दा बढी नै पर्ला, त्यसमाथि गोलभेडा अरुजस्तो हुँदैन, कतिपय त ओसारपसाद गर्दा नै बिग्रिन्छ’ उनले भने ‘व्यापारीहरुले पनि अलिकति फाइदा राख्नैपर्यो, गाडी भाडा पनि लाग्ने भयो ।’ 

गोलभेंडाका अलवा अन्य तरकारीको मूल्य पनि अहिले बढेको उनले बताए। ‘प्याज, आलु, काउली, बोडी, बन्दाजस्ता तरकारीको मूल्य पनि बढेको छ,  तर गोलभेंडा चाही निकै महँगियो’ सापकोटाले भने। 

ठूलो गोलभेडा पाइन छाडेको बताउँदै उनले सानोको माग उच्च हुँदा पनि मूल्य बढेको बताए। ठूलो गोलभेडा प्रायः होटल तथा रेष्टुरेन्टमा जाने गरेको तर अहिले उनीहरुले पनि सानै गोलभेडा लैजाँदा सीमित आपूर्तिमा माग बढ्न गई मूल्य आकासिएको व्यापारीहरु बताउँछन्। 

गोलभेंडाको सिजन चैत तथा वैशाख महिना हो। त्यो समयमा प्रतिकेजी ३० रुपैयाँमै गोलभेडा पाइने गरेको व्यापारीहरु बताउँछन्। ‘सिजनमा त ३० रुपैयाँ किलोमा पनि बिक्री पनि नभएर फाल्न पर्ने हुन्छ, अहिले यस्तो महँगो! त्यै पनि भनेजति ल्याउन पनि पाइन्नँ’ आफ्नो अनुभव सुनाउँदै सापकोटाले भने। 

 

 

हेर्नुहोस्, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार तोकेको तरकारीको खुद्रा  मूल्य 

 

स्रोत: http://kinmel.setopati.com/krishi/43028/