News

महाभूकम्पको दुईवर्षे फन्को

April 24, 2017

Kantipur, Akhanda Bhnadari, 24th April 2017, Kathmandu

महाभूकम्प गएको दुई वर्ष पुगेको छ । सरकारी तथ्यांकमा ८ लाख ८७ हजार ३ सय ५३ घर भत्किएकामा ५० हजारभन्दा कम पुनर्निर्माणको अवस्थामा छन् । ती पनि अधिकांश आफ्नै पहलमा । सरकारी राहतको तेस्रो किस्ता बुझ्ने जम्मा ४२० परिवार छन् । पुर्निर्माणमा सघाउन राज्यले बनाइदिएको प्राधिकरण आफ्नै निर्माण र पुनर्निर्माणमा अल्झिएको छ । यसैमा ९ रेक्टर स्केलको भुइँचालो गएको छ । कर्मचारीले छाडे । इन्जिनियरले आन्दोलन गरे । सीईओ फेरिए । पुरानो प्रगतिलाई आँखा चिम्लिएर नयाँ बिन्दुबाट काम सुरु गर्नुपर्ने ठाउँमा यो छ । हुन त पुरानो प्रगति के नै पो भएको थियो र ? ३६५ गुणा दुई अर्थात ७३० दिन बेकारमा खेर गएको छ । 

पीडितहरू अझै पाल र शिविरमै छन् । तिनको हालत देख्दा मन कटक्क गर्छ । विश्व सम्पदा सूचीका मन्दिरहरू टेकाले अड्याएको पाउँदा हाम्रो देशको दरिद्रता प्रस्टिन्छ । माटोमा मिलेको धरहरामाथि कसले के, कसले के कार्यक्रम ल्याउँछन्, गर्ने कोही होइनन् । एउटा सरकारको घोषणालाई अर्काकले अविच्छिन्न उत्तरदायित्व नलिइदिँदा पनि समस्या परिरहेको छ । हरेक सरकारले पुनर्निर्माणमा होइन, प्राधिकरणका सीईओ आफ्नो मान्छे बनाउन र फेर्नमा समय बिताए । त्यसमै अल्झिए । तिनले न भ्रष्टाचार देखे, न भद्रगोल । 

त्यही छाडापनको फाइदा उठाउँदै भूकम्पका नाममा चरम भ्रष्टाचार छ, चाहे त्यो आर्थिक, नीतिगत वा प्रवृत्तिगत नै किन नहोस् । अझ भन्नुपर्दा सबै हिसाबले सबैभन्दा ‘भ्रष्टाचारमैत्री’ महाविपत्ति यही सावित भएको छ । यसको अर्थ यो होइन कि, भूकम्पले भ्रष्टाचारको खेतीलाई मलिलो बनायो । बरु यसरी बुझौं– भ्रष्ट मनोवृत्ति भएकाहरूले भूकम्पलाई यस्तो ‘मल’ बनाए, जसलाई आफ्नो मौलाउँदो बालीमा थपिदिए । राज्यले आँखा चिम्लियो । किनभने, त्यो बालीले यस्तो खाद्यान्न दियो, जुन तलदेखि माथिसम्म सबैको भोजन बन्न आइपुग्यो । प्रत्यक्ष काम गर्ने कर्मचारीतन्त्र, तिनलाई निर्देश गर्ने सरकार, ती सबैलाई कानुनमा बाँध्ने जनप्रतिनिधि हुँदै ती सबैका नियन्त्रक राजनीतिक नेताहरू कतै न कतै यसमा जोडिए । 

यो प्रकरणलाई राज्यभन्दा गैरराज्य पक्षले बढ्ता चलायो । सरकार कारिन्दाजस्तो, एनजीओ/ आईएनजीओ शासकजस्ता देखिए । शासक पनि यस्ता निरंकुश कि कसैले केही खोज्नै नपाओस् । काज र बिल मिलाउन खारिएका तिनै गैरसरकारी संस्थाको पछिपछि तरिका सिक्दै सरकारी निकायहरू हिँडिरहे । त्यही लोभ–पापमा सबै डुबे– चिनीको चास्नीमा परेको झिँगाजस्तै । 

भूकम्पपीडितका त्रिपालमा पानीको भल छिर्दै गर्दा तिनका नाममा धर्मात्मा दाताले दिएको डलर, युरो वा रुपैयाँले होटल–रेस्टुरेन्टमा रक्सीको खोलो बगिरहेको हुन्छ । भूकम्पपीडितका नाङ्गो आङमा चिसो सिरेटोले हानेका बेला तिनका नाममा आएको बजेटले कसैले सुपरमार्केटमा सपिङ गरिरहेको हुन्छ । कृत्रिम भ्रमण, भत्ता, गोष्ठी र छलफल, परामर्श, असीमित सुविधा, कामबिनाका कर्मचारीजस्ता शीर्षकमा पैसो निख्रिँदो छ । हाम्रो बिडम्बना यही हो । राज्यले न पीडितको मर्काको आयतन नाप्न सक्यो, न सहयोग दुरुपयोगको क्षेत्रफल खुट्याउन सक्यो । त्यसमा रुचि नै देखाएन । 

उदाहरणका लागि नेपाल रेडक्रसले संसारभरि आह्वान गरेर बटुलेको अर्बौं रकम खर्च गर्न नसकेको, कतिपय फर्किने तयारीमा रहेको, खर्चिएको पनि बिलासितातिर गएकोबारे सरकारले सोध्न सकेन । राष्ट्र संघीय संरचनाबाट आएको अर्को अर्बौं के भइरहेको छ, वास्ता गर्नै चाहेन । यी दुई संस्था विपतमा सरकारसरह संसार गुहार्न पाउने हुन् । 

दुवैले गुहारे पनि । तर प्रतिफल ? वास्तविक पीडितसम्म त्यो पुग्न सकेन । तीबाहेक कति राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले केके फुइँ लगाएका थिए, ती कहाँ पुगे– सरकारले किन वास्ता गर्दैन ? कारण जगजाहेर छ । 

महाभूकम्पको राशि दुरुपयोग नभएको कहाँ होला र ? यही नाममा व्यक्तिले मनकारीहरूसँग, एनजीओले आईएनजीओसँग, आईएनजीओले च्यारिटी संस्थाहरूसँग, राज्यले ती सबैसँग पैसा उठाए । क्राउड फन्डिङ साइट हजारौं खोलिए, तीबाट खर्बौं उठाइए । महाभूकम्पको बहानामा सिंगै नेपालले काँचुली फेर्ने पैसा जुट्यो, तर काँचुली नेपालले होइन, ती दलालहरूले फेरे । केहीअघि अमेरिकास्थित नेपाली जनसम्पर्क समितिको खाता हेर्दा भूकम्प कोषको करिब ५० लाख रुपैयाँ नरहेको पाइयो । त्यहाँका सहृदयी नेपाली र अन्यले भूकम्पपीडितलाई सहयोग गर्न दिएको रकम भित्रभित्रै हरायो । त्यसमा महासचिव र कोषाध्यक्षले प्रेस विज्ञप्ति निकालेर एक–अर्काले हिनामिना गरेको आरोप लगाए । अध्यक्षले भने ती दुवै मिलेर मासेको भन्दै छानबिन समिति बनाए । दोषी जो होस्, पैसा त हरायो । त्यति देखिने गरी हरायो, नदेखिने गरी कति हरायो कति ?

धर्म लागोस् भनेर पठाइएको सहयोग जब दुरुपयोग गरिन्छ, पाप एक दिन धुरीबाट अवश्य कराउँछ । भूकम्पपीडितको सहयोग लुटेर त्यही पैसाले परिवार र आफन्तको रंगीबिरंगी ताँती लगाई भत्किएका मन्दिरको फेदमा लाखबत्ती बाल्नेहरूलाई धिक्कार छ । धर्म त्यसलाई लाग्छ, जसले पालको प्वाल हातले छेक्दै लुगलुग काँपिरहेकी कुनै हजुरआमालाई पर्खालले घेरेको न्यानो कटेरोभित्र छिराउन सकोस् । दु:खका आँसुले श्राप दिइरहेकाहरूका खुसीका आँसुले आशिर्वाद दिए पो धर्म हुन्छ । लुटेको पीडितको पैसाले जब भतभती पोल्छ, सितल खोज्दै उडेर–गुडेर मन्दिर–मन्दिर पुग्नेहरू पनि मैले देखेको छु । मन्दिर जानुहोस् तर तपाईंको पसिनाको पैसाले फूल किन्नुहोस्, चढाउनुहोस् । आँसुको भेटी चढाएर कहीं कतै धर्म हुँदैन । वास्तविक धर्म त त्यस्तालाई लाग्छ, जसले शिविरभित्र बसेर पढाइ छुटाइसकेका बालबच्चालाई स्कुलसम्म डोर्‍याएर पुर्‍याउँछ । त्रिपालभित्र रोगले थलिएकाहरूलाई उठाएर अस्पतालसम्म लैजान्छ । अनि, ती स्कुल र अस्पतालहरू पढ्न–उपचार पाउन लायक बनाइदिन्छ । त्यस्ता भन्ने धेरै थिए, गर्ने किन कोही भएन ? 

सरकारले अब तिनको कठालोमा समाउनुपर्छ ।



 Source: http://kantipur.ekantipur.com/news/2017-04-24/20170424080952.html