खिलक बुढाथोकी, नागरिक दैनिक, ०९ असार २०७५
जेठ ३० मा स्कुटरमा यात्रारत २४ वर्षीया अस्मिता भण्डारीलाई काठमाडौंको जडीबुटीचोकमा बा४ख ३५५० नम्बरको टिपरले किचेर मारेको घट्ना सेलाउन नपाउँदै शुक्रबार फेरि भक्तपुर सानोठिमीमा टिपरकै ठक्करबाट चेतबहादुर थापाको ज्यान गएको छ। पछिल्लो यो घटना सानोठिमी क्याम्पसअघि भएको हो। ठक्करबाट लडेका थापालाई टिपरले किचेर मारेको प्रत्यक्षदर्शी बताउँछन्। थापा चढेको बा६६प ८५५३ नम्बरको स्कुटरलाई समान दिशाबाट गुडिरहेको बा२क ३९३४ नम्बरको टिपरले ठक्कर दिएपछि किचेको थियो। सडकमा टिपरचालकको दादागिरी र लापरबाहीले अन्य सवारीचालक आतंकित बनेका छन्। पछिल्लो एक महिनामा काठमाडौं उपत्यकामा टिपरले किचेर थापासहित ६ जनाको ज्यान गइसकेको छ।
जेठ १५ गते काठमाडौंको ठूलो भ¥याङमा बा५ख ५०० नम्बरको टिपरले शंखर कोइरालाको ज्यान लिएको थियो। त्यसको ६ दिनअघि पनि भक्तपुरको साँगामा टिपरले तीनजनाको ज्यान लिएको थियो। जेठ ९ गते साँगाबाट जगातीतर्फ आउँदै गरेको टिपरले समान दिशामा गुडिरहेको स्कुटरलाई बा३ख ६६७४ नम्बरको टिपरले ठक्कर दिँदा हरि कटुवाल, सविता घिमिरे र अविन्द्र घिमिरेको ज्यान गएको थियो। एक महिनाको अवधिमा भएका यी सबै घट्ना हेर्दा टिपरचालकको लाहपरबाही देखिन्छ। चालू आर्थिक वार्षको हालसम्म उपत्यकामा मात्रै २० जनाले टिपरचालकको लापरबाहीका कारण ज्यान गुमाएका छन्। यी दुर्घटनाको प्रकृति अध्ययन गर्दा ८० प्रतिशत टिपरचालकको लापरबाहीले भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको विश्लेषण छ।
‘पछिल्लो एक महिनामा मात्र टिपरचालकको लापरबाहीबाट उपत्यकामा ६ जनाको ज्यान गएको छ,’ महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनाली भन्छन्, ‘घाइते हुनेको संख्या झनै धेरै छ।’ उनका अनुसार पछिल्लो एक महिनाको अवधिमा टिपरका कारण दुर्घटना भएर गम्भीर घाइते हुनेको संख्या १० जति पुगेको छ। जेठ २८ गते ललितपुर भैंसेपाटीबाट खोकनातर्फ गइरहेको बा२ख ९३०१ नम्बरको टिपरले ठक्कर दिएर खिलबहादुर बुढाथोकी घाइते भए। जेठ २४ गते भैंसेपाटीमा बा४ख १५०४ नम्बरको टिपरको ठक्करबाट ज्ञानीकुमार भुसाल र १७ गते काठमाडौं कंलकीबाट थानकोटतर्फ जाँदै गरेको बा४ख ३३९६ नम्बरको टिपरको ठक्करबाट बा८४प ८०४९ नम्बरको स्कुटरचालक यमबहादुर ढुंगाना गम्भीर घाइते भए।
महाशाखा तथ्यांकअनुसार चालू आवको ११ महिनामा उपत्यकामा एक हजार २६६ वटा टिपर र ट्रक दुर्घटना भएका छन्। यीसमेत अन्य दुर्घटनामा परी उपत्यकामा ११ महिनामा एक सय ८४ जना गम्भीर र तीन हजार तीन सय ८५ जना सामान्य घाइते भएको महाशाखाका प्रवक्ता मैनाली बताउँछन्। यसरी बारम्बार भइरहने दुर्घटनामा चालकको लापरबाही मुख्य कारण देखिएको दाबी उनको छ। ‘अधिकांश टिपर दुर्घटनाको कारण चालकले बेप्रवाह तरिकाले हाँक्नु नै हो,’ उनले भने, ‘धेरै ट्रिप गरेर बढी कमाउन तीव्र गतिमा चलाउँछन् । यसै कारण टिपरले साना सवारीलाई ठक्कर दिने घटना भइरहेका छन्।’ टिपर अन्य गाडीको तुलनामा बलियो हुने भएकाले चालकले सामान्य ठोक्किँदा आफूलाई असर पर्दैन भन्ने सोचले बेतोडले कुदाउने गरेको ट्राफिक प्रहरी बताउँछन्।
‘टिपरचालकले सडक अनुशासन पालनामा ध्यान दिएको पाइँदैन्,’ प्रवक्त मैनालीले भने, ‘दुर्घटना भइहाले पनि ठूलो कारबाही हुँदैन भनेर सायद टिपरचालक बेप्रवाह बनेको हुनसक्छ।’ उनका अनुसार सडक लेन अनुशासन उल्लंघन गर्ने, तीव्र गतिमा गाडी कुदाउने, जथाभाबी ओभरटेक गर्ने, गाडी चलाउँदा मोबाइलमा कुरा गर्ने, गीत सुन्ने जस्ता कारणले दुर्घटना बढिरहेका छन्। अधिकांश टिपरचालक अपरिपक्व र कलिलै उमेरका भएका कारण पनि दुर्घटना हुने गरेको छ। पाका टिपरचालक कमै छन् र यस्ताले चलाएका टिपर दुर्घटना पनि कम भएको महाशाखाको तथ्यांक छ। महाशाखाको तथ्यांकअनुसार चालू आवको १० महिनामा उपत्यकामा भएका समग्र दुर्घटनामध्ये ४० वर्ष उमेरमाथिका चालकले एक हजार सात सय ३७ दुर्घटना गराएका छन् भने त्योभन्दा कम उमेरका चालकले सात हजार पाँच सय ८८ दुर्घटना गराएका छन्। टिपरचालक सुध्रिने हो भने दुर्घटना घट्ने महाशाखाको अनुमान छ।
अटेरी टिपर चालक
सवारी दुर्घटना भई कसैको ज्यान गएमा चालकलाई नेपाल प्रहरीले २५ दिन अनुसन्धानमा राख्न पाउँछ। त्यसपछि अदालतमा मुद्दा चलाउनुपर्छ। मुद्दा अदालतमा पुगेपछि त्यस्ता चालकलाई पुर्पक्षमा राखिन्छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ मा कसैको ज्यान जानसक्ने गरी चालकले लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना भएको रहेछ र यसबाट मृत्यु भएको रहेछ भने चालकलाई दुईदेखि १० वर्षसम्म कैद हुने उल्लेख छ। त्यसैगरी चालकको लापरबाही देखिएन तर दुर्घटनामा गाडीभित्र वा बाहिर बस्नेको मृत्यु भएको रहेछ भने बढीमा एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्छ। नेपालको सन्दर्भमा पछिल्लो प्रावधान बढी अभ्यासमा रहेको पाइन्छ। लाइसेन्स भएको र मापसे नगरेको अवस्थामा सवारी चलाउँदा दुर्घटना भई कसैको ज्यान गएमा चालकलाई बढीमा एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँ जरिवाना हुने गरेको छ। सरकारी वकिल कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता मणिराम न्यौपानेका अनुसार यस्तो अवस्थामा धेरैजसो चालकलाई सामान्यतया डेढदुई महिना जेल सजाय तोकिन्छ। जेल सजाय भोगेपछि चालक पुनः सोही पेसामा आउन सक्छ। विभिन्न यातयात समितिले पनि दुर्घटना गराउने चालकलाई कानुनी कारबाहीबाट जोगाउन सक्दो कसरत गर्छन्। यसै कारण पनि अपरिपक्व र कलिलै उमेरका टिपरचालक सडक अनुशासन पालनमा बेप्रवाह र अटेरी बन्दै गएको देखिन्छ।
मृतकका आफन्तलाई दिनुपर्ने क्षतिपूर्ति बिमा कम्पनी वा यायायात समितिले दिन्छन्। चालकलाई जेल सजायबाहेक आर्थिक भार पर्दैन्। सजायसम्बन्धी कडा कानुनको व्यवस्था नहुँदा चालक सजिलै उम्किन पाउँछन्। यसै कारण सवारीचाक अनुशासनहीन बन्दै जाँदा दुर्घटना बढेको यातायात क्षेत्रको विकृतिविरुद्ध आबाज उठाउँदै आएका रामबहादुर थापा बताउँछन्। ‘चालकलाई कडा कारबाही नगर्दा दुर्घटना बढेका छन्,’ थापाले भने, ‘सडक दुर्घटना कम गर्न कडा दण्ड व्यवस्था हुनुपर्छ।’ मनपरी गाडी चलाउनेको चालकको अनुमतिपत्र खारेजको व्यवस्था गर्न पनि उनी सुझाउँछन्।
ललितपुरका ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथु पनि दण्डसजायको कमजोर अभ्यासले चालकमा लाहपरबाही बढेको बताउँछन्। ‘चालकलाई सचेत गराउने कानुन ल्याउनुपर्छ,’ उनले भने, ‘अहिलेको कानुनले चालकलाई सचेत र जिम्मेबार बनाउन सकेजस्तो लाग्दैन्।’ गल्ती गरे कठोर कारबाही हुन्छ भन्ने डर चालकमा भएमात्र उनीहरू होसियार हुन्छन् र दुर्घटना पनि घट्ने उनको बुझाइ छ।
यातायात व्यवस्था विभाग भने ऐनलाई संशोधन गरी कारबाहीको दायरा फराकिले बनाउन लागेको बताउँछ। ऐनमा गल्ती गर्ने चालकलाई निलम्बन, लाइसेन्स खारेजीजस्ता प्रावधान थप्न लागिएको विभागका एक अधिकारीले बताए।
सीताराम हाछेथु, ट्राफिक प्रहरी प्रमुख, ललितपुर
अधिकांश सवारी दुर्घटनामा चालकको लापरबाही देखिन्छ। चालक जिम्मेबार नहुँदा दुर्घटना भइरहेका छन् । अझ, टिपरचालकको केसमा त गैरजिम्मेबारी झनै बढी छ। टिपरचालक दुर्घटनाप्रति सजग हुँदैनन्। टिपरचालक अपरिपक्व र कलिलो उमेरका बढी छन्। तिनले तीव्र गतिमा टिपर चलाउँछन्। तिनको ध्यान बढी टिप गरेर धेरै कमाउनेमात्रै हुन्छ।
चालक जिम्मेबार नबनेसम्म दुर्घटना घटाउन सकिँदैन। कम उमेरका चालक दुर्घनाबाट डराउँदैनन्। दुर्घटना भइहाले पनि सजिलै उम्कन पाइन्छ भन्ने सोच चालकमा पारिएको छ। बढीमा डेढदुई महिनाजेल बसेर छुट्छन् उनीहरु। योबाहेक दुर्घटना गराएबापतको कारबाही चालकले भोग्दैनन्।
यही हेरौं न चालकले मापसे गरेमा लाइसेन्समा प्वाल पारिन्छ, जानकारी कक्षा लिन पठाइन्छ तर, दुर्घटना गराएर मान्छे मारेमा केही समय जेल बसेर सजिलै छुटकारा पाउँछन् उनीहरूले। मृतकका आफन्तलाई क्षतिपूर्ति दिन परेमा बिमा कम्पनीले दिन्छ, चालक सम्बद्ध यातायात समितिले दिन्छ, गाडी साहुले दिन्छ। गल्ती गर्ने यस्ता चालकलाई आर्थिक भार केही पर्दैन। सुरुमा अनुसन्धानका लागि केही दिन जेल राखिन्छ। त्यसपछि पुर्पक्षका लागि भन्दै छोडिन्छ। चालकलाई फेरि गाडी चलाउन रोक हुँदैन। यसले गर्दा चालकमा दुर्घटना गराए ठूलो सजाय भोग्नुपर्छ भन्ने कत्ति पनि डर हुँदैन्। डर नभएपछि सतर्क हुँदैनन्। दुर्घटनासम्बन्धी कतिपय मुद्दा मिलापत्रमै टुगिन्छन् । अदालत पुगे पनि बढीमा दुई वर्ष जेल सजाय हुन्छ। त्यस्ता चालकलाई निलम्बन गर्ने व्यवस्था नहुँदा पनि समस्या भएको छ। न उनीहरूको लाइसेन्स खारेज हुन्छ। अब चालकलाई नै प्रत्यक्ष कारबाही हुने कानुन बनाउनुपर्ने देखिन्छ। कडा कानुनको दायरामा ल्याउन सकेमात्र चालक सतर्क हुन्छन् । चालक सतर्क भएमा लाहपरबाहीका कारणले हुने दुर्घटनामा पनि कमी आउँछ।
अनिता भेटवाल, स्कुटर चालक
सडकको खलपात्र टिपर भएजस्तो लाग्छ मलाई । देख्दैमा डरलाग्दो हुन्छ टिपर। सडकमा टिपर देख्दा मन काप्छ । मानसिक रुपमै टिपर देखेपछि खतराको घन्टी बजेजस्तो हुन थालेको छ। यसले एकातिर अन्य सवारीचालकलाई सावधानी अपनाउन पनि सिकाएको छ। यो राम्रो पक्ष हो तर, टिपरचालकले सडक नै आफ्नोमात्रै हो भने जसरी चलाउँछन्। साना सवारीको त मतलब नै गर्दैनन्। टिपरचालकको यस्तो हेपाइमा धेरैपटक परेकी छु। कतिपटक त झन्डैझन्डै दुर्घटनाबाट उम्केकी छु। आफ्नै साइडमा स्कुटर गुडाउँदा पनि पेलेर आउँछन्। धेरैजसो टिपर तीव्र गतिमा बेप्रवाह ढंगले कुदेका हुन्छन् । साना सवारीचालकले लेन अनुशासन पालना गरे पनि टिपरले पालना गर्दैनन्। सडकमा टिपरचालकको दादागिरी अति नै छ। महिलाले चलाएको स्कुटरलाई त टिपरले जानाजान पेल्छन्। लाग्छ, कुनै दिन टिपरले नै ज्यान लिन्छ होला?