माछामा ‘फर्मालिन’ प्रयोग नगर्न सर्वोच्चको आदेश

February 27, 2018

नयाँ पत्रिका, फागुन १५, २०७४

बजारमा बेच्न राखिएका माछामा प्रयोग हुँदै आएको फर्मालिन (स्वच्छ राख्न प्रयोग गरिने रसायन) रोक्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । अधिवक्ता राजकुमार राना र चक्रलाल श्रेष्ठले फर्मालिन प्रयोगका कारण आमउपभोक्ता विषादी हालेको माछा खान बाध्य भएको भन्दै दायर गरेको रिटमा सर्वोच्चले सोमबार परमादेश जारी गरेको हो ।

प्रधानन्यायाधीश गोपाल पराजुली र केदारप्रसाद चालिसेको संयुक्त इजलासले नेपालभर बिक्री–वितरण हुने माछामा ‘फर्मालिन’ नामक विषादी प्रयोग नगर्न सरकारका नाममा परमादेश जारी गरेको हो । आमउपभोक्ताको स्वस्थ माछा खान पाउने हक भएकाले माछालाई ताजा बनाउने नाममा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने विषादी प्रयोग नगर्न सर्वोच्चले परमादेश जारी गरेको छ ।

भारतबाट नेपालमा भित्रिने माछामा फर्मालिन नामक विषादी प्रयोग गरेर बजारमा बिक्री–वितरण हुँदै आएको तर्फसमेत सर्वोच्चले सरकारको ध्यानाकर्षण गरेको छ । कुनै पनि वस्तुलाई ताजा बनाउने नाममा प्रयोग गर्ने फर्मालिन विश्वका धेरै देशमा प्रतिबन्ध लागिसकेको छ । तर, नेपालमा भारतबाट आयत हुने माछाको भने परीक्षणसमेत हुँदैन । मानव शवलाई धेरै दिनसम्म सड्न नदिन प्रयोग गरिने फर्मालिन माछामा पनि राख्ने गरिन्छ ।

फर्मालिनको प्रयोग हानिकारक
माछामा प्रतिकिलो शून्य दशमलव २ मिलिग्रामसम्म फर्मालिन हाल्न विज्ञले सुझाउँदै आए पनि नेपालमा बिक्री–वितरण हुने माछामा प्रतिकिलो ४ दशमलव ५ मिलिग्रामसम्म फर्मालिन प्रयोग हुने गरेको विज्ञान तथा विधि प्रयोगशालाको रिपोर्टमा उल्लेख छ । तर, विश्व स्वास्थ्य संगठनले भने खानेकुरामा फर्मालिनको प्रयोग शून्य हुनुपर्ने जनाएको छ ।

माछामा प्रयोग हुने फर्लामिनले मानव स्वस्थ्यमा गम्भीर असर पुर्‍याउनुका साथै मानिसको कोषमा समेत क्षति पुर्‍याउँछ, जसले क्यान्सरको जोखिम बढ्ने विभिन्न अध्ययनले जनाएका छन् । यसको प्रयोगले सबैभन्दा बढी आँखामा असर पुर्‍याउनुका साथै आँखा नदेख्ने सम्मको समस्या आउने चिकित्सकले बताएका छन् ।

स्रोत: www.enayapatrika.com/2018/02/27/27705/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More