माछा आयात घट्दै

January 27, 2019

रविन भट्टराई, अन्नपुर्ण पोष्ट, १३ माघ, २०७५ 

बिर्तामोड : केही वर्ष अघिसम्म झापाका प्रत्येक बजारमा भारतसहित तेस्रो मुलुकबाट आयात गरिएका माछा छ्यापछ्याप्ती पाइन्थे। इलाम, पाँचथर, ताप्लेजुङसहित पहाडी जिल्लाका बजार पनि झापाको काँकडभिट्टा नाका हुँदै भित्रिने माछाले ओगटेको थियो। काँकडभिट्टा नाकामा आयातको तथ्याङ्क पनि ठूलै थियो। तर, अहिले झापामा व्यावसायिक रूपमै माछा उत्पादन सुरु भएपछि भारतसहित तेस्रो मुलुकबाट आयात हुने माछा र माछाका भुरामा कमी आएको छ।

झापामा माछा उत्पादन बढेपछि प्रत्येक माछा पसलमा स्थानीय माछा प्रशस्त भेटिँदा पूर्वको काँकडभिट्टा, भद्रपुर, गौरीगञ्जसहित इलामको पशुपतिनगर सीमा नाकाबाट भित्रिने माछा आयातमा कमी आएको भन्सार कार्यालयको तथ्यांक छ।

काँकडभिट्टा नाकामा चेक प्वाइन्ट रहेको पशु क्वारेन्टाइन कार्यालयको तथ्यांकअनुसार तीन वर्षयता पूर्वबाट हुने माछाको आयात क्रमशः ओरालो लाग्दै आएको छ। आर्थिक वर्ष २०७१/०७२ मा यो नाका हुँदै दुई हजार एक सय आठ दशमलव ६६ मेट्रिक टन माछा आयात भएको थियो। यो दर आर्थिक वर्ष ०७३/०७४ मा झन्डै आधा घटेर एक हजार ६ सय ७४ मेट्रिक टनमा झरेको छ। २०७४/०७५ मा एक हजार पाँच सय ६० मेट्रिक टन मात्रै माछा आयात भएको छ।

चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा दुई सय ८९ मेट्रिक टन मात्र आयात भएको पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टाको तथ्यांकले देखाएको छ। यो नाकाबाट माछा मात्र नभई माछाको भुराको आयातमा पनि कमी आएको देखिएको छ। कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा २० लाख दुई हजार माछाका भुरा आयात भएकोमा एक वर्षपछि घटेर एक लाख ८३ हजारमा सीमित भएको पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका निमित्त प्रमुख महेशकुमार सिंहले बताए।

सरकारले व्यावसायिक माछापालनका लागि किसानलाई रकम अनुदान दिन थालेपछि झापामा व्यावसायिक माछापालनतर्फ किसानको आर्कषण बढेको उनको तर्क छ। सरकारले व्यावसायिक रूपमा माछा पाल्ने किसानलाई पोखरी खन्न अनुदान दिएका कारण व्यावसायिक माछापालनमा किसानको आर्कषण बढेको कृषि ज्ञान केन्द्र झापाको भनाइ छ। सरकारले एक हेक्टर क्षेत्रफलमा माछापालन गर्दै आएका किसानलाई तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ।

झापामै धमाधम माछापालन हुन थालेपछि बजारमा समेत स्थानीयस्तरमै उत्पादन हुने ताजा माछाको माग बढेको माछा व्यापारी बताउँछन्। उपभोक्ता पनि स्वस्थ माछा खान पाउँदा सन्तुष्ट भएको प्रतिक्रिया दिन्छन्। सरकारले भारतलगायत तेस्रो मुलुकबाट आयात हुने माछालाई रोक्नु पर्ने स्थानीय उपभोक्ता गौरव दवाडीको भनाइ छ।

झापामा तीन सय २९ हेक्टर क्षेत्रफलमा किसानले व्यावसायिक रूपमा माछापालन गर्दै आएका छन्। जिल्लामा पछिल्लो आर्थिक वर्षमा एक हजार ५० मेट्रिक टन माछा उत्पादन भएको थियो। गत वर्ष जिल्लामा १५ हेक्टरका लागि ४५ लाख रुपैयाँ अनुदान आएको बताइएको छ। माछापालनका लागि जिल्लाको मेचीनगर–७ पकेट क्षेत्र मानिए पनि पछिल्लो चरणमा गौरादहका किसानले अत्यधिक रूपमा व्यावसायिक माछापालन सुरु गरेका छन्। अहिले गौरादह नगरपालिका माछापालनका लागि पकेट क्षेत्र मानिएको छ।

सोर्त: http://annapurnapost.com/news/118800

Newsletter

Submit your details below to receive Newsletters

Newsletter