माथिल्लो तामाकोसीको पाइप ढुवानी पूरा

February 28, 2018

दिलबहादुर केसी, कारोबार, बुधवार, फाल्गुन १६, २०७४

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सबैभन्दा ठूला सामानको रूपमा रहेको पाइप ढुवानी सकिएको छ । लट २ को पेनस्टक पाइपको ढुवानीले केही समस्या भए तापनि लट ३ को सबैभन्दा ठूला सामानको ढुवानी पूरा भएको हो ।
आयोजनाको सबैभन्दा ठूलो चुनौती विद्युत् उत्पादनका लागि प्रयोग हुने ठूला सामान ढुवानीमा थियो । तर आयोजनाले चुनौतीको रूपमा लिएको सबैभन्दा ठूलो सामान बोकेका तान्ने गाडीसहितको १३० टनसम्मका सामान विद्युत्गृहभित्र छिरिसकेका छन् । सबैभन्दा ठूलो सामान एमएसओभीपछि ५ वटा गाडीका सामान आयोजनास्थल पुगेपछि ठूला सामानको ढुवानी सकिएको आयोजनाले जनाएको छ । 


सबैभन्दा चुनौतीको एमएसओभी आयोजनास्थल पुगेको डेढ महिना भयो । त्यसपछि आएका सामान आयोजना पुगेको पनि २ साता बितिसकेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । यसको सफल ढुवानीले हामीलाई अत्यन्तै उत्साहित बनाएको उनले बताए । ति सामान नै विद्युत् उत्पादनका लागि आउने ठूला उपकरण अन्तिम भएको उनले बताए ।
एमएसओभी, जेनेरेटर, टर्बाइनलगायतका उपकरण आयोजनाको लट ३ को इलेक्ट्रिकल तथा इलेक्ट्रोमेकानिकल अन्र्तगत पर्छ । लट ३ को इलेक्ट्रोमेकानिकलमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबीले गरेको छ । विद्युत्गृहभित्र धमाधम जडानको काम जारी छ । लट ३ का ठूला सामान ढुवानी सकिए तापनि अरु सामान ढुवानी भने जारी छ । विद्युत्गृह भित्रका अन्य सामान १२ चक्के गाडीबाटै ढुवानी हुन उनले बताए ।
आयोजनाको लट ३ अन्तर्गत आउँदो असारसम्म एउटा युनिट सञ्चालनमा ल्याउने तयारी छ । तर लट २ को हाइड्रोमेकानिकलको ठेकेदारले पाइप ढुवानी र जडानमा भएको विलम्बले आयोजनाको लक्ष्य भेट्न चुनौती छ । आयोजना हालसम्म ९४ प्रतिशत प्रगति भएको छ । आयोजनाको ४ लटमा काम भइरहेको छ । सिभिल र प्रसारणलाइनको काम पनि तीव्र गतिमा भए तापनि लट २ को सामान ढुवानीमा भएको ढिलाइले आयोजनाको काम प्रभावित भएको छ । 
जसअनुसार आयोजनाको सिभिल निर्माणमा चीनको सिनो हाइड्रो कर्पोरेसन, हाइड्रोमेकानिकलमा टेक्सम्याको इन्डिया लिमिटेड, इलेक्ट्रोमेकानिकलमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबी र प्रसारणलाइन तथा सबस्टेसन निर्माणमा भारतको केईसी इन्टरनेसनल लिमिटेडले काम गरिरहेका छन् । हाइड्रोमेकानिकलको ठेकेदारले बाँधमा राखिने गेट, पेनस्टक पाइपलगायतका सामान समयमा साइटमा नपुग्दा सिभिलको कामसमेत प्रभावित भएको छ । हाइड्रोमेकानिकलका सामान नहुँदा भूकम्प जानुभन्दा अघिदेखि नै सिभिल ठेकेदारले गेट राख्ने भाग छाडेर काम गर्दै आएको छ । 
आयोजनाको सुरुमा ३५ अर्ब २९ करोड लागतअनुमान गरे तापनि भूकम्प, नाकाबन्दी डलरको मूल्य वृद्धिलगायतका कारण ४६ अर्ब पुग्ने अनुमान गरिएको छ । आयोजनामा हालसम्म ३९ अर्ब बढी खर्च भइसकेको छ ।

स्रोत: https://karobardaily.com/news/development/2768

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More