माध्यमिक शिक्षा परीक्षामा ४ हजार अनुपस्थित

March 17, 2017

Kantipur, Biratnagar Bureau, 17th March 2017

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिनको अंग्रेजी विषय परीक्षामा पूर्वबाट करिब चार हजार परीक्षार्थी अनुपस्थित भए । कुल परीक्षार्थी मध्ये छात्रा १ हजार ८ सय ९९ र छात्रतर्फ १ हजार २ सय ९० परीक्षार्थी अनुपस्थित रहेको क्षेत्रीय शिक्षा निर्देशनालयले जनाएको छ ।

नियमिततर्फ ५ सय ८९ छात्रा र ४ सय ५९ छात्र गरी १ हजार १ सय ९९ अनुपस्थित रहे । एक्जाम्टेडतर्फ ३ सय २१ छात्रा र २ सय १६ छात्र अनुपस्थित रहे । यसैगरी ग्रेड वृद्धितर्फ ४ सय ६१ छात्र र ७ सय १८ छात्रा अनुपस्थित रहेको निर्देशनालयले जनाएको छ । पूर्वका १६ जिल्लामा गत वर्षभन्दा २५ हजार कम परीक्षार्थी सामेल भएका छन् । एसईई परीक्षामा नियमिततर्फ ९४ हजार ८ सय २२ र एक्जाम्टेडतर्फ ७ हजार ४१ परीक्षार्थी सामेल भनिए पनि उल्लेख्य परीक्षार्थी अनुपस्थित रहेका छन् । अघिल्लो वर्ष १ लाख ४१ हजार ६ सय ४७ परीक्षार्थी सामेल थिए । धनकुटामा जोरपाटी गाउँपालिका–२ का महेश पिठाकोटेले कारागारबाटै परीक्षा दिए ।

किरियापुत्री सामेल
तेह्रथुममा ३५ विद्यार्थी अनुपस्थित भए । नियमित १ हजार ७ सय ७६ जना, एक्जाम्टेडमा १ सय ८ जना, आंशिक ग्रेड वृद्धितर्फ ७ सय १७ जना गरी २ हजार ६ सय २९ परीक्षार्थी परीक्षामा सहभागी हुनपर्नेमा ३५ विद्यार्थी अनुपस्थित भएको शिक्षा कार्यालयले जनायो । त्यस्तै आमाको किरिया गर्न बसेका सुरेन्द्र खडकाले जनज्योति मावि सिम्ले परीक्षा केन्द्र र जिल्ला कारागारबाट जीवन विकले परीक्षा दिए ।

नक्कली पक्राउ
सिन्धुलीमा दाजुको नामबाट परीक्षा दिन खोज्नेलाई पक्राउ गरिएको छ । बखफर परीक्षा केन्द्रबाट मावि कर्मीडाँडाका छात्र प्रवीण घलानको नाममा भाइ सुरेश घलान नक्कली परीक्षार्थी भई सहभागी हुँदा उनलाई पक्राउ गरिएको हो । परीक्षार्थी दाजु प्रवीण केही महिनाअघि विदेश गएका थिए । कारागार शाखामा प्रभात मावि माथिल्लो रानीवासका बाली विज्ञानतर्फका दुई छात्रले परीक्षा दिएको जिशिअ केदार गिरीले जनाए । 

बाबुछोरा सँगै
ताप्लेजुङमा बाबुछोराले सँगै परीक्षा दिएका छन् । फुङलिङ नगरपालिका–६ का ५३ वर्षीय भीम बहादुर गुरुङ र १७ वर्षीय प्रदीप गुरुङले परीक्षा दिएका हुन् । उनीहरू मेवाराजा आधारभूत विद्यालय केन्द्रमा छन् । भीम भानुजन मावि र प्रदीप कञ्चन एकेडेमीमा अध्यनरत विद्यार्थी हुन् । पहिलो दिनको परीक्षामा १ सय ९७ जना विद्यार्थी अनुपस्थित भए ।

ब्रेल लिपिमा लेख्न पाएनन्
धरानस्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका सबै दृष्टीविहीन विद्यार्थीले ब्रेल लिपिमा लेख्न पाएनन् । कक्षा १० सम्म उनीहरूले ब्रेल लिपिमा लेख्ने, पढ्ने गरे पनि परीक्षा नियन्त्रण कार्यालयले दृष्टिविहीनका लागि भनेर अलग्गै व्यवस्था नगरेपछि सहयोगीको भरमा देवनागरी लिपिमा परीक्षा दिन बाध्य भएका छन् ।

Source: http://kantipur.ekantipur.com/news/2017-03-17/20170317080920.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More