News

मिठाईमा जथाभावी रङ

October 19, 2017

तिहारलाई लक्षित गरी बनाएका मिठाईमा जथाभावी रङ प्रयोग गरेको भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रमा गरेको अनुगमनमा यस्तो भेटिएको हो । खाद्य ऐनअनुसार एक किलोमा खाद्य रङ २ सय मिलिग्राम मात्रै मिसाउन पाइन्छ । तर, व्यवसायीले मापदण्ड विपरीत जथाभावी रङ प्रयोग गरेको भेटिएको विभागका खाद्य अनुसन्धान अधिकृत एवं सहप्रवक्ता मदन चापागाईले बताए ।

‘तिहारलाई लक्षित गरी असोज २४ देखि ३१ गतेसम्म २४ मिठाई पसल र उत्पादन स्थलमा अनुगमन भएको थियो,’ उनले भने, ‘तीमध्ये ४ वटा मिठाई पसलमा मापदण्ड विपरीत जथाभावी रङ प्रयोग गरेको भेटियो ।’ मिठाईमा रङ हाल्नैहुँदैन । रङ हालेर मिठाई पकाउँदा उच्च तापक्रममले स्वास्थ्यका लागि थप हानिकारक हुन सक्ने चापागाईले बताए । 

कानुनले निश्चित मात्रामा खाद्य रङको प्रयोग गर्न अनुमति दिए पनि रङको प्रयोग हानिकारक नै हुने विभागको दाबी छ । ‘रङीन वस्तु खाने नै होइन । रङमा पौष्टिक तत्त्व हुँदैन, फाइदा गर्दैन,’ विभागका महानिर्देशक सञ्जीव कर्णले भने, ‘खाद्य रङ हाले पनि मापदण्डभित्र पर्ने गरी हाल्नु पर्छ ।’ तर, अनुगमनका क्रममा मनपरी ढंगले रङ हाल्ने गरेको पाइएको हो । रङको प्रयोगले अल्सर, अपच, पेट गडबड हुन्छ । नियमित प्रयोगले क्यान्सर हुन सक्छ । अनुगमन टोलीले रङ मिसाएको मिठाईको नमुना संकलन गरी विभागमा ल्याएको छ । 

मिठाई आकर्षक बनाउन व्यवसायीले रङको प्रयोग गर्दै आएको विभागले जनाएको छ । महानिर्देशक कर्णका अनुसार यसअघि अखाद्य रङ प्रयोग हुन्थ्यो । अहिले केही सुधार भएको उनले बताए । ‘अनुगमनका क्रममा अखाद्य रङ फेला परेको छैन,’ उनले भने, ‘तर, खाद्य रङ जथाभावी प्रयोग गरेको देखियो ।’ अनुगमन टोलीले संकलन गरेको मिठाईको नमुना प्रयोग, प्रशोधनको विधि, अन्य खाद्य वस्तुको मिसावट परीक्षण गरिने उनले बताए । ‘शंका लागेको मिठाईको नमुना ल्याएर परीक्षण सुरु गरेका छौं,’ उनले भने । टोलीले विभिन्न प्रकारका ३५ वटा लडडु, पेडा, खुवा, बर्फी, बेसनलगायतको नमुनाहरू संकलन गरी प्रयोगशालामा विश्लेषण गर्न पठाएको छ । विभागको टोलीले कालिमाटीस्थित मंगलसिद्धि झिगु मरी पसलको कारोबार रोक्का गरेको छ । बिक्री वितरण तथा उत्पादन गर्ने स्थानको सरसफाइमा कमजोरी फेला परेपछि उक्त पसलको उत्पादन रोक्का गरेको हो । अनुगमनको क्रममा केही व्यवसायीलाई सचेत गराइएको विभागको दाबी छ । ‘मिठाई उत्पादन गर्न प्रयोग गर्ने कच्चा पदार्थ खुवा, बेसन, चिनी, घिउ, तेल, नट्स, ड्राई फ्रुटहरूको गुणस्तरमा विशेष ध्यान दिनुपर्छ । बनिसकेका मिठाईहरूलाई भण्डार गर्दा पत्रपत्रिका प्रयोग गर्न नहुने, सुरक्षित तापक्रममा भण्डार गर्नुपर्ने सचेत गराएका छौं,’ सहप्रवक्ता चापागाईले भने । तिहारलाई लक्षित गरी आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले पनि अनुगमनलाई तीव्र बनाएको दाबी गरेको छ । विभागले मिठाई, फलफूल, किराना, लत्ताकपडा पसलमा समेत अनुगमन गरेको जनाएको छ । 

मिठाईको अनुगमन प्राविधिक विज्ञहरूको टोलीले गर्नुपर्छ । तर, आपूर्ति विभागले शाखा अधिकृत, लेखा अधिकृतको टोली बजारमा खटाएको छ । लेखा, शाखा अधिकृतले गरेको अनुगमन प्रभावकारी हुन नसकेको उपभोक्ता अधिकारकर्मीहरू दाबी गर्छन् । ‘अनुगमनको विषयमा प्राविधिक ज्ञान नभए पनि संख्या बढाउन/भक्ताका लागि अनुगमन गर्ने प्रवृत्ति देखियो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘प्राविधिक/विज्ञबिना अनुगमन हँुदा नाम मात्राको भयो । अनुगमन विधि तत्काल परिवर्तन गर्न आवश्यक छ ।’

मिठाईको व्यापार बढयो

तिहारमा बर्फी, पेडा, लालमोहन, जेरी, दुधबरी, रसमलाई, लड्डु, रसबरी, गुलाब जामुन, क्रिम मिठाई, काजुको मिठाईको माग बढेको छ । दसैंमा सामान्य बिक्री भएको यी मिठाईहरू अहिले ६० देखि ८० प्रतिशतले बिक्री बढेको व्यवसायीहरू बताउँछन् । ‘अन्य दिनमा मुस्किलै १० हजार रुपैयाँको मिठाई बिक्री हुन्थ्यो,’ गगौर मिठाई पसलका सञ्चालक गोपाल जोगाईले भने, ‘तिहारलगत्तै व्यापारमा धेरै सुधार भएको छ । कारोबार ७० प्रतिशतले वृद्धि भएको छ ।’ तिहार मिठाई उपभोगसँगै उपहारका रूपमा पनि प्रयोग हुने प्रचलन रहेकाले बिक्री बढेको उनले बताए । मध्यमवर्गका ग्राहकहरू साना पसलहरूमा किन्ने गर्छन् । उच्च वर्गका ग्राहकहरू नाम चलेका ब्रान्डेडमा खरिद गर्दै आएका छन् । 

शिव मिष्ठान्न भण्डारका सञ्चालक जीवन साहको भनाइ पनि उस्तै छ । दसैंलगत्तै व्यापारमा केही सुधार आएको उनले बताए । ‘सामान्य दिनको तुलनामा व्यापार २५/३० प्रतिशतले बढेको छ,’ उनले भने । लक्ष्मीपूजा र भाइटीकाको दिनमा लड्डु, बर्फी, लालमोहन बिक्री ह्वात्तै बढ्ने उनले बताए । यीबाहेक काजु, किसमिसको प्रयोग पनि बढेको व्यवसायीको दाबी छ । पछिल्लो समय मुलुकमा आयातित मिठाईको खपत पनि बढ्न थालेको छ । हल्दीराम, गुलाब, सजनगोठ, बिकाजी, बिकानोलगायतका भारतीय उद्योगका मिठाई पनि नेपाली बजारमा उपलब्ध छन् ।

प्रकाशित: कार्तिक २, २०७४

Source: Kantipur news

http://kantipur.ekantipur.com/printedition/news/2017-10-19/20171019082715.html