News

मुगुमा कुपोषणको जोखिम

December 24, 2018

राजबहादुर शाही, कान्तिपुर, ९ पुस २०७५

मुगु — जिल्लामा कुपोषणको समस्या भएका बालबालिकाको संख्या बढ्दै गएको छ ।बालबालिकामा समस्या बढ्दै गएपछि जिल्लामा कुपोषणको जोखिम बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा ६ सय ३ बालबालिकामा कडा कुपोषण देखिएको छ ।

जिल्लाका कुल बालबालिकाको १३ प्रतिशतमा कुपोषण देखिएको कार्यालयले जनाएको छ । गत वर्ष एक हजार २६ जना बालबालिकामा कडा कुपोषण देखापरेको थियो ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष चार सय २३ जनामा कुपोषणको समस्या कम देखिएको हो । न्यूनीकरण गर्न सरकारी निकाय र विभिन्न दातृ निकायले सर्वोत्तम पिठो र पौष्टिक आहार कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी देखिएको छैन ।
बालबालिकामा कडा कुपोषण १३ प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौंले बताए । उनले उपचारको क्रममा ९७ प्रतिशत बालबालिका सञ्चो भएको जानकारी दिए । कुपोषणको जोखिम रहे पनि बाल मृत्युदर नभएको उनको भनाइ छ ।
कुपोषण घटाउन बाल स्वास्थ्य महाशाखा, युनिसेफ, विश्व खाद्य कार्यक्रम र बहुक्षेत्रीय पोषण कार्यक्रमले सहयोग गर्दै आए पनि कमी नआएको उनले जानकारी दिए ।
‘कुनै वर्ष बढ्ने र कुनै वर्ष घट्ने गरेकाले नियन्त्रणमा चुनौती देखिएको छ,’ उनले भने, ‘पोषणमा गरेको लगानीको प्रतिफल देखापर्न सकेन ।’
जिल्लामा पाँच वर्षमुनि र ६ महिनाभन्दा माथिका बालबालिकालाई कुपोषण घटाउन विश्व खाद्य कार्यक्रमले सन् २०१४ देखि पौष्टिक आहारा वितरण गर्दै आएको छ । अहिलेसम्म जिल्लामा करिब ४ सय ३० मेट्रिक टन पौष्टिक आहारा वितरण भइसकेको छ ।
न्यून तौल भएका बच्चालाई तीन किलोको पौष्टिक आहाराको प्याकेट वितरण गर्ने गरिएको छ । बाल स्वास्थ्य महाशाखाको पहलमा युनिसेफले सन् २०१० देखि सर्वोत्तम पिठो वितरण गर्दै आएको छ । उक्त सर्वोत्तम पिठोको प्रतिप्याकेट मूल्य ५० रुपैयाँ पर्दछ ।
नेपाल सरकारको पहलमा दातृ निकायले सर्वोत्तम पिठो र पौष्टिक आहारा जिल्ला स्वास्थ्य कार्यालयसम्म ढुवानी गर्ने र स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थासम्म लिएर वितरण गर्ने गरेका छन् । साबिक जिल्ला विकास समितिमा कुपोषण न्यूनीकरणका लागि बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत ९० लाख रुपैयाँ बर्सेनि खर्च हुने गरेको थियो ।
कुपोषण घटाउन सरकार र दातृ निकायले सहयोग जारी राखे पनि न्यूनीकरण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी बलिबहादुर बुढाले बताए । खानपान र बानी व्यवहारमा परिवर्तन नभएसम्म कुपोषणको दरमा कमी नआउने उनको भनाइ छ ।
उनका अनुसार जिल्लाका चार स्थानीय तहमध्ये सबैभन्दा बढी कुपोषण सोरु गाउँपालिकामा देखिएको छ । सोरु गाउँपालिकामा गरिबी दर बढी भएकाले कुपोषणको जोखिम पनि बढी छ । खानामा आहारा रोग, घरयासी खाद्य असुरक्षा, बच्चाको स्याहारसुसारमा कमी, स्वास्थ्य सेवाको पहुँचको अपर्याप्तलगायत कारणले बालबालिकामा कुपोषण हुने गरेको उनले जनाए ।

जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाले आमाले बढी बच्चा जन्माउने र स्याहारसुसार राम्ररी नगर्दा बालबालिकामा कुपोषणको समस्या बढेको बताए । स्वास्थ्य कार्यालयबाट लिएको सर्वोत्तम पिठो र पौष्टिक आहारा बच्चालाई राम्रोसित नखुवाउँदा समस्या देखिएको उनले जनाए । कुपोषण न्यूनीकरण नहुनुको मुख्य कारण पत्ता लगाएर यसको निराकरण गर्नुपर्ने उनको भनाइ छ ।

सोर्त:https://www.kantipurdaily.com/pradesh-6/2018/12/24/154562936498061460.html