News

मुगुमा कोरोना रोक्न तीन करोड ५० लाख

April 15, 2020

जीवन सेजुवाल, अन्नपूर्ण पोष्ट, बैशाख ०३, २०७७ 

मुगु : जिल्लाका चारवटै स्थानीय तहले विपत् व्यवस्थापन कोष स्थापना गरेर कोरोना संक्रमण रोक्न आवश्यक बजेट व्यवस्थापन गरेका छन्। चारवटै स्थानीय तह गरी तीन करोड ५० लाख रकम कोरोना रोकथामका लागि खर्च गर्न थालेका हुन्।

जिल्ला स्थानीय तहले कतैबाट सहयोग नभएपछि आफंै पालिकाको विपत् व्यवस्थापन कोषमा रकम जम्मा गरेर खर्च गर्ने योजना बनाएका छन्। सबै तहले आर्थिक वर्ष ०७६÷७७ का लागि विनियोजित बजेटबाट रकमान्तर गरी कोरोना रोकथाममा खर्च गर्ने निर्णय गरेका हुन्। स्थानीय तहको कार्यपालिकाको आकस्मिक बोर्ड बैठकबाट पारित गरी चारवटै स्थानीय तहले आआफ्ना वडा र पालिकामा विनियोजित बजेट कोरोना भाइरस रोकाथाममा खर्च गर्न बजेट रकमान्तरण गरेका छन्।

तत्काल संघीय तथा प्रदेश सरकारबाट आर्थिक तथा अन्य सहयोग नआएको जिल्लाका स्थानीय तहले जानकारी दिएका छन्। स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीर्ई सेट, औषधि, राहत सामग्री, क्वारेन्टाइनमा आवश्यक पर्ने सामग्री र सर्वसाधारणका लागि मास्क, साबुन र सेनिटाइजर खरिद गरी वितरण गरिने भएको हो।

खर्च व्यवस्थापनका लागि कोषमा एक करोड १० लाख रकम जम्मा गरिएकोे छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजङ्ग शाहीले बताए। यस्तै मुगुम कार्मारोङ्क गाउँपालिकाले २३ लाख, खत्याड गाउँपालिकाले १९ लाख र सोरु गाउँपालिकाले ७५ लाख बजेट व्यवस्थापन गरेका हुन्। सोही कोषबाट कोरोना रोकथाम, उपचार तथा राहत वितरण गर्ने तयारी छ।

स्रोत: http://annapurnapost.com/news/153296