मुलुकभर २० प्रतिशत रोपाइँँ

July 01, 2018

किरण आचार्य, कारोबार दैनिक, १७ असार २०७५

असार मध्यसम्म मुलुकभर २० प्रतिशत रोपाइँ भएको छ । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार धान खेती हुने क्षेत्रमध्ये ८० प्रतिशत रोपाइँ हुन बाँकी छ । 

असार १५ सम्म १० प्रतिशत मात्र रोपाइँ भएकोमा एकै दिनमा रोपाइँ दर सतप्रतिशतले बढेको हो । यो वर्षको रोपाइँदर विगत वर्षहरूकै सरह भएको तर पर्याप्त वर्षा नभएका कारण पहाडी क्षेत्रको रोपाइँले गति लिन सकेको छैन । “यो समय नेपालका पहाडी भेगमा रोपाइँको दर भने विगतको भन्दा कम छ,” मन्त्रालयका सूचना अधिकारी मणिरत्न अर्यालले भने, “यद्यपि यही गतिमा रोपाइँ हुने हो भने आउदो साताभित्र ३५ प्रतिशत पुग्नेछ ।” वर्षाले साथ दिएमा यो वर्ष ९५ प्रतिशतसम्म रोपाइँ हुने उनले बताए । 
 

पहाडमा रोपाइँको दर अपेक्षित वृद्धि हुन नसकेको र तराईमा भने रोपाइँको समय बाँकी रहेको मन्त्रालयले जनाएको छ । सामान्यतयाः साउनभर गरिएको रोपाइँबाट धान राम्रो फल्ने गरेको नेपालको अभ्यास छ । कुल धान उत्पादनको ७० प्रतिशत हिस्सा रहेको तराई क्षेत्रमा साउन महिनाभर पनि रोपाइँ गर्ने चलन छ । यद्यपि, साउन १५ पछिको रोपाइँको उत्पादकत्व भने कम हुने गर्छ । साउन पहिलो सातासम्म ८० प्रतिशतसम्म रोपाइँ पुग्ने अनुमान मन्त्रालयको छ । गत वर्ष १३ लाख ६३ हजार हेक्टरमा धान रोपाइँ भएकोमा ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ । 
 

सिँचाइको पर्याप्त सुविधा नभएकाले वर्षामै धान उत्पादन निर्भर हुनु परेको मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले बताए । “सिँचाइको तथ्यांकमा ४५ प्रतिशत क्षेत्रफल सिंचित भए पनि फिल्डमा २५ प्रतिशतको हाराहारीमा मात्र सिँचाइ पुगेको देखिन्छ, धानमा वर्षाको प्रभाव अधिक हुन्छ,” उनले भने, “दुई दिन छिटो वर्षा सुरु भए पनि यतिबेला (असार १५ वरपर) भारी वर्षा हुनुपर्नेमा भएको छैन, यद्यपि तराइबाट धेरै आशा छ ।” संघीयतामा गएपछि आउँदो साउनदेखि जिल्ला कार्यालय खारेज हुने हुँदा तथ्यांक संकलन, विश्लेषण र अनुगमनमा समस्या देखिएको उनले बताए ।

स्रोत: https://karobardaily.com/news/country/7262

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More