मुस्ताङको डिजिटल नक्सा तयार

April 24, 2017

Kantipur, Kantipur Report, 24th April 2017, Mustang

यहाँका एक सरकारी कर्मचारीले १ वर्ष लगाएर जिल्लाको हिल सेट डिजिटल म्याप तयार गरेका छन् । आफ्नै परिश्रम र खर्चमा नापी कार्यालयका प्रमुख खिमलाल गौतमले सबै विषय समेटिएको नक्सा तयार पारेका हुन् ।

उनले यो नक्सा तयार पार्न १० लाख रुपैयाँ खर्च लागेको दाबी गरेका छन् । ‘आफ्नो डयुटी सकेर बचेको समय लाउँदा तयार पार्न वर्ष दिन लाग्यो,’ उनले भने, ‘अहिलेसम्म नेपालमा यो प्रकारको नक्सा तयार भएकै छैन ।’ हिल सेट डिजिटल म्याप तयार हुनेमा मुस्ताङ पहिलो जिल्ला भएको उनले दाबी गरे । ‘मैले व्यक्तिगत खर्चमा नक्सा तयार गरेको हुँ, बिक्रीका लागि होइन,’ उनले भने, ‘यो तयार पार्न प्रविधि र पारिश्रमिकमा १० लाख खर्च भएको छ ।

नक्साको सेटिङ गुगल म्यापमा गर्न लागिएको गौतमले जानकारी दिए । ‘गुगलमा सेटिङ भएपछि विश्वभरका नेपालीले मुस्ताङको सबै विवरण एकै नक्साबाट पाउनेछन्,’ उनले भने, ‘जिल्लाभित्रका ससाना विषय पनि नक्सामा समेटिएका छन् ।’ हाल गुगलमा उपलब्धका तुलनामा आफूले तयार पारेको नक्सा निकै उपयोगी भएको उनले बताए । 

जिल्ला न्यायाधीश बलराम त्रिपाठी र प्रजिअ भीमराज पोखरेलले हालै सदरमुकाममा संयुक्त रूपमा नक्सा सार्वजनिक गरेका थिए । प्रजिअ पोखरेलले गौतमको मेहनतलाई कदर गर्न सबै सरकारी कार्यालयले लागेको खर्चको दरमा नक्सा खरिद गर्न आग्रह गरे । ‘ठूलो मिहिनेतले यो नक्सा तयार भएको हामीले पायौं,’ स्थानीय विकास अधिकारी बन्धु बाँस्तोलाले भने, ‘उहाँको मेहनत मुस्ताङको सन्दर्भमा अतुलनीय छ ।’ उक्त नक्सा सबै सरकारी कार्यालयले १० हजार रुपैयाँका दरले खरिद गर्ने घोषणा गरेका छन् ।

इन्जिनियर गौतमले हाल नयाँ संरचनाअनुसार बनेका ५ गाउँपालिकाको नक्सांकन पनि उतारेका छन् । ‘नक्सा बनाउँदै जाँदा सरकारले नयाँ संरचनाको घोषणा गर्‍यो, नक्सा सकिने अन्तिम समयमा सबै गाउँपालिकाको विवरण समेट्न सफल भएँ,’ उनले भने, ‘नक्सा बनाउँदा साबिकका १६ गाविसका आधारमा बनाएको थिएँ, पछि नयाँ संरचनाको सबै विषय समेटेको छु ।’
नक्सामा सुरक्षा अड्डा, सरकारी भवन, व्यक्तिगत घर, खोलानाला, कुलो, सडक, जंगल, पहाड र हिमाललगायत सबै विवरण उल्लेख छन् । हालसम्म मुस्ताङमा कति हिमाल छन् भन्ने सार्वजनिक भएको थिएन । यो नक्सामा २ दर्जन साना हिमाल र ६ हजार मिटरमाथिका १५ हिमाल स्पष्ट देख्न सकिने गौतमले जानकारी दिए । ‘कोरला नाका भनेर गुगलमा अझै सेटिङ भएको रहेनछ, मैले समेटेको छु,’ उनले भने, ‘नयाँ बन्न लागेको लोमान्थाङको सैनिक ब्यारेक नक्सामा स्पष्ट देख्न सकिन्छ ।’ मुस्ताङका चर्चित डाँडाहरू र सबै गाउँपालिकाको जनसंख्या विवरण नक्सामा उतारिएको उनले बताए । 



Source: http://kantipur.ekantipur.com/news/2017-04-24/20170424082402.html



 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More