मुस्ताङमा विकास खर्च ४० प्रतिशत

February 24, 2020

सुन्दरकुमार थकाली, अन्नपूर्ण पोष्ट, फाल्गुन ११, २०७६ 

जोमसोम : चालु वर्ष ०७६/७७ का लागि हिमाली जिल्ला मुस्ताङलाई संघीय विकास खर्च ६ महिनामा सन्तोषजनक रहेको मुस्ताङस्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार माघ मसान्तसम्म कुल बजेटको ३० दशमलव ४८ प्रतिशत खर्च भएको हो।

चालु वर्षको संघीय पुँजीगत विकास बजेट २ अर्ब ६ करोड २ लाख ३८ हजार रहेकोमा माघ मसान्तसम्म ६१ करोड १४ लाख ५७ हजार २ सय २१ खर्च भएको छ। खर्च रकममध्ये अधिकांश बेनी–जोमसोम–कोरला सडक आयोजना, सुरक्षा निकाय तथा प्रशासन भवन र शितोष्ण बागवानी विकास केन्द्र मार्फामा लगानी भएको कार्यालयले जानकारी दिएको छ। गत वर्षको संघीय पुँजीगत विकास बजेट १ अर्ब ६० करोड ४२ लाख २७ हजार रुपैयाँ रहेकोमा १ अर्ब ४२ करोड ८७ लाख ५५ हजार ५ सय ७१ खर्च भएको हो। गत वर्ष कुल पुँजीगत बजेटको ८९ प्रतिशत खर्च भएको थियो भने ११ प्रतिशत फ्रिज भएको थियो।

संघीय चालु बजेट १ अर्ब ७३ करोड २४ लाख १५ हजार २ सय १० रुपैयाँमध्ये ६८ करोड ७ लाख ३ हजार ३ सय ४४ रुपैयाँ अर्थात् ३९ दशमलव ६७ प्रतिशत खर्च भएको छ। चालु वर्ष प्रदेशतर्फको पुँजीगत बजेट १९ करोड ७३ लाख २१ हजार रुपैयाँमध्ये ६ महिनामा जम्मा २७ लाख ३७ हजार ९८ मात्र खर्च भएको छ। प्रदेशतर्फ कुल बजेटको १३ दशमलव ८८ प्रतिशत खर्च भएको छ। घरेलुतर्फ प्रविधि हस्तान्तरण, सिँचाइ कुलो निर्माण र तटबन्धलगायतमा खर्च भएको हो।

गत वर्ष २१ करोड ९५ लाख ९७ हजार बजेटमध्ये १३ करोड ६८ लाख १५ हजार ६ सय १५ रुपैयाँ खर्च भएको थियो। यो कुल बजेटको १३ दशमलव ८८ प्र्रतिशत हो। गत बर्ष कुल विकास खर्चको ६२ दशमलव ३० प्रतिशत खर्च भएको थियो।

चालू वर्ष प्रदेशको चालू बजेट २७ करोड ७० लाख ९१ हजारमध्ये ६ महिनामा ८ करोड २२ लाख १७ हजार ७ सय ७१ रुपैयाँ खर्च भएको कार्यालयले बताएको छ। यो कुल बजेटको २९ दशमलव ६७ प्रतिशत खर्च भएको हो। मुस्ताङमा संघीय सरकारअन्तर्गत २३ कार्यालय र ५ स्थानीय तहका लागि बजेट विनियोजन भएको हो भने प्रदेशले आफ्ना ७ कार्यालय र ५ स्थानीय तहलाई बजेट विनियोजन गरेको हो।

चालु वर्ष मुस्ताङका ५ वटै स्थानीय तहलाई संघ तथा प्रदेशको अनुदानको दोस्रो चौमासिक रकम ३ स्थानीय तहले बुझेका छन्। उपल्लो मुस्ताङका २ स्थानीय तहले पहिलो चौमासिक अनुदान लिएको कोलेनिकाले जनाएको छ। संघतर्फ घरपझोङलाई २ करोड ७५ लाख ६२ हजार, थासाङ २ करोड ४६ लाख १४ हजार, लोघेकर दामोदरकुण्ड १ करोड ५६ लाख ७४ हजार, लोमान्थाङ १ करोड ६३ लाख ९६ हजार र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई २ करोड २० लाख ८२ हजार बजेट विनियोजन भएको हो।

प्रदेशतर्फ घरपझोङ, थासाङ, लोघेकर, लोमान्थाङ गाउँपालिकालाई समान ५० हजार विनियोजन भएको छ भने बारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई ६३ लाख ३० हजार विनियोजन भएको छ। चालु वर्ष संघ तथा प्रदेशका चालू तथा पुँजीगत विकास खर्च चौमासिक प्रतिवेदन ३ स्थानीय तहले बुझाएका छन्। कोष तथा लेखा नियन्त्रकको कार्यालय प्रमुख मीनबहादुर बानियाँले उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्डले चौमासिक प्रतिवेदन बुझाएका छैनन्। मुस्ताङमा चालु वर्षको मंसिरदेखि फागुनसम्म पूर्वाधार विकासका काम ठप्प छन्। अत्यधिक हिमपात र चिसोले काम हुन नसकेको हो।

स्रोत: http://annapurnapost.com/news/148704

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More