मुस्ताङमा साठी हजार पर्यटक

January 03, 2019

सन्तोष गौतम, अन्नपूर्ण पोष्ट, १९ पुष २०७५ 

बेनी : सन् २०१८ मा करिब ६० हजार विदेशी पर्यटकले हिमाली जिल्ला मुस्ताङको भ्रमण गरेका छन्। सन् २०१७ को तुलनामा २०१८ मा विदेशी पर्यटक आगमन १२ प्रतिशतले वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोम स्थित इलाका संरक्षण कार्यालयले जनाएको छ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर रहेको मुस्ताङ भ्रमणमा आउनेमा सबैभन्दा बढी भारतीय पर्यटक छन्। भारतीयपछि जर्मन र फ्रान्सका पर्यटक छन्। २०१८ मा ५९ हजार आठ सय ३८ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले जानकारी दिए। जसमध्ये सबैभन्दा धेरै भारतीय पर्यटकको संख्या ३३ हजार एक सय ५९ छ। जर्मनीका तीन हजार दुई सय १० र फ्रान्सका तीन हजार ८९ छन्। सन् २०१७ मा ५२ हजार चार सय ७५ विदेशी भ्रमणका आएकामध्ये २४ हजार आठ सय आठ भारतीय, तीन हजार एक सय २३ फ्रान्सेली र दुई हजार ६ सय ३९ जर्मनी थिए।

२०१६ मा ३९ हजार १७ जनाले मुस्ताङ भ्रमण गरे। प्रचारप्रसार, सडक र सहज यातायातको सुविधा, राजनीतिक स्थिरता, अनुकूल मौसम लगायतले पर्यटक आगमन बढेको दाहालले बताए। एक्यापले मुस्ताङ भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीबाट तथ्यांक संकलन गर्दै आएको छ। गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको मुक्तिनाथ भ्रमणले पनि मुक्तिनाथ र मुस्ताङको पर्यटन विकासमा सहयोग पुर्‍याएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताए। माटोको सहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृति, मुक्तिनाथ, ठिनी, धुम्बा ताल, कागबेनी, दामोदर कुण्ड र फरक भू–बनोटलगायत मुस्ताङमा थुप्रै पर्यटकीय आकर्षण छन्।

सञ्चार माध्यम, चलचित्र र म्यूजिक भिडियोमार्फत् मुस्ताङको प्राकृतिक सौन्दर्यको प्रचार प्रसार भएकाले पर्यटकलाई आकर्षित बनाएको छ। मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तर्गतको प्रमुख पर्यटकीय गन्तव्य हो। मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, मुस्ताङी दरबार, तिब्बती कला संस्कृतिको अध्ययन र मुक्तिनाथ दर्शनका लागि विभिन्न मुलुकबाट पर्यटक आउने गरेका छन्। पर्यटकको आवागमन बढेसँगै मुस्ताङका होटल तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन्। पर्यटकको सुविधाका लागि मुस्ताङको लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, छुसाङ, चराङ, लोमान्थाङमा गरी करिब तीन सय होटल तथा लज सञ्चालनमा छन्।

जोमसोम नजिकैको ठिनी गाउँमा थकाली घरबास (होमस्टे) सञ्चालन भएको छ। बिदा, चाडपर्व र विशेष अवसर पारेर मुस्ताङ भ्रमणमा जाने स्वदेशी पर्यटकको चाप पनि बढेको छ। बेनी–जोमसोम सडकमा स्थानीय यातायात व्यवसायीको एकाधिकार तोडिएपछि अहिले सडक र यातायात सुविधा सहज भएको छ। असोज–कात्तिक र फागुन–चैत–वैशाख महिना मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम हो।

सोर्त: http://annapurnapost.com/news/116750

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More