मूल्य वृद्धिदर ५%

June 26, 2017

कान्तिपुर दैनिक, १२ असार २०७४ 

मुलुकको बजार भाउ नियाल्ने नेपाल राष्ट्र बैंकको आन्तरिक अध्ययनले चालु आर्थिक वर्षमा मूल्य वृद्धिदर ५ प्रतिशतभित्रै रहने देखिएको छ ।

विगत १० महिनामा मूल्य वृद्धिदरको स्थितिका आधारमा बाँकी दुई महिनाको समेत प्रक्षेपण गरेर केन्द्रीय बैंकले यो अवस्था देखाएको हो । चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाख) सम्मको औसत वार्षिक विन्दुगत मूल्य वृद्धिदर ४.८ प्रतिशत छ ।

यो चालु आर्थिक वर्षको वार्षिक लक्ष्यभन्दा २.७ प्रतिशत विन्दुले कम हो । चालु आर्थिक वर्षमा मूल्य वृद्धिदर ७.५ प्रतिशतभित्रै राख्ने लक्ष्य लिइएको थियो । १० महिनासम्मको तथ्यांक हेर्दा उक्त लक्ष्य सजिलै पूरा हुने देखिन्छ । यसअघि राष्ट्र बैंकले तय गरेका मूल्य वृद्धिदरका धेरै लक्ष्यहरू पूरा भएका छैनन् । यसकारण विरलै मात्र प्राप्त हुने मूल्य वृद्धिको वार्षिक लक्ष्य यो वर्ष पूरा हुने भएको हो । 

गत असोजसम्म केही उच्च रहेको मासिक मूल्य वृद्धिदर त्यसपछि घट्न थालेको थियो । गत फागुनमा यस्तो वृद्धिदर २.९ प्रतिशतमा झर्यो । त्यसपछिका महिनामा यस्तो दर थोरै बढे पनि अपेक्षाभन्दा कम नै छ । यसकारण बाँकी दुई महिनामा ७/७ प्रतिशतले मूल्य वृद्धि भएको अवस्थामा पनि वार्षिक मूल्य वृद्धिदर औसतमा ५.२ प्रतिशत रहनेछ । ‘जेठ र असारमा मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कमै हुने देखिन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । यसकारण चालु आर्थिक वर्ष वार्षिक मूल्य वृद्धिदर औसतमा ५ प्रतिशतभित्रै रहने आकलन गरिएको हो ।

‘चालु आर्थिक वर्षको वार्षिक औसत मूल्य वृद्धिदर ५ प्रतिशतकै हाराहारीमा रहने देखिन्छ,’ राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले भने । गत वर्षको आधार मूल्यको प्रभाव र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण समीक्षा अवधिमा उपभोक्ता मूल्य वृद्धिदरमा कमी आएको उनले बताए । ‘गत वर्ष मुलुकमा असहज परिस्थितिका कारण वार्षिक मूल्य वृद्धिदर झन्डै १० प्रतिशत थियो,’ थापाले भने, ‘यस वर्ष मुलुकको अवस्था सामान्य हुनुका साथै छिमेकी राष्ट्रहरूमा मूल्य वृद्धिदर न्यून रहेकाले फाइदा पुगेको हो ।’ गत वर्ष नाकाबन्दीका कारण बजार भाउ निकै अकासिएको थियो ।

यस वर्ष मूल्य वृद्धिदर न्यून रहे पनि आगामी वर्ष केही चाप हुने थापाको आकलन छ । ‘यो वर्ष लक्ष्य भेटे पनि आगामी वर्ष मूल्य वृद्धिदरमा पनि दबाब पर्ने देखिन्छ,’ उनले भने, ‘यो वर्षको कम आधार मूल्य, बजारमा बढ्दो मागलगायत कारण मूल्य वृद्धिमा दबाब पर्न सक्छ,’ उनले भने । यो वर्ष स्थानीय निकायमा ठूलो रकम विनियोजन भएको छ । त्यसले अनुत्पादक क्षेत्रमा खर्च बढ्ने भएकाले मूल्य वृद्धिदरमा चाप पर्ने उनको आकलन छ । 

वैशाखमा वार्षिक विन्दुगत मूल्य वृद्धिदर ३.४ प्रतिशत छ । त्यसयताको तथ्यांक केन्द्रीय बैंकले सार्वजनिक गरेको छैन । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब साढे ६ प्रतिशत विन्दुले कम हो । तर, गत चैतको तुलनामा यो ०.४ प्रतिशत विन्दुले कम हो । यो वर्ष बजारमा उपभोक्ताले सस्तोमा वस्तु तथा सेवा त पाएनन् तर वृद्धिदरको अंकमा भने निकै सुधार देखियो ।

यसकारण यो वर्ष मूल्य वृद्धिको क्षेत्रमा खासै चाप परेन । यसको अर्थ बजार भाउ बढ्दै हो तर कम दरले मात्रै । गैरखाद्य वस्तु तथा सेवाको मूल्य बढे पनि अन्तर्राष्ट्रिय जगतमा खाद्य वस्तुको मूल्य न्यून भएकै कारण मुलुकलाई ठूलो राहत मिलेको हो । गत वर्षको आधार मूल्यको प्रभाव र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण समीक्षा अवधिमा उपभोक्ता मूल्य वृद्धिमा कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा गत वैशाखसम्म काठमाडौं उपत्यकाको मूल्य वृद्धिदर सबैभन्दा कम छ । उक्त अवधिमा काठमाडौं उपत्यकाको मूल्य वृद्धिदर १.९ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा काठमाडांै उपत्यकामा यस्तो वृद्धिदर साढे ११ प्रतिशत थियो । काठमाडौं उपत्यकापछि कम मूल्य वृद्धि हिमालमा छ । गत वैशाखमा हिमाली क्षेत्रको मूल्य वृद्धिदर २.८ प्रतिशत, तराईमा ३.६ प्रतिशत र पहाडमा ४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको वैशाखमा पहाडमा ११ प्रतिशत, तराईमा ८.६ प्रतिशत, हिमालमा ९.१ प्रतिशत र काठमाडौं उपत्यकामा ११.५ प्रतिशत थियो ।


स्रोत: http://kantipur.ekantipur.com/news/2017-06-26/20170626091947.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More