मृत्यु भएका ७ मध्ये खोप नलगाएका ६ जना

July 27, 2022

अतुल मिश्र, कान्तिपुर, श्रावण ११, २०७९

खोप नलिएका र जटिल दीर्घरोग भएकाहरु संक्रमणको बढी जोखिममा

काठमाडौँ — खोप नलिएका र जटिल दीर्घरोग भएकाहरूमा कोभिड संक्रमण घातक हुनुका साथै र मृत्युको जोखिम पनि बढी देखिएको छ । मंगलबार एकै दिन खोप नलिएका दुई जनाको संक्रमणका कारण मृत्यु भएको छ, योसँगै साउनयता कोरोनाबाट ७ जनाले ज्यान गुमाएका छन् । 

यी ७ जनामध्ये ६ जनाले खोप लगाएका थिएनन् भने अर्का एकले एक डोज मात्र लिएका थिए । उनी क्यान्सर, दम, उच्च रक्तचापजस्ता दीर्घरोगबाट भने ग्रस्त थिए । मंगलबार मृत्यु हुने ७२ वर्षीया महिलामा दीर्घरोगको समस्या थियो भने ५० वर्षीय पुरुषमा भने त्यस्तो समस्या थिएन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो समय संक्रमणको गतिमा तीव्रता आएको बताए । ‘प्रारम्भिक विश्लेषणअनुसार खोप नलगाएकाहरूमा कोभिड कडा रूपमा प्रस्तुत भइरहेको छ भने मृत्युको जोखिम पनि उच्च देखिएको छ,’ उनले भने ।

चिकित्सकहरूका अनुसार सामान्य स्वास्थ्य स्थिति भएका र आवश्यक मात्रामा खोप लिइसकेकाहरूमा भने लक्षण सामान्य देखिन्छ । मध्यम वा कडा लक्षण देखिए पनि त्यस्ता व्यक्ति केही दिनमै निको हुने गरेका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले हाल आईसीयूमा भर्ना रहेका धेरैजसो दीर्घरोगी रहेको बताए । ‘पूर्ण खोप र बुस्टर डोजसमेत लगाएका तथा सन्तुलित जीवनशैलीसँगै चिकित्सकीय सल्लाहमा औषधि लिइरहेका मधुमेह र उच्च रक्तचापका रोगीहरूलाई संक्रमण भए पनि बढी जटिलता देखिएको छैन,’ उनले भने ।

वीर अस्पताल कोभिड युनिफाइड सेन्ट्रल हस्पिटलका उपनिर्देशक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा.प्रज्वल श्रेष्ठले पूर्ण खोप लिएका, सामान्य स्वास्थ्य भएका वा दीर्घकालीन रोग भए पनि नियमित औषधि सेवन गरिरहेकामा संक्रमण घातक नदेखिएको बताए । ‘मंगलबार आईसीयूमा भर्ना रहेका ४८ देखि ७६ वर्षसम्मका १२ जना संक्रमित कुनै न कुनै दीर्घरोगी हुन्,’ उनले भने, ‘उनीहरूमध्ये धेरैजसोले पूर्ण मात्रा खोप लिएका छन्, त्यसैले भेन्टिलेटरमा राख्नुपर्ने अवस्था छैन ।’ मंगलबार ५ हजार ५५ जनाको परीक्षण गरिएकामा ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित ३ हजार ७ सय १४ जना छन् । हाल देशभरमा ३१ जना सघन उपचारमा छन् । यसमध्ये उपत्यकामा २५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा छन् भने प्रदेश १ मा ४ जना र सुदूरपश्चिममा १ जना आईसीयूमा छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म कुल जनसंख्याको ७०.४ प्रतिशतले पूर्ण र ७०.२ प्रतिशतले एक डोज खोप लगाएका छन् । यस्तै २४.७० प्रतिशत अर्थात् ७२ लाख १२ हजार ६ सय २२ जनाले बुस्टर डोज लिएका छन् ।

स्रोत: https://ekantipur.com/news/2022/07/27/165888510918494493.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More