News

मेट्रो रेल अध्ययनको ९ वर्षपछि डीपीआर सुरसार

February 04, 2020

विमल खतिवडा, कान्तिपुर, माघ २१, २०७६ 

काठमाडौँ — सरकारले काठमाडौं मेट्रो रेलको प्रारिम्भक अध्ययन गरेको ९ वर्ष बित्यो । तर, अहिलेसम्म काम अघि बढेको छैन । उपत्यकामा सवारीसाधनको चाप बढ्दै गएपछि विकल्पमा मेट्रो रेलको अध्ययन गरिएको थियो । सन् २०११ मा कोरियन कम्पनीले उपत्यकाका विभिन्न ५ मुख्य खण्डमा मेट्रो रेलमार्गको अध्ययन गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । अहिलेसम्म प्रतिवेदन मन्त्रालयमै थन्किएको छ । यसबारे छलफल पनि भएको छैन । 

‘सुरुमा आवश्यक भएर अध्ययन गरियो, पछि काम अघि बढ्न सकेन,’ रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘अहिले विभागले डीपीआरको काम गर्दै छ, बिस्तारै सबै खण्डको काम हुन्छ ।’ काठमाडौंमा मोनोरेलभन्दा मेट्रो नै उपयुक्त भएको उनको भनाइ छ । ‘त्यहीअनुसार ५ खण्डमध्ये एउटा खण्डको डीपीआर तयार पार्दै छौं,’ उनले भने । सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकको १२ दशमलव १० किमि क्षेत्रको डीपीआरको काम फागुन दोस्रो साताभित्र काम सुँरु हुँदै छ । ‘विस्तृत इन्जिनियरिङ डिजाइनको काम सकिएपछि सीधै निर्माणमा जानेछौं,’ उनले भने, ‘तर अन्य खण्डको अध्ययनका लागि आदेश आएको छैन ।’

कीर्तिपुर–कालीमाटी–नयाँ बानेश्वर–एयरपोर्टसम्मको दूरी ११ दशमलव १५ किमि छ । कोटेश्वर–चाबहिल–स्वयम्भू–कोटेश्वर २८ दशमलव ५३ किमि, स्वयम्भू–डिल्लीबजार–बौद्ध ११ दशमलव ७० र धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबुसम्म १३ दशमलव ८ किमि दूरी छ । सबै गरेर रेलमार्गको दूरी ७७ दशमलव २८ किमि रहनेछ ।

स्वयम्भू–डिल्लीबजार–बौद्ध र धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबु खण्डमा भने सुरुङ निर्माण गरिनेछ । अन्य खण्डमा जमिनबाट ५ सय मिटर अग्लो पुलबाट रेल चल्ने बनाइनेछ । ‘हाम्रोजस्तो देशमा मोनोरेल उपयुक्त हुन्छजस्तो लाग्दैन, पूरै रिङरोडमा फ्लाइओभर बनाउनुपर्छ, यो सम्भव छैन,’ मिश्रले भने, ‘अध्ययनले पनि मेट्रो रेल उपयुक्त देखाएको छ ।’ मेट्रो रेलमा एक पटकमा ५ सय यात्रुसम्म बोक्न मिल्ने उनले बताए । देश विद्युत्मा आत्मनिर्भर हुँदै गएका बेला मेट्रो रेलको विकल्प नभएको उनको भनाइ छ । ‘बिजुली सबैभन्दा बढी खपत गर्ने भनेकै रेलवेले हो,’ उनले भने, ‘त्यसमा पनि मेट्रो रेल सबै विद्युत्बाट चल्ने हो ।’ सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकको डीपीआरको काम चिनियाँ कम्पनी सीयूएनले गर्ने विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले जानकारी दिए ।

‘प्रारम्भिक अध्ययनको काम कोरियन कम्पनीमार्फत भएको थियो,’ मिश्रले भने । एकसाथ सबै खण्डको डीपीआर नहुँदा निर्माणमा ढिलाइ हुनेछ । एकसाथ डीपीआरको काम हुन सके ठेक्का पनि सँगै हुने थियो । ‘हाम्रै खर्चमा गरिएको अध्ययन हो, डीपीआरको काम पनि विभागले नै गर्दै छ,’ उनले भने । यता विज्ञहरूले भने भविष्यमा आउन सक्ने कठिनाइलाई हेरेर गहन अध्ययन गर्न सुझाएका छन् । मेट्रोरेल ठूलो लगानीको प्रोजेक्ट हो । ‘फ्लाई ओभरभन्दा अन्डरग्राउन्ड बनाउन महँगो पर्छ,’ उनले भने, ‘त्यही भएर मेट्रो रेलमा पनि ५ खण्डमध्ये दुई खण्ड मात्र अन्डरग्राउन्ड हुनेछ ।’

काठमाडौं–रक्सौल रेलमार्ग १ सय ४० किमिमध्ये ४२ किमि सुरुङ हुनेछ । काठमाडौं–केरुङको ७२ किमिमध्ये ६८ किमि सुरुङ हुनेछ । ‘बढी सुरुङ निर्माण गर्नुपर्ने भए पनि समग्रमा दुवैको लागत ३ खर्ब रुपैयाँ आएको छ,’ महानिर्देशक मिश्रले भने, ‘त्यसैले सुरुङको अन्तर्राष्ट्रिय लागत उस्तैउस्तै देखियो, मेट्रो रेल निर्माणमा समस्या छैन ।’

स्रोत: https://ekantipur.com/business/2020/02/04/158078844502136624.html