Karobar Daily, Anupama Khanal, 19th May 2017, Gorkha
गोरखा पालुङटार नगरपालिकाको मेयरमा इन्जिनियर दीपकबाबु कँडेल विजयी भएका छन् । नयाँशक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईको गृहनगरसमेत रहेको पालुङटारको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार दीपकबाबु कँडेल विजयी भएका हुन् ।
निर्वाचन अधिकृत सुरेन्द्रराज काफ्लेका अनुसार कँडेलले ४ हजार ६९८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्धी माओवादी केन्द्रका गुणराज देवकोटाले ४ हजार ४९१ मत ल्याए ।
नयाँ शक्तिका मेयरका उम्मेदवार अशोक देवकोटाले ३ हजार ९८० मत ल्याए भने नेकपा एमालेका उम्मेदवार जुद्धविलाश भण्डारीले २ हजार ४१० मत पाए । नगरपालिकाको उपमेयरमा भने नेकपा माओवादी केन्द्रकी पम्फा बसेल विजयी भएकी छन् । उनले ४ हजार ४९४ मत ल्याइन् ।
उनलाई पच्छाएकी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ४ हजार १९५ मत प्राप्त गरेकी थिइन् । १० वडा रहेको पालुङटारमा वडा नं १, ४ र ५ नयाँ शक्तिले, वडा २, ६, ८ र १० माओवादी केन्द्रले , वडा ७ एमालेले र वडा ३ र ९ कांग्रेसले जितेको छ ।
लखन गाउँपालिकामा माओवादी केन्द्र
गोरखाको सहिद लखन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रमेश थापा र उपाध्यक्षमा इन्दिरा तिवारी विजयी भएकी हुन् ।
थापाले ३ हजार ८ सय ८ मतसहित निकटतम विजयी तिवारीले ३ हजार ७ सय ९८ मतसहित निकटतम प्रतिद्वन्द्धी काँग्रेस उम्मेदवार सर्मिला श्रेष्ठलाई २२३ मतले पराजित गरिन् । वडा नं १, २ र ३ मा एमाले विजयी भयो भने ४ र ५ मा माओवादी तथा ६, ७, ८ र ९ मा कांग्रेसका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए ।
आरुघाट गाउँपालिकामा कांग्रेस
गोरखाको आरुघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका पूर्णबहादुर दाहाल ३ हजार ४७६ मतसहित गाउँपालिका अध्यक्ष विजयी भएको निर्वाचन अधिकृत यादव सुवेदीले जानकारी दिए । दाहालका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका बकबहादुर लामाले ३ हजार ६४ मत ल्याए ।
उपाध्यक्षमा विजयी कल्पना नेपालीले ३ हजार ६ सय ९ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्दी एमालेकी मिनु बरामलाई ५३३ मतले नेपालीले पछि पारेकी हुन् । आरुघाट गाउँपालीकाको वडा नं ३, ४, ५,६ र १० मा नेकपा एमालेको प्यानल विजयी भयो ।